Menu

बोङ्गादोभानमा सार्वजनिक सुनुवार्ई : तमानखोलाकोे कार्य सम्पादनप्रति गाउपालिकाबासी सन्तुष्ट !

प्रशान्त घर्तिमगर, २ जेठ ३१ । तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा तर्जुमा गरेका योजना तथा कार्यक्रम र त्यसको कार्यान्वयन पक्ष सन्तोषजनक भएको सेवाग्राहीहरुले बताएका छन् । गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी स्थानीय सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय भएको बताएका थिए ।

सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्ज र सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्जले संयुक्त रुपमा सहजिकरण गरेको सार्वजनिक सुनुवाइमा आफ्नो धारणा राख्ने वक्ताहरुले भौगोलिक कठिनाइका बाबजुत पनि गाउँपालिकाले सडक सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए ।
त्यसका साथै, तमानखोला गाउँपालिकामा जटिल बन्दै गइरहेको बालविवाह न्यूनिकरण, महिला हिंसा न्यूनिकरण, तमानखोलाको विकासको लागि गुरुयोजना तयार पार्ने जस्ता कार्यमा गाउँपालिका सफल रहेको उनीहरुको भनाइ थियो ।

तर केही वक्ताहरुले भने गाउँपालिकाले उपलब्धिहीन क्षेत्रमा टुक्रे बजेट विनियोजन गरेको, गाउँपालिकाले शैक्षिक सम्मेलन गरी पारित गरेको १९ बुदे साझा शैक्षिक सुधारको एजेन्डामा कतिपय विद्यालयका प्रध्यानाध्यापकहलाई सहभागी नगराइएकोप्रति गुनासो गरेका थिए । अधिकांश वक्ताहरुले गाउँपालिकाले गरेका कार्यसम्पादन सन्तोषजनक रहेको र भएका केही कमीकमजोरीहरुलाई आगामी दिनमा सुधार गरेर लैजान सुझाव दिएका थिए ।

सेवाग्राहीहरुको प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले सकेसम्म हरेक कार्यक्रमहरुलाई मितव्ययी र पारदर्शी ढंगले अघि बढाउने प्रयास गरिएको र कहिँ कतै भएका कमी कमजोरीहरुलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए । उनले १७ जनाको दरबन्दी हुनुपर्ने गाउँपालिकामा सीमित कर्मचारीको भरमा कार्य सम्पादन गर्दा हुन गएको असुविधाप्रति आफू गम्भिर रहेको बताए ।

साथै, गाउँपालिका अध्यक्ष बुढाले गाउँपालिकाले पारित गरेको शिक्षा नीतिमा भए गरेका कमजोरीहरुलाई शिक्षाविद् तथा शैक्षिक सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर संशोधन गरिने र केन्द्र तथा प्रदेशको शिक्षा नीतिसँग बाझिन गएका बुँदाहरु स्वत खारेज हुने जानाकारी दिए ।

सेवाग्राहीहरुको प्रतिक्रिया तथा गुनासो सुन्नुपूर्व अध्यक्ष बुढाले गाउँपालिकाको समग्र प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विभिन्न स्थानमा नयाँ सडकको ट्रयाक खोलिएको, सामुदायिक विद्यालयहरुमा कम्प्युटर शिक्षक नियुक्ति गरिएको, महिला स्वास्थ्य स्वयमसेविकाहरुको लागि प्रोत्साहन भत्ता बढाइएको, बालविबाह न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम गरिएको उल्लेख गरिएको छ । त्यस्तै, स्थानीयहरुको सहजतका लागि एकीकृत घुम्ती शिविर र कृषि तथा पुशपालन विकासका लागि पशु चौपायहरुको लागि शिविर सञ्चालन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

उनले समुदायको अगुवाईमा दिगो तमानखोला गाउपालिका विकासको गुरु योजना निर्माण गर्न विल्ड नेपालको समन्वय र सहयोगमा एक विशेषक्ष टोली लिएर व्यापक छलफल गरिएको बताए । त्यस्तै, उनले परिवेश विश्लेषण, सामाजिक, प्राकृतिक नक्साङ्कनको माध्यमबाट प्रोफाइल निर्माण गर्न तमानखोला गाउपालिका र विल्ड नेपालको समन्वय सहकार्यमा घरधुरी सर्वेक्षण र टोल वा वस्ती स्तरको छलफल कार्य संचालन भइरहको पनि जानाकारी दिए । तमानखोला गाउपालिको समग्र पर्यटन विकास गर्न ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (त्ब्ब्ल्) को सहकार्यमा पर्यटन गुरुयोजनाको अध्ययन अनुसंन्धान कार्य तयारी भइरहेको पनि अध्यक्ष बुढाले सुनुवाइ कार्यक्रममा बताए ।

त्यस्तै, उनले तमानखोला गाउपालिकाले आ.व. ०७४÷०७५ मा विभिन्न शिर्षकमा कुल ९ लाख ३९ हजार राजश्ज संकलन गर्ने लक्ष्य राखेकोमा अहिले सम्म कुल १५ लाख ७५ हजार ४५ रुपैँया राजश्व संकलन गरेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले पुँजिगत तर्फ विनियोजित कुल ८ करोड ८५ लाख मध्ये अहिलेसम्मको वित्तिय प्रगति ६०.६० प्रतिशत रहेको जानाकारी दिए । उनले अधिकांश योजनाहरु सम्पन्न भैसेको र फरफारकको अन्तिम चरणमा रहेको बताए । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत गौतमले चालुतर्फ विनियोजित कुल २ करोड ८४ लाख मध्ये वित्तीय प्रगति ४५ प्रतिशत र सामाजिक सुरक्षा तर्फ ८९ प्रतिशत रहेको पनि जानाकारी दिए ।

गाउँपालिका अध्यक्ष बुढाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य झकप्रसाद विक, प्रमुख प्रशासकीय अधिकृत गौतम, लेखापाल यामबहादु थापा, शिक्षा साखा प्रमुख बेदबहादुर बुढा, पशु शाखा प्रमुख गुलाव मेहेता, ६ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न विषयगत साखाका प्रमुखहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनीधिहरु, स्थानीय समाजसेवी तथा बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहजिकरण संस्था रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *