Menu

कायतले लगाईन गम्भीर आरोप : ‘जबरजस्ती पार्टी प्रवेश गराईयो !’

बुर्तिवाङ २०७५ असार २८ । नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी ढोरपाटन नगरपालिका ७ वडा समिति सदस्यमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हिमा कायतले आफुलाई जबरजस्ती पार्टी प्रवेश गराएको गम्भीर आरोप लगाउदै पुन राष्ट्रिय जनमोर्चामा फर्किएको बताएकी छन् ।

गत असार २३ गते नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गराएको भन्दै ढोनपा ७ की वडा सदस्य कायतलाई नगर प्रमुख देवकुमार नेपाली र नेकपाका नेता तुल्सीराम अर्यालले अविर खादा ओढाएको फोटो सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमहरुमा बाहिर आएका थिए । निज कायतले पुनः असार २५ गतेको मितिमा एक विज्ञप्ति जारी गर्दै, आफूलाई नेकपाका केही व्यक्तिले पार्टी प्रवेश गर्न बाध्यपारेको उल्लेख गर्दै, झुक्याएर देश र जनता विरुद्धमा उभ्याउने प्रयत्न गरेको भन्दै आफू क्रियाशील रहेको पार्टी राष्ट्रिय जनमोर्चामै फर्किएको जनाएकी छन् ।

यस अवस्थामा पार्टीका समर्थक सुभेच्छुक तथा आम जनता भ्रममा नपर्न समेत जानाकारी गराउदै विज्ञप्ति जारि गरेकी छन् । उता राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिले पनि उक्त विषयमा एक विज्ञप्ति जारी गर्दै, आफ्ना कार्यकर्तालाई अपहरण शैलीमा जवरजस्ती पार्टी परित्याग गराएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको उक्त कार्य प्रति विरोध जनाएको छ ।

गत जेठ २६ गते जारी विज्ञप्तिमा ढोरपाटन नगरपालिका वडा नं. ७ का आफ्ना पार्टी समर्थक कार्यकर्ता एवं वडा नं. ७ का वडा सदस्य हिमा कायतलाई नेपाल कम्युनिष्ट पार्टि नेकपाका कार्यकर्ताले अपहरण शैलीमा ३ दिनसम्म गुपचुप पारेर कायतका परिवारलाई समेत जानाकारी नहुने गरि पार्टी प्रवेश गराएको नाटक गरेको उल्ल्लख छ ।

विज्ञप्तिमा नेकपाका जिल्ला तथा क्षेत्र तथा केन्द्रका नेताले जबरजस्ती खादा र अबिर लगाएर पार्टी प्रवेश गराइएको र राज्यको बागडोर सम्हालेका जिम्मेवार राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको यस खालको गैर राजनीतिक कार्यले जनताको मौलिक हक र स्वतन्त्रताको खिल्ली उडाएको उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *