Menu

‘संकटमा रातो रंग’

* जयन्ती मगर सरगम

पाठशालाबाट फर्कने क्रममा
स्कटमा लट्पटिएको रातो रङले
टाटोको रूप लिएपछि
आँखामा आँसुभन्दा बढी भय बोकिरहेकी
बच्चीको आँसुको रङ रातो थियो ।

प्रेमीद्वारा जूनसँग त कहिले फूलसँग दाजिएकी
दिलमाया सम्झिन्छे
प्रेमीद्वारा कोठीमा ल्याइ पुर्‍याइनु पूर्व
‘उसले’ दिएको गुलाब रातै थियो ।

डल्लीलाई आधाआधी याद छ त्यो अनुहार
जुन परदेशिनु पूर्व निधारमा रातो टीका थियो
अहिले बुझ्छे डल्ली
त्यो अनुहार उनको बेपत्ता बाउको थियो ।

भर्खरै सेतो सारीमा बेरिएकी रामप्यारी सम्झिन्छे
ती सारी , घुम्टो, चुरा, पोते सबै रातै थिए
जुन पहिरिनासाथ उनका
सारा उडान रद्द भएका थिए ।

त्यो दुर्गम बस्ती
यसो हिजोतिर फर्किएर हेर्छ
भञ्ज्याङ वरपर अस्तव्यस्त फैलिएका
ती किताबहरू रातै थिए
जसलाई टेकेर
‘ऊ’ सिंह दरबार पस्यो
र बिर्सियो गाउँ ।

यसरी
बारबार रातो रंगले लगाइ रहँदा
ओठसम्म आइपुग्ने मुस्कानलाई बार
आज यो रङ परेकोछ संकटमा
भन्नूहोस् महाशय !
भोलि कुन संग्राहलयमा संग्रहित हुनेछ
क्रान्तिको प्रतीक रातो रंग ?

* जैमिनी ७ बागलुङ
हाल वुटवल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *