निसीभूजी क्याम्पसका शिक्षकको उत्तरगंगा माबिमा घुईचो ! क्याम्पसको पढाई हापेर ट्यूसन पढाउन भ्याईनभ्याई !

बागलुङ २०७५ असार २५ । जताततै असारे विकासको चर्चा परिचर्चा चलिरहेकै बेला बागलुङका विभिन्न बिद्यालय, क्याम्पसका शिक्षकहरुलाई असारे बिदामा बसेका बिद्यार्थीहरुई मनग्गे रकम लिएर ट्यूसन पढाउन भ्याई नभ्याई छ । यतिमात्र पनि होईन शिक्षकहरुले आफुले क्याम्पसमा नियमिति पढाउनु पर्ने विषय हापेरै विद्यार्थीहरुलाई ट्यूसन कोचिङमा पढाउन व्यस्त छन् । यो रोग अहिले सदरमुकाम बागलुङ बजार देखी बुर्तिवाङ सम्म फैलिएको अवस्था छ ।

श्चिम क्षेत्रको एक मात्र उच्च शिक्षा पढाइ हुने निसीभुजी जनता क्याम्पसमा अध्यापन गराउने अधिकांश शिक्षकहरु आफूले पढाउने विषय हापेर ट्युसन कोचिङमा व्यस्त देखिन्छन् जसका कारण क्याम्पसको दैनिक पठनपाठन नै अवरुद्ध भएको छ । यति बेला आफूले पढाउनु पर्ने विषय र वर्षदिनको सक्नुपर्ने कोर्ष समयमा नसकी विद्यार्थीहरुको पढाइ नै अलपत्र पार्दा समेत त्यस्ता शिक्षकहरुलाई न कुनै कार्वाही छ न त सरोकारवालाको नै ध्यान गएको देखिन्छ ।

यतिबेला विशेष गरी सरकारी विद्यालयहरुमा वर्षे विदाको ट्युसन कोचिङ र एसईई परीक्षाको ग्रेड वृद्धि विद्यार्थीहरुको ट्युसन कोचिङको चर्काे चाप देखिन्छ । अँग्रेजी, गणित र विज्ञान मूल विषयको ट्युसन कोचिङ पढ्ने विद्यार्थीहरु बाहिरबाट समेत आउँदा बुर्तिबाङ बजारमा विद्यार्थीहरुको चाप पनि ह्वात्तै बढेको छ । विद्यालयमा आफ्नो विषयमा कहिल्यै राम्रो नतिजा ल्याएर विद्यार्थीहरु उत्तीर्ण गराउन नसक्ने तर तिनै विषयमा ट्युसन कोचिङको नाममा केही नामधारी शिक्षकहरुले ब्रम्हलुट मच्चाउँदा विद्यार्थी अभिभावक नै चर्काे आर्थिक मारमा परेका छन् ।

यति बेला निसीभुजी जनता क्याम्पसमा अँग्रेजी, गणित लगायतका अन्य केही विषय पढाउने जिम्मेवारी लिएका शिक्षकहरु क्याम्पसमा देखा नै पर्दैनन् । आफूले सक्नुपर्ने कोर्ष अलपत्र छ । केही तहको परीक्षा संचालन भइरहेको छ भने केही तहको परीक्षा नजिकै आएको छ । विद्यार्थीहरु दैनिक जसो आफ्नो पढाइ हुनुपर्ने माग राख्दै क्यापस प्रशासनमा माग राखे पनि त्यसको सुनुवाई हुन सकेको छैन ।

केही विषयमा त वर्षदिन वितिसक्दा समेत दुई तीन पाठ पनि राम्रोसँग नभएको र घरमा आफै पढेर परीक्षा दिनुपर्दा निकै कठिनाइ परेको विद्यार्थीहरु बताउँछन् । उता क्यापस प्रशासनले भने केही जिम्मेवार विषयका शिक्षकहरु क्याम्पसको अध्यापन हापेर बाहिरै ट्युसन कोचिङमा व्यस्त हुँदा समस्या आएको बताएको छ । क्याम्पसमा अध्यापन गराउने केही शिक्षकहरु अहिले उत्तरगंगा मा.वि.मा विहानदेखि बेलुकासम्म ट्युसन कोचिङमा नै मरिहत्ते गरेका छन् भने त्यो भन्दा बाहिरका निजी ट्युसन कोचिङ सेन्टरहरुमा समेत भ्याइ नभ्याइ भएको छ । यसरी आफूले जिम्मेवारी लिएको शैक्षिक संस्थाको अध्यापनको जिम्मेवारी र विद्यार्थीको पढाइलाई अलपत्र पार्ने र सोही समयमा अन्तै ट्युसन कोचिङमा ब्रम्हलुट गर्ने अनि महिना दिनपछि आएर हाजिर लाउने शिक्षकहरुलाई क्याम्पसले तलब खुवाउला ? यो सबैको चासोको विषय बनेको छ ।

उता उत्तरगंगा मा.वि.मा पनि विगतका वर्षदेखि नै कोचिङ सञ्चालनमा विवाद रहदै आएको छ । विद्यार्थीहरुबाट कोचिङ शुल्क उठाई शिक्षकको मासिक तलबभत्तामा बीस प्रतिशत थप गरि शिक्षकहरुलाई भुक्तानी गर्दै आएको विद्यालय स्रोतले बताउँछ । तर यस विषयमा विद्यार्थी मूल्यांकन, नतिजा विश्लेषण, कोचिङको प्रभावकारिता र विषयगत उपलब्धी आदिको बारेमा कहिल्यै छलफल समेत चल्दैन बरु तीनै विषयमा वर्षेनी पढाइ झनभन्दा झन खस्कदै गएको विद्यार्थी नतिजाबाट स्पष्ट हुन्छ ।

ग्रेडिङ प्रणाली लागु भएपछि विद्यालयमा अँग्रेजी, गणित र विज्ञान विषय मात्र नभई अन्य केही अनिवार्य विषयहरु समेत अध्यापन गराउनु पर्ने केही शिक्षकहरुले माग राख्दा समेत अँग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुले आफूहरुले मात्र कोचिङ पढाउन पाउने भन्दै कोचिङमा सिण्डिकेट नै लगाइएको विद्यालयका एक शिक्षकले बताए । उता बजारमा संचालन भएका अधिकांश ट्युसन कोचिङ सेन्टरहरु समेत दर्ता विना र मापदण्ड विपरीत संचालन भएको पाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *