बागलुङ नगरपालिका भित्र सरुवा रोग : दश महिनाको अन्तरालमा तीनजना प्रमुख प्रशासकीय अधिकृत !

टेलिफोन कै भरमा प्रशासकीय अधिकृतको सरुवा ! कसरी बढ्छ राष्ट्र सेवक कर्मचारीको मनोबल ?

बागलुङ २०७५ असार ३ । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा सरुवा गरिएका छन् । गत असोज महिनामा तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास लामिछानेलाई सरुवा गराई सापकोटालाई यहाँ ल्याईएको हो भने अहिले तेश्रो प्रमुख प्रशासकीय अधिकृतका रुपमा भीमबहादुर कुँवरलाइ ल्याईदै छ ।

यस सरुवा प्रकरण (रोग)ले बागलुङ नगरपालिका भित्रको दुर्गन्धलाई बाहिर ल्याउन थप मद्दत पुगेको चर्चा एकातिर छ भने अर्कोतिर फोन कै भरमा कर्मचारीको सरुवा गरिने परिपाटी बिकसित हुँदै गएपछी राष्ट्रसेवक कर्मचारीहरुको मनोबल घटाउने काम भएको टिप्पणी गरिदैछ । आम सर्वसाधारणले यस सरुवा रोगलाई गणतान्त्रिक पद्धतिको बेथितीका रुपमा ग्रहण गरेका छन् ।

जेठ २७ गतेका मिति सम्म नङमासु जस्तै रहेका नगर प्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत सापकोटा बीचको सम्वन्ध किन एक्कासी बिग्रन गयो ? भन्ने खुल्दुली नगरबासीमा छ ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटासंग सरुवा प्रकरणलाई लिएर ईबागलुङले जिज्ञासा राख्दा, लामो समय सम्म नगरकार्यपालिकाको बैठक बसेको थिएन यहि जेठ २७ गते बैठक बोलाईएको थियो सो बैठकमा नगर वडा अध्यक्षज्यूहरुले बैठक बस्न ढिलाई, रकमान्तर, विभिन्न शिर्षकहरुमा भएको खर्च विवरण आदि विविध प्रश्नहरु गरिरहँदा नगरप्रमुखज्यू कै पक्षमा रहेर मैले डिल गरिरहेको थिएँ, उहाँले एक्कासी तपाईले बाटो खोली दिनुस भन्दै सरुवा भएर जानुस भन्ने आशय व्यक्त गर्नु भयो ।

एकातिर वडाध्यक्षज्यूहरुको नगरप्रमुख प्रतिको आक्रोशलाई मैले डिल गरिरहने अर्कोतिर दोष जति मलाई दिएर नगरप्रमुखज्यूले बाटो खालि गरी दिनुस भन्ने बचनले ३१ वर्षको जागीरमा यस्तो पीडाको अनुभूति कहिल्यै भएन, सापकोटाले भने । नगरकार्यपालिकाको बैठक त मैले बोलाउने होईन, नगरप्रमुखज्यूको आदेश भएमा मैले बोलाउने हो, दोष जति मलाई थुपार्ने काम भयो, प्रमुख प्रशासकीय अधिकृत सापकोटाको दुखेसो थियो ।

नगरपालिका श्रोतका अनुसार, गत चैत २ गते बसेको नगरकार्यपालिकाको बैठकमा राखिएको विभिन्न शिर्षकमा भएको रकम अर्को शिर्षकमा रकम रकमान्तरको एजेण्डामा तीब्र बिबाद उत्पन्न भयो । बडाध्यक्षहरुले अहिले सम्म कति रकमका पाईपहरु वितरण गरियो, क कसलाई के कति रकम आर्थिक सहयोग बाँडियो, क कस्ले के कति भ्रमण भत्ता बुझे, कति जना कर्मचारी भर्ना गरिए आदि प्रश्न उठाउदै त्यस्को जवाफ नआएसम्म रकमान्तर नगर्ने अडान लिएपछी अर्को बैठकमा विवरण दिने सहमति भएको थियो ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार एक महिनामा एक पटक नगरकार्यपालिकाको बैठक वस्नु पर्ने भएपनि नगरप्रमुख पौडेलले बैशाख महिनामा नगरकार्यपालिकाको बैठक बोलाएनन् । बैशाख महिनाको पहिलो हप्ता भित्र बजेट शिलिङ तयार गर्नु पर्ने, बैशाख महिना भित्र वडा भेला गरी योजना छनौट गर्नु पर्ने, जेठ महिना भरमा योजनाहरुको प्राथमिकीकरण गरी असार १० गते भित्र नगरसभाबाट पारीत गरी रेडबुकमा प्रकाशित गर्न पठाउनु पर्ने ……उल्लेख भएको हुनाले नगरप्रमुख पौडेलले नगरकार्यपालिकाको बैठक नबोलाई नहुने बाध्यताबश जेठ २७ गते ११ बजेलाई बैठक बोलाए । समाचार श्रोतका अनुसार जेठ २७ गतेको बैठकमा वडाध्यक्षहरुले चैत २ गतेको बैठकका विषयलाई जोडदाररुपमा उठाए ।

प्रशासनिक खर्च तर्फ विविध भत्ताहरु, आर्थिक सहायता, विज्ञापन पत्रपत्रिका, पानी, कार्यालय सन्चालन, कला, सँस्कृति, सन्चार, अनुगमन मुल्यांकन, मर्मत, सवारी विमा, घरभाडा, सवारीभाडा ईन्धन आदिमा रु १ करोड ५ लाख र पूँजीगत तर्फ फर्निचर, मेशिनरी औजार, नाली, सरसफाई, मर्मत सम्भार, भैपरी, सडक बत्ति, जाली पाईप खरीद, आदि शिर्षकमा रु ५५ लाख गरी रु १ करोड ६० लाख रकमान्तर गर्ने प्रस्ताव लगिएको र त्यसमा खर्च नभएर रहेको रोजगार प्रवर्धन, कृषि हाटबजार, गरिबसंगा बानपा, घरेलु तथा साना उद्योग प्रवर्धन, जोखिमयुक्त श्रम विमा, सौर्य सडक बत्ती र मालढुंगा देखी कुँडुले सम्म फुल तथा विरुवा रोपण शिर्षकको रु २ करोड ४३ लाख रुपयाँ रकमान्तर गर्न सकिने प्रस्ताब बैठकमा लगिएको थियो ।

श्रोत भन्छ, वडाध्यक्षहरुले उठाएका प्रश्नहरुको जवाफ नगरप्रमुखबाट आउनु पर्ने थियो, तर नगरप्रमुख एकाखर बोलेनन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नगरप्रमुखलाई जोगाउदै वडाध्यक्षहरुसंग डिल गरिरहे । फलत वडाध्यक्षहरु र प्रशासकीय अधिकृत वीच भनाभन भयो, टेबुल ठोकाठोक भयो, माइन्युटिङ गर्न अर्को कर्मचारीलाई बोलाउन वडाध्यक्षहरुले दबाब दिईरहेपछी बल्ल नगरप्रमुख पौडेलले प्रमुख प्रशासकीय अधिकृत सापकोटा तिर हेर्दै मुख खोले, ‘तपाईले बाटो खाली गरिदिनुस सरुवा भएर जानुस् ।’ नगर प्रमुख पौडेलले नगरकार्यपालिकाको बैठक नबोलाउनु लगायत सम्पूर्ण दोष प्रशासकीय अधिकृत सापकोटाको भएको भ्रम पार्ने काम गरे ।

श्रोत भन्छ, नगरप्रमुख पौडेलले सबै दोष आफुमाथी थोपरेपछी आहत बनेका प्रशासकीय अधिकृत सापकोटाले नगरप्रमुख पौडेल समक्ष दुखेसो पोखे, ‘तपाईकै बचाउमा मैले वडाध्यक्षज्यूहरु संग भिडीरहेँ, वहाँहरुको बज्र सहिरहेँ, अहिले हजूरले यस्तो वचन बोल्दा ममाथी महाबज्र परेन र ?’

वडाध्यक्षहरु र प्रशासकीय अधिकृतबीच बैठकमा जुहारी चलिरहकै बखत प्रशासकीय अधिकृत सापकोटाले, तपाईहरु चार वर्षे त हो नि भनेकोले बिबादले उग्ररुप लिएर टेबल ठोकाठोकको स्थिति सिर्जना भएको बताउनेहरु पनि छन तर प्रशासकीय अधिकृतले यसतो नभनेको बताउनेहरुपनि त्यत्तिकै छन् ।

अहिले नगरपालिका भित्र नगरप्रमुख पौडेलले पचासौँ लाखको पाईप आफु खुसी बाँडेको, पच्चिसौँ लाख भन्दा बढी रकम आफु निकटहरुलाई आर्थिक सहायता दिएको, अनावश्यकरुपमा जथाभावी गैरकानूनी तरिकाले कर्मचारी नियुक्ती गरेर नगरापालिकामाथी बोझ थपेको, नगरपालिकाको बजेटबाट कम्प्यूटरहरु खरीद गरी आफ्ना परिवार र आफन्तहरुलाई मकै भट्ट जस्तो बाँडेको, एक महिनामा २८ दिनको भ्रमण भत्ता लिएको, रु ६५ लाखमा स्कार्पियो गाडी खरीद, सवारीको व्यापक दुरुपयोग र ईन्धनमा व्यापक अनियमितता गरेको विषय चर्चामा छ । बलेवा बिमान स्थलमा बिमान सेवा सन्चालनमा गरिएको सम्झौता र नगरपालिका माथि प्रत्यक उडानमा थपिदै गएको व्ययभार आदि सन्दर्भमा नगरप्रमुख पौडेलले जति सक्यो छिटो बास्तबिकता के हो सार्वजनिक गरेर आफु माथि थपिदै गएको कलंकबाट मुक्ति पाउनु राम्रो भएको नगरवासीको भनाई छ ।

नगरकार्यपालिकामा आफ्नै दलको दुईतिहाई बहुमत भएको अवस्थामा आफ्नै दलका साथीहरुले बैठकमा हरहिसाव खोज्छन र टेबुल ठोकाठोक गर्छन भने नगरप्रमुखले आफना गल्तीहरुलाई तत्काल सुधार्न तिर लाग्नु समयसापेक्ष हुने उनका निकटवर्तीहरुको सल्लाह रहेको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *