अविरल वर्षातले जिल्लामा पु-याएको क्षती र बिपद व्यवस्थापन समितिका अध्यक्ष प्रजिअ खरेलको अनुगमन !

बागलुङ २०७५ असार १६ । असार महिनाको दोश्रो हप्तामा परेको अविरल वर्षातले आएको पहिरोमा पुरिएर बरेङ गाउपालिका १ धुल्लुबास्कोटका एकै परिवारका तीन महिने बालिका सहित तीन जनाको ज्यान गएको छ भने पहिरोले त्यस आसपास क्षेत्रमा निकै ठुलो क्षति पुराएको छ ।

उता अविरल वर्षाकै कारण गल्कोट नगरपालिकाका विभिन्न वडाहरुमा अपुरणीय क्षती पुगेको छ । गल्कोट नगरपालिका ५ हरिचौरमा वर्षात सँगै आएको बाढी पहिरोले ईलाका प्रहरी कार्यालय गल्कोटको भवन अगाडी रहेको प्रतिक्षालय बगाएको छ भने कार्यालयलाई नै अन्य सुरक्षित स्थानमा स्थानान्तरित गर्नुपर्ने स्थिति सिर्जना हुन पुगेको छ । हरिचौर स्थित केहि सरकारी निकायका भवनहरु समेत जोखिममा रहेका छन् । खोलामा आएको बाढीको कटानले थुप्रै घरहरु उच्च जोखिममा रहेका छन् ।

यसैवीच अस्ति परेको भीषण वर्षा सँगै बाढी र पहिरोले गल्कोट क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग छियाछिया पारेको छ । अधिकांश भागमा साना ठुला पहिरोले सडक किनार भत्किएको छ । कतै लोकमार्गको आधाभाग पहिरोले खसालेकोे छ । बामियाँको माटरेबल पुल भत्किने अवस्थामा पुगेको छ । मानवीय क्षेती हुन नपाएपनि धनमालको अपूरणीय नोक्सानी भएको छ । थुपै्रका घरगोठहरुमा क्षेती पुगेको छ । खेती योग्य जमीन बगाएको छ । खोला किनारका बस्तीहरु त्राहिमाम अवस्थामा रहेका छन् । तारघाट बगाएका छन, बिद्यालय जस्ता सार्वजनिक संस्थाहरु कुनै पनि समय धराशायी हुने अवस्थामा पुगेका छन् । दरमखोला किनार मात्र नभएर यसका सहायका ठाडा खहरे खोलाहरुले पनि निकै ठुलो क्षती पुराएको जनप्रतिनिधीहरुले बताएका छन् । वर्षा, बाढी, पहिरोको कहरबाट गल्कोटबासी उब्रिसकेका छैनन्। उनिहरुको आँतमा परेको चोट निको हुन निकै समय लाग्ने निश्चित छ ।

डोजर (स्काभेटर) प्रयोगगरी गाउँगाउँमा मोटरबाटो खन्ने क्रम बढेसँगै जमीन थर्किएर सानो झरी पर्दापनि माटो बग्ने, पहिरो खस्ने र गाउबस्तीलाई नै उच्च जोखिममा पार्ने काम भयो भनेर स्थानीयबासी बिलौना गर्दैछन् तर मोटरबाटो घरघरमा पुराउने होडबाजी थामिएको छैन । भौगोलिक सर्वेक्षण बिना भीरालो ठाउँहरुमा जथाभावी मोटरबाटो खनिदा भूक्षयको डरलाग्दो खतरा सिर्जना भएको छ भनेर बुझ्नेहरुपनि बोल्न सकेका छैनन् ।

दुई दिनको निरन्तर वर्षाले यता सदरमुकाम रहेको बागलुङ नगरपालिकासंग जोडिएको काठेखोला गाउँपालिका ५ बिहुँको काउले गाउँमा जमीन धस्सिनाले त्यहाँ बसोबास गर्दै आएका एक दर्जन भन्दा बढी दलित परिवारको उठ्ठिबास भएको छ । सबैका घरहरु चर्किएका छन् । जमीन धाँजा परेर फाटेको छ । यो दृश्यलाई हेर्दा काउले मात्र नभएर त्यस तलको मध्यपहाडी लोकमार्ग र मानवबस्ती उच्च जोखिममा परेका सहजै अनुमान गर्न सकिन्छ ।

अविरल वर्षातसँगै आएको बाढी,पहिरोले जिल्लाका विभिन्न भागहरुमा पुराएको मानवीय एवं भौतिक क्षतीको अनुगमतन तथा राहत वितरणलाई लिएर प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल संँग सम्पर्क गर्दा हालैको अबिरल वर्षाबाट जिल्लामा निकै क्षती पुगेको बताए ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ खरेलले बरेङ गाउपालिका १ धुल्लोबास्कोटमा पहिरोमा परी मृत्यु हुने एकै परिवारलाई ३ लाख रुपयाँ तत्काल घटनास्थलमा पुगेर राहत रकम वितरण गरिएको जानकारी दिँदै बरेङ गाउँपालिका र दक्षिण भेगका विभिन्न ठाउँहरुमा वर्षातले क्षेती पुराएको जानकारी दिए ।

वर्षातले गल्कोट क्षेत्र र काठेखोला गाउपालिका ५ विहुँको काउलेमा जमीन धस्सिएर केहि दलित परिवार बिस्थापित हुन पुगेको बारेमा जिज्ञासा राख्दा प्रजिअ खरेलले आफु शुक्रबार बिहानै त्यस क्षत्रको निरीक्षण गरेर हिँजो रातिमात्र सदरमुकाम फर्किएको बताउदै बडीगाड गाउपालिकाको मध्यपहाडी लोकमार्गको दारेगौँडामा माथीबाट झर्ने पहिरोले खारबजारलाई परेको जोखिमलाई मध्यनजर गर्दै लोकमार्गका बुर्तिवाङ रहेका प्राविधिकलाई झिकाई तत्काल त्यस्को व्यवस्थागर्न निर्देशन दिएको बताए ।

यस्तै बडीगाड कै राक्से र गल्कोट-११ रिघा मनेवाको पहिरो रोकथामका लागी आवश्यक निर्देशन दिएको पनि ईबागलुङलाई जानकारी दिए ।

प्रजिअ खरेलले अविरल वर्षाबाट गल्कोट क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा पुगेको क्षेती बारे गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगर तथा सम्वन्धित वडाध्यक्षहरु साथ निरीक्षण गरिएको जानकारी दिँदै बाढी पहिरोले लोकमार्गलाई निकै क्षती पुराएकोले तत्कालै मध्यपहाडी लोकामार्ग बागलुङ खण्डका प्रमुख रमेश कुमार दृष्टि संग समन्वय गरी लोकमार्गको तत्काल मरमत सम्भार गर्न व्यवस्था मिलाएको बताए । उनले बामियाँको मोटरेबल पुल उच्च जोखिममा रहेकोले त्यस्लाई तत्कालै मरम्मत गर्न निर्देशन दिएको पनि बताए ।

निरीक्षणका क्रममा साथै रहेकी उपप्रमुख काउचा मगरले अविरल वर्षाले पुराएको क्षतीका बारेमा प्रजिअ खरेलको नेतृत्वमा पुगेको टोलीले दीपज्योति आधारभूत विद्यालय जाने बाटो नै खोलाले बगाएपछी विद्यार्थीहरुलाई पढ्न आवत जावत गर्नका लागि तत्काल बेकल्पिक बाटो निर्माण र खोलामा काठेसाँघु हालेर आपत्कालीन व्यवस्थागर्न आवश्यक पहल गर्ने बताउनु भएको जानकारी दिईन् ।

त्यस्तै दरमखोलामा मिसिने नैरे, अम्रिसे खोलाहरुले पुराएको क्षती सम्वन्धमा पनि तत्क्षेत्रमा पुगेर निरीक्षण गरि क्षेतीको विवरण सकलन गरिएको उपप्रमुख काउचाले ईबागलुङ लाई बताईन् ।

उनले मध्यपहाडी लोकमार्गको बीच र किनारबाट वर्षातको भलपानी वग्दा आँगाखेतको सडकमा क्षेती पुगेको भन्दै प्रजिअ खरेलले सडकमै लोकमार्गका ईन्जिनियरलाई यो कार्य तत्काल रोक्न निर्देशन दिनुभएको जानकारी दिईन् ।

अविरल वर्षा र बाढी पहिरोबाट प्रभावित गल्कोट क्षेत्रको निरीक्षण पछी काठेखोला ५ बिहुँ काउलेका जमीन चिराचिरा परेर विस्थापित अवस्थामा रहेका एक दर्जन बढी दलित परिबारलाई परेको विपतका बारेमा जानकारी लिन घटनास्थल पुगेका प्रजिअ खरेलले तत्कालका लागि पीडित परिवार प्रत्यकलाई रु १० हजारका दरले जम्मा १ लाख ४० हजार रुपयाँ राहत रकम वितरण गरेको बताए । पीडित परिवारलाई काठेखोला गाउपालिका ५ का अध्यक्ष शिवलाल कँडेलले वडाका तर्फबाट एकएक बोरा चामल र नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने त्रिपाल वितरण गरेको प्रजिअ खरेलले जानकारी दिए ।

उनले, बर्षाले चिराचिरा परेको काउलेको जमीनका बारेमा भुगर्भवीदलाई परीक्षण गराई यसको नियन्त्रणमा पहल गर्नुपर्ने बताउदै पीडित परिवारहरुलाई अन्यत्र स्थानन्तरित गर्न काठेखोला गाउपालिकाले तत्कालै उपयुक्त जग्गा खोज्ने अध्यक्ष अमर थापाले बताएको जानकारी दिए ।

विस्थापित परिवारहरुका लागि तत्काल अस्थायी आवासका लागि गाउँपालिकाले कर्कट पाताबाट एककोठे भवन बनाउने कार्ययोजना बनाएको र त्यस्को निर्माणको जिम्मा शहरी विकास कार्यालयलाई दिईएको पनि जानकारी प्राप्त भएको छ ।

यसैवीच प्रजिअ खरेलले काउलेका पीडित १४ परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत रु ३ लाख ५० हजार लागतको भवन निर्माण योजना अघि सारेको पनि जानकारी दिए ।

तस्वीर सौजन्य: अर्जुन ढकाल, जिल्ला प्रशासन कार्यालय, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *