Menu

आजको तस्बीर : गल्कोट हटियाको एकीकृत घुम्ती शिविरमा सेवाग्राहीको भीड !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ ३१ । घरदैलोमा सेवा सुशासनमा टेवा उद्घोणका साथ जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना र गल्कोट नगरपालिकाको समन्वयमा गल्कोट ३ हटियामा सन्चालित एकीकृत घुम्ती सेवा शिविरमा सेवाग्राहीको निकै भीड लागेको छ ।

शिविरको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल र गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले संयुक्तरुपमा ब्यानर वाचन गरेर गरिएको थियो भने प्रमुख जिल्ला अधिकारी खरेलले अपाङगता भएका सागर पुनलाई र उपप्रमुख काउचा मगरले मायाँ थापा सलामीलाई नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रेमबहादुर बस्नेतलाई अपाङ्गताको परिचयपत्र प्रदान सेवाको शुभारम्भ गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले बागलुङ जिल्लाका सबै वडाहरुमा छिट्टै घुम्ती सेवा शिबिर सञ्चालन गर्ने बताए ।

प्रजिअ खरेलले गल्कोटमा आफैमा ऐतिहासिक क्षेत्र भएको बताउदै गल्कोटलाई स्रोत र साधनबाट सम्पन्न बनाउन नगरपालिकाले बिशेष योजना बनाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा गल्कोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले शिबिर सञ्चालन गरि जेष्ठ नागरिक, अपाङगता, महिला लगायतलाई गाउ गाउमा आई सेवा प्रवाह गरेको भन्दै आयोजक प्रति धन्यबाद ब्यक्त गरिन् ।

कार्यक्रममा जिल्ला प्रसासन कार्यालय बागलुङका प्रसासकीय अधिकृत धीरेन्द्र राज पन्त, गल्कोट बहुमुखी क्यापसका प्रमुख कृष्णप्रसाद गौतम, सामुदायिक रेडियो गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतम, गल्कोट नगरपालिका १ का अध्यक्ष नेत्र बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेल र शिबिर सञ्चालक टोलीलाई गल्कोट नगरपालिकाले स्वागत तथा सम्मान गरेको थियो । कार्यक्रम गल्कोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता, गल्कोट नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृष्णप्रसाद गौतमको स्वागत मन्तब्य र वाड नम्बर ७ का सचिव महेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार लेखिरहँदा अहिले दिउसो २ बजे सम्ममा शिविरबाट महिला पुरुष गरी १ सय १ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र तथा ७ जनालाई अपाङ्गताको परिचय पत्र सेवाग्राहीहरुलाई प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले जानकारी दिँदै नागरिकता र अपाङ्गताको प्रमाण पत्र वितरण कार्य जारी रहेको बताए ।

राज्यले दिने सेवा सुविधा सबै नागरिकले समान रूपमा पाउनु पर्छ । संविधानले नै सुरक्षित गरेको अधिकार हो यो । तर, भौगोलिक विकटतालाई सुगम बनाउन राज्यले ध्यान नदिँदा नेपालका धेरै गाउँघर अहिले पनि सरकार भन्दा धेरै पर छन् । उनीहरूको लागि सरकारी सेवा सहज रूपमा प्राप्त गर्नु ‘आकाशको फल आँखातरी मर’ सरह भएको छ ।

तर, यही विकटतालाई चिर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले गल्कोट नगरपालिकाको दुई वडहरुमा पुगेर सेवा प्रवाह गरेको छ । जिल्ला सदरमुकाम बागलुङबाट गल्कोट ४५ किलोमिटरको दुरीमा पर्छ, नागरिकता लिनका लागी एक दिन जान र १ दिन आउन लाग्छ । यस समस्यालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय, बागलुङले हिजो गल्कोट नगरपालिकाको वडा नम्बर ११ रिघा र आज गल्कोट नगरपालिका वडा नम्बर ३ मा सञ्चालन गरेको एकिकृत घुम्ती सेवा शिविरका कारण स्थानीयले सदरमुकाम धाएर पाउने सेवा गाउँमै सुलभ तरिकाले पाएका हुन् ।

शिविरमा जिल्ला प्रशासन कार्यालयले गाउगाउमा शिविर सन्चालन गरेर दिएको सेवाप्रति स्थानियहरुले खुसी ब्यक्त गरेका छन् । यत्ति कामका लागि सदरमुकाम जाँदा लाग्ने खर्च गाउँलेको बचत भएको छ । उनीहरुले सदरमुकाम पुगेर लिनुपर्ने यतिका सेवा निशुल्क रुपमा गाउँमै पाएका हुन् । यहांबाट सदरमुकाम जाँदा आउँदा , खाना खर्च लगायत लेखापढी लगायतको लाखौ रुपैयां खर्च जोगिएको गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारीले बताए । जिल्ला स्थित सरकारी कार्यालयहरुले घुम्ती शिविर मार्फत सरकारी सेवा सुबिधा दिए पछि गाउँ मै सरकार पुगेको आभास स्थानियले गरेका छन ।
तस्वीर- अर्जुन ढकाल, जिल्ला प्रशासन कार्यालय बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *