गल्कोटका किसान टनेल खेती प्रति आकर्षित : पहिरोले कुलो बगाएपछी रिघामा धानरोपाई प्रभावित !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ २७ । गल्कोटका कृषकहरुले उत्पादन बढाउन प्लाष्टिक घर भित्र तरकारी खेती गर्न सुरु गरेका छन । गल्कोट नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य सहित प्लाष्टिक टनेल बितरण गर्न सुरु गरेसँगै किसानले दीर्घकालीन आम्दानीका लागि भौतिक संरचना निर्माणमा लगानी बढाएका छन् । प्लाष्टिक घरभित्र तरकारी खेती गर्दा राम्रो आम्दानी हुने भएपछि त्यसतर्फ गल्कोटका किसानहरुको आकर्षण बढेको गल्कोट नगरपालिकाका कृषि शाखा प्रमुख डिएन दाहालले ईबागलुङलाई बताए ।

गल्कोटमा करिब २ सय बढी कृषकहरुले प्लाष्टिकको घर भित्र खेती गर्दै आईरहेका छन । प्लाष्टिक भित्र खेती गर्न आकर्षित किसानहरु दीर्घकालीन आम्दानीका लागि टनेल निर्माणमा लगानी गर्न थालेको दहालको भनाई छ ।

गल्कोटका १ सय ८ जनालाई हालसालै प्लाष्टिक घर बितरण गरिएको छ । गल्कोटका केहि वडाले आफै समेत वडा भित्रका कृषकहरुलाई प्लाष्टिक घर बितरण गरेका छन । आवश्यक पर्ने कृषकहरुले नगरपालिकाको कृषि शाखामा सम्पर्क गरेर लैजान सकिने समेत दाहालले बताए ।
गल्कोटका सयौं किसानले प्लाष्टिक घरभित्र तरकारी खेती गर्ने गरेकोमा केहि किसानले आधुनिक प्लाष्टिक घर निर्माणका लागि लगानी गरिरहेको नगरपालिकाले जनाएको छ ।

गल्कोटको रिघाका करिब १ दर्जन ब्यक्तिहरुले ब्यवसायीक रुपमा प्लाष्टिक घरबाट आम्दानी गरेका छन । रिघाका शेर बहादुर श्रीस, भिम घर्ती, जित बहादुर राना लगायतले बर्षौ देखि प्लाष्टिक घरमा खेती गर्दै आईरहेका छन । गल्कोटमा हटियाका गुमानसिह खत्रीले पहिलो पटक आधुनिक प्लाष्टिक घर निर्माण गरेपछि अन्य किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् । आधुनिक प्लाष्टिक घर बनाएर तरकारी खेती गरिरहनुभएका खत्रीलाई नेपाल सरकारले दस लाख रुपियाँ अनुदान समेत दिएको थियो ।

प्लाष्टिक घरमा खेती गर्दा मौसमी प्रतिकुल प्रभाव विरुवाले भोग्नु पर्दैन, राम्रो उत्पादन लिन सकिन्छ,’ कृषि शाखा प्रमुख दाहालले भन्छन् ‘मैले गल्कोटका सबैजसो कृषकहरुलार्ई प्लाष्टिक घरमा खेती गर्न सिकाइ सकेको छु, अझै कतिपय किसान प्लाष्टिक घर विस्तार गर्ने तयारी गर्दै छन् ।’ स्थानीय कृषकको आकर्षण र आवश्यकता अनुसार नै अहिले नगरपालिकाले प्लाष्टिक घर बितरण गरेको हो ।

यसैबीच

रिघाको मनेवापाटामा सिचाई कुलो पहिरोले भत्काएपछी झण्डै सय घरपरिवारले धान रोप्न छोडेका छन । गत बर्ष असारमा आएको पहिरोले ५ हेक्टर खेत सिचाई गर्ने कुलो भत्किएपछि हालसम्ममा ती परिवारले खेत सिचाई गर्न नपाएको स्थानिय यम बहादुर सिंजालीले ईबागलुङलाई बताए ।

मैले धान रोपेर १२ मुरी सम्म उत्पादन गर्ने गर्थे, सिंजालिले भने सिचाईको समस्याका कारण हामीले गत बर्षदेखि कोदो लगाउदै आईरहेका छौे ।

“सिँचाइ नभएकाले सबै किसानले यो वर्ष धान नरोपी कोदो रोपेका छन” स्थानिय श्याम श्रीसले ईबागलुङसंग भने “ सिँचाइ रोकिँदा किसान मर्कामा परेका छन् । कुलो बन्ने नबन्ने अलमल्ल भएका कारण आफुहरुले धान रोप्ने खेतमा कोदो रोपेको हौँ ।

मध्यपहाडी लोकमार्ग निर्माण कम्पनी सँग कुलो निर्माणको लागी पहल गरिरहेको वडा अध्यक्ष डम्बर श्रीसले बताए । हामी पटक पटक लोकमार्गका प्रतिनिधि सँग बसेर छलफल गरेका छौँ, ज्ञापन पत्र समेत बुझाएका छौ अध्यक्ष श्रीसले बताए । यसको बिषयमा लोकमार्ग सकरात्मक भएको उनको भनाई छ । धान, गहुँ र फलफूल प्रशस्त फल्ने मनेवापाटाका केहि खेत अहिले घाँसले ढाकेको छ । गएको फागुन २२ गते सोही ठाउँमा गएको सुक्खा पहिरोले स्थानीय दरमखोला थुनिँदा ठूलो जलाशय बनेको थियो ।

स्थानीय बासिन्दाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गलाई समेत जोखिममा पारेको पहिरोको दीर्घकालीन रोकथाम हुनुपर्ने आवाज उठाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *