तामझामपूर्ण कार्यक्रमबीच ‘बागलुङ, पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा !

बागलुङ, २०७५ असार २५ । आज बागलुङ नगरपालिका सँगै बागलुङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेकी हुन् ।

घोषणा पछी मन्त्री पुन मगरले हरेक नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार संविधानले नै प्रत्याभूत गरेको हुनाले दुर्गम गाउँ सम्म स्वास्थ्यको सहज पहुँच पु¥याउन जरुर रहेको बताईन । उनले गण्डकी प्रदेश देशकै नमुना प्रदेश बनाउनका लागी प्रदेश सरकारले सोही अनूरुपको कार्यक्रम ल्याएको हुँदा स्वास्थ्य क्षेत्रको विकास र समृद्धिका लागी आफु लागी पर्ने बताईन ।

कार्यक्रममा गण्डकी प्रदेश संसदीय दलका सभापति कृष्ण थापा, नेपाली काँग्रेसका प्रमुख सचेतक एवं सांसद मणिभद्र शर्मा कंडेल, प्रदेश सांसद ईन्द्रलाल सापकोटा,सावित्री राना, नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, धौलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डाक्टर सागर कुमार राजभण्डारी, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोद गिरी, बालस्वास्थ्य महाशाखाका खोप समन्वय समितिका सदस्य सचिव डाक्टर झलक शर्मा गौतम, नेकपाका नेता कृष्ण पाठक, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, राजमोका सचिव धर्म कुँवर राप्रपाका विष्णु सापकोटा र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले बोलेका थिए ।

गत कात्तिकमा ढोरपाटन नगरपालिका पहिलो खोपयुक्त नगर घोषणा सँगै जिल्लाका अन्य स्थानिय तहलाई यस अघिनै घोषणा गरिएको थियो । जिल्लामा पुर्ण खोप पाएका ३९ सय ६ बालबालिकालाई पुर्ण खोप दिलाई सके पछि जिल्लालाई सुनिश्चित गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले ईबागलुङ जानकारी दिए । खोप पाउने बालबालिका मध्ये सवै भन्दा बढि बागलुङ नगरपालिकामा ८ सय २६ र सवै भन्दा कम बरेङ गाउँपालिकामा १ सय २७ बालिबालिका रहेको कार्यालयले जनाएको छ ।

तिवारीका अनुसार नगर र गाउँपालिकाका सबै बालबालिका खोपको पहुँचमा पुगेको सुनिश्चितता भए पश्चात पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । बालबालिकाले खोप पाए नपाएको सुनिश्चित गर्न जिल्ला खोप समन्वय समितिसँगै नगर र गाउँस्तरीय समन्वय समितिले विभिन्न चरणमा सर्वेक्षण गरेको थियो ।

अब कुनैपनि बालबालिका खोपबाट बञ्चित हुने छैनन्, जनस्वास्थ्य प्रशासक तिवारीले भने, जनस्वास्थ्यको क्षेत्रमा पूर्ण खोपयुक्त घोषणा सबै भन्दा प्रभावकारी कार्यक्रम रहेको छ ।

घरधुरी सर्वेक्षण र नियमित अनुगमनबाट बालबालिका खोपबाट बञ्चित नभएको सुनिश्चित भएपछि मात्र पूर्ण खोपयुक्त नगर, गाउँ सँगै जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ देखी २३ महिना भित्रका सवै बालबालिकाले पोलियो, बिसिजी, हेप बी, डिपिटी, दादुला, रुबेला, टिटी, जेइ लगाएत ११ प्रकारका खोप पाए पश्चात जिल्लालाई पुर्ण खोप सुनिश्चिता गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक सुवेदीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाको अध्यक्षता, बागलुङ नगरपालिकाका सामाजिक विकास संयोजक गणेश थापाको स्वागत र जनस्वास्थ्य कार्यालयका तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम सुरु हुनु पूर्व विभिन्न झाँकी, ¥याली र बाजागाजा सहित जुलुसले नगर परिक्रमा गरेको थियो । घोषणा स्थलमा देखिएको तामझामपूर्ण तयारी र जिल्लाका विभिन्न भागहरुबाट ल्याईएका स्थानीय संस्कृति झल्काउने कार्यक्रम प्रस्तुतिलाई हेर्दा घोषणा सभामा निकै खर्च लागेको सहजै अनुमान गर्न सकिन्थ्यो । यतिबिघ्न खर्च गरेर एउटा हलभित्र घोषणा सभाको आयोजना गर्नुको औचित्य माथि नै दर्शक दीर्घामा प्रश्न उठेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *