Menu

प्रशंगवस : उपभोक्तालाई ‘मल’ सहितको ‘जल’, उपभोक्ता संस्था (समिति)लाई ‘मलजल’ ? कहिले सम्म ?

बागलुङ २०७५ असार १२ । कालिका देवीको पावन भूमि, बागलुङ जिल्लाको सदरमुकाम बागलुङ नगरबासी पशु चौपायाहरुले पनि खान नसक्ने अत्यन्तै प्रदुषित मल सहितको जल पिउन बाध्य छन् । उपभोक्ताहरु धाराबाट झर्ने मल सहितको जल को तस्वीरहरुलाई सामाजिक सन्जाल मार्फत शेयर गरेर सराकोरवालाहरुको ध्यानाकर्षण गराई रहेका छन् । बिचरा उपभोक्ताहरुलाई के थाहा, सरोकारवालाहरुले त मिनरल नामको शुद्ध जल ग्रहण गर्छन, उनीहरुलाई धारोबाट मल खस्छ कि जल के थाहा ?

गत शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार मित्रहरुले दुषित खानेपानीको प्रशंग नकोट्टाएका होईनन् जिल्ला खानेपानी कार्यालयका प्रमुखले केहि त बोले, नयाँ खानेपानी योजना को कुरा भए पो उनले केहि गर्न सक्दा हुन् । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था उनको नियन्त्रण मै छैन के जवाफ दिउन् ?

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ब्रह्मलुट छ, यो जग जाहेर भएको तथ्य हो । यस कुरालाई लिएर अख्तियारमा उजुरी नपरेको पनि होईन । जसले हान्यो उसले जान्यो । जुन जोगी आएपनि कानै चिरेको । धारोबाट मल सहितको जल झर्ने यो अहिलेको मात्र समस्या होईन, पहिले देखी रहि आएको र भोगी आएको समस्या हो । पछिल्लो अधिवेशनमा नयाँ कार्य समिति चुनेर शुद्ध पानी खाने सपना देखेका उपभोक्ताहरुले झन प्रदुषित पानी पिउन बाध्य हुनुपर्दा जुन जोगी आएनि कानै चिरेको भनेर सुस्केरा हाल्दै छन् ।

नगरबासीहरुलाई शुद्ध खानेपानीको व्यवस्था गर्ने जिम्मेवारी नगरपालिकाको पनि हुन्छ । अत्यन्तै दुषित पानी पिउने नगरबासी कसरी स्वस्थ्य र निरोगी हुन्छन् ? नगरपालिकाको ध्यान यसतर्फ आकार्षित हुन सकेको छैन । हुन सक्छ, रातामाटाको पाखाबाट बागलुङ नगरबासीका धाराबाट कस्तो पानी झर्छ भनेर ठम्याउन धौ नै हुन्छ, फेरी ७० लाखको उधारो गाडीमा चढेर गुड्नेले धाराको पानीको बेहाल देख्ने कुरा पनि आएन । रित्तो जहाज उडाएर नगरपालिकाको राजश्व बिमान कम्पनिलाई बुझाउन पल्केकाहरुको भित्री साँठगाँठ भोलाभाला नगरबासीहरुलाई के थाहा ? तारा एयरको यात्रु भाडा रु ६ हजार ७ सय ९५ त्यहिँ नेपाल एयरको भाडा रु ५ हजार ६ सय कायम गरिदा समेत चूँ सम्म नगर्ने नगरपालिकालाई हेक्का भएरै होला, दुषित पानी खाईरहेका नगरबासीको दिमागले यी कुराहरु बुझ्न सक्तैन ।

गएको बिहीबार उडान भरेको नेपाल एयरको बिमानमा काठमाडौबाट १३ र बलेवाबाट ९ जना यात्रुले यात्रा गरेका थिए । तीन यात्रुको मात्र रु १६ हजार ८ सय मात्र नगरपालिकाले नेपाल एयरलाई हर्जाना दिएको थियो । गत आईतबार आउने तारा एयरको विमानले काठमाडौँबाट एक जनामात्र यात्रु र बलेवाबाट ३ जना मात्र यात्रु भएपछी उडान नै रद्द गरी यात्रुहरुलाई अलपत्र पायो । नगरपालिकाका हाकिमहरुलाई थाहा छ, प्रदुषित पानी पिउनेहरुलाई तारा एयरको भाडा किन बढी भनेर प्रश्न गर्ने क्षेमता नगरबासीमा छैन । त्यसैले नगरपालिका नेपाल एयरको भन्दा प्रति यात्रु रु १ हजार १ सय ९५ बढी भाडा तिरेर तारा एयरको बिमान चढ्न बाध्य पारी रहेछ । कसले बुझ्ने यसभित्रको रहस्य ? विद्युत प्राधिकरणको लापर्बाही, पवित्र कालीगण्डकी नदी दोहनलाई लिएर सम्मानित अदालत पुग्ने विव्दानहरुलाई रित्तो बिमानलाई नगरपालिकाले लाखौँ विकास रकम बुझाई रहेको टुलुटुलु हेरिरहने बाध्यता कसरी प-यो ? सायद यो पनि दुषित पानीका असर हो कि ? या नगरपालिकाको सन्निकटता ? केहि त पक्कै हो ।

अस्तिमात्र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख सिनियर डिभिजन ईन्जिनियर रमेश कुमार दृष्टिले एक प्रशंगमा भनेका थिए, बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पाईपहरु अव्यस्थित हुँदा लोकमार्ग निर्माणमा अवरोध भएको छ । खानेपानी जस्तोे संवेदनशील कुरालाई हामीले बेवास्ता गर्ने प्रश्न आउदैन । केहि महिना पहिले लोकमार्गमा पर्ने पाईपहरुको व्यवस्थान गर्न भनेर रु ३३ लाख समितिलाई दिएको हो, न पाईपको व्यवस्थापन भयो न हिसाब फस्र्योट भयो ।

यसै कुरालाई मध्यनजर गरी मध्यपहाडी लोकमार्ग निरीक्षण अबलोकनमा जानु अघी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको पहलमा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, व्यवस्थापक हिमाल शर्मा बानपा ३ र ४ क वडा अध्यक्ष क्रमश लक्ष्मी बाँस्कोटा र ध्रुवबहादुर केसी खानेपानी डिभिजनका प्रमुख ईन्जिनियर शेखर चन्द्र केसी उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतका उपस्थितिमा भएको छलफलमा पाइपलाइनको समस्या ७ दिनभित्र समाधान गराउने, खानेपानी समितिले रु ३३ लाखको पेश्की फर्छौट गराउने लगायतका कार्य गर्ने निर्णय भएको जानकारीमा आएको थियो ।

आज थाहा भयो, नगर खानेपानीको विषयलाई लिएर बागलुङ नगरपालिका समेतका नाममा निशेधाज्ञायुक्त परमादेश जारी हुन माग गर्दै टेकबहादुर सार्कीले सम्मानित उच्च अदालत पोखरा बागलुङ ईजलासमा दिएको रिट निवेदनमा न्यायाधीश शेषराज शिवाकोटीको ईजलासबाट २०७५ असार १५ गते छलफलका लागि उपस्थित हुन दुबै पक्षलाई सूचना जारी गर्ने आदेश भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *