Menu

रङ्ग

हातको मेहेन्दीको रङ्ग अझै छुटेको छैन
कसरी छुट्न सक्छ जिन्दगीको रङ्ग??
सिन्दुरको सुगन्ध रित्तिएको थिएन
कसरी रित्तिन सक्छ सिङ्गो जीवन ??

मेरा आँखाहरु छातीमा दौडिरहेका छ्न
छाती आँखामा छट्पटाइरहेको छ,
तिम्रो अनुहारको एक झलकका लागि
तर कसरी हेर्नू तिम्रो मुहार रातो बाकस भित्र??

जुन अनुहारमा मैले मेरो आँखा टाँसेर,
थोरै सपना टाँसेर …..
मायाको पुरै समुन्द्र खन्याएर
तिमिलाइ सात समुन्द्रपारी पठाएकि थिएँ।

तिमिले चुमेका यी ओठहरु बाट
अझै तिम्रा ओठ छुटेका छैनन् जस्तै लाग्छ
तिमिले टोकेर फेरिएको गालाको रंङ्ग
हेर त अझै गालामै झुन्डिरहेको छ।

मलाई थाहा छ
अब ,तिमी कहिल्यै नउठ्नेगरी निदाइसकेको छौ
र पनि
म मा तिम्रो ढुकढुकी सुनेर –
तिम्रै छातिमा लमतन्न परेर निदाउने चाहाना छ ,

तिमी चितामा लम्पसार निदाइरहेको दृश्यले
म कैयन रात निदाउन नसकुँला
तिमिले फूलले सजाइदिएको मोटो बिस्तारामा!

आँखा चिम्म नगरी अन्तिम पटक
तिमिलाइ हेरेकी थिएँ
तिमी जलेर एकै डल्लो हुनुभन्दा अगाडि
तिम्रो कपाल देखि पैतालासम्म

मेरो मुटु चिस्सिएर
हिउँको थुप्रो जस्तै भएको छ,
र ओसिएका छन् जिन्दगीका सारा उर्जाहरु
अब, कहिल्यै नतात्ने गरि।

फेरि तिमिलाइ सम्झिए ,
अनि सम्झिए –
तिमिले अन्तिम पटक भनेको कुरा
सानू जिन्दगी त अगाडि हुन्छ
पछाडि कहिल्यै नफर्कनु………

आज जिन्दगीको त्यो मोडमा छु
अगाडि पैताला अड्याउने ठाउँ छैन
पछाडी मेरो पुरै जिन्दगी ….
एल्बममा समेटिएको पुरानो फोटो जस्तै भएको छ।

जिन्दगी भएको छ त केबल
तिमी जल्दा तिम्रो चिताबाट
उडेको धुवाँको रङ्ग जस्तै:-

तिम्रो बियोगमा
मुटु चिस्सिएर आँखाबाट खसेको आँशुको रङ्ग जस्तै

तिमी गएपछि जिन्दगी बे- रङ्ग भएको छ
बे – शुर भएको छ ,
लय हराएको गित जस्तै;
बाटो बिराएको बटुवा जस्तै;
रङ्ग नै नभएको रङ्ग जस्तै;

नयन अधिकारी
भरतपुर , चितवन
२०७५ असार १३ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *