Menu

हरपल स्मरण भैरहने त्यो पल …

२०३० साल पुस महिनाको एक चीसो विहानीको झिसमिसे उज्यालोेमा वनारसको रेल स्टेसनमा उत्रदै गर्दा एक घरको भित्तामा मेरा आँखा ठोक्किन पुगे, त्यहाँ ठुलो अक्षरमा लेखिएको थियो, ‘हेमवती नन्दन बहुगुणा भ्रष्टाचारका दोगुणा ।’ मेरो नजरमा परेको त्यो बाक्यको सान्दर्भिकता जे भएपनि नारा चित्ताकर्षक थियो,जुन अहिलेपनि वनारसको स्मरणमात्रले सम्झना आउँछ ।

कचौरी पुरी खाईवरी पुुनर्ताजगीका साथ विहानको १० बजेतिर हामी नेपाली धर्मशाला, दुधविनायक पुग्यौँ । हामीले त्यहाँ मोदनाथ प्रश्रितजीलाई भेट्नु थियो, थोरै परिश्रम पछी उहाँको कोठामा पुग्यौँ र चिनापर्ची ग-यौँ । भैरहवाबाट करुणा दाजीले लेख्नु भएको चिठी दिएँ । चिठी पढेपछी उहाँले भन्नुभयो, ‘त्यसोभए बिदुरजी प्रेस किन्न आउनु भएको हो … ।’

‘हजूर, मैले भने ।

तत्कालीन अवस्थामा लुम्विनी अन्चलाधीश कार्यालय बुटवलबाट प्रकाशित हुने लुम्विनीदूत साप्ताहिक पत्रिकाको उहाँ (प्रश्रितं) केहि समय सम्पादक हुनुहुन्थो, त्यस नाताले हामीबीच जानपहिचान रहेपनि यसरी साक्षात भेट चाहिँ यो नै पहिलो थियो ।

धमिलो भनौँ कि महिलो महिलो कोट र पाईन्ट पहिरिनु भएका प्रश्रितजीले जयनेपाल लेखिएको (प्रिन्ट गरिएको) झोला बायाँ पाखुरामा घुसार्दै भन्नु भयो, ‘जाउँ हिँड्नुस्, बिदुरजी ।’

उहाँ अघिअघि हामी पछीपछी, वनारसका गल्लीहरु छिचोल्दै दुबे प्रिन्टर्स मा पुगेर अडियौँ । अमृतसरबाट नौतनुवा प्राप्तहुने गरी प्रिन्टिङ प्रेसको अर्डर भयो । प्रेसलाई चाहिने अक्षर लगायतका अन्य सामाग्रीहरु दुईदिन पछी उपलव्ध हुने गरी अर्डर दियौँ । करीब पौने घण्टामा काम निप्टाएर दुबेजीसंग बिदा भयौँ ।

‘देवासुर संग्राम पुस्तकको प्रुफ हेर्न प्रेसमा जानु पर्ने भएकोले साँझ भेटौँला’ भन्दै उहाँ प्रेस तिर लाग्नु भयो र हामी विश्वनाथ मन्दिर दर्शन तिर मोडियौँ ।

वनारसका गल्लीहरुमा जीवनको रफ्तार रेलको भन्दा कम थिएन । गाई र गधाहरुसंग धस्सिँदै मानिस आ-आफ्नै गन्तव्यमा दौडिरहेका थिए र हामी पनि यहि रफ्तारको बीचबाट वनारसलाई चिर्ने प्रयासमा थियौँ ।

त्यस दिन हामी जुन होटलमा बास बस्यौँ, बिहान उठ्दा होटेल अगाडीको दुकानमा मानिसहरुको जमघट देखियो, बुझ्दा त्यस दुकानमा सुतेका साहुजीका दुई भाई छोराहरुको छुरी हानी हत्या गरिएको रहेछ । त्यो बिभत्स दृश्य देख्दा लाग्यो यहाँ मानिसको हत्या गर्नु भनेको सामान्य कुरा रहेछ ।

त्यस दिन हामीले वनारसमै बिताउनु थियो । दुधविनायक गएर प्रश्रितजीलाई भेट्यौँ । उहाँ र अर्का मित्र रामचन्द्र भट्टराई सँग वनारसका राम्राराम्रा ठाउँहरु घुम्यौँ । दिनभर जसो घुमफिर गर्दा औधि थाकियो पनि । हामी त्यस होटलमा बास बस्न जाने बिचारमा थिएनौँ, हत्याको त्यो बिभत्स दृश्यले हामी त्रसित मनस्थितिमा थिर्याैँ । रातिको ८ बजी सकेको थियो । ‘गूरु, फिल्म हेरौँ हुन्न ?’ भन्ने मेरो आग्रहलाई प्रश्रितजीले स्वीकार गर्नु भएन, ‘तपाईहरु हेर्नुस, हामी जान्छौँ, भोलि भेटौला नि…’ भन्दै उहाँहरु दुधविनायक तिर लाग्नु भयो । हामी नजिकैको सिनेमा हलमा पुगेर ब्लाक मेल फिल्म हेर्न टिकट काट्यौ ।

फिल्मको इन्टरवलमा बाहिर निस्किदा ढोकैमा प्रश्रितजी र भट्टराईजी उभिरहनू भएको देखेर मेरो मुखारबिन्दुबाट निस्किहाल्यो, ‘गुरुपनि कस्तो. टिकट म काटी हाल्थेँ नि, सबै एके लाईनमा बसेर फिल्म हेर्न हुन्थ्यो ….।’

‘होईन, होईन, बिदुरजी, मैले फिल्म हेरेको होईन’ भन्दै मेरो पाखुरामा समातेर अलि पल्तिर लगेर मसिनो स्वरमा भन्नु भयो, ‘जस्को साथमा तपाई वनारस आउनु भएको छ, उनलाई यहाँ अन्चलाधीशको सीआईडी भनेर चिनिन्छ र उनीप्रति धेरै रुष्ट छन् । तपाई अबिलम्व वनारस छोड्नु उपयुक्त भएकोले म लिन आएका हुँ ….. ।’

प्रश्रितजीको ईशारा काफी थियो, त्यस्मा ननूनच गर्ने ठाउँ थिएन । हामी दुई उहाँहरु दुई चारै जना रिक्सा लिएर दुबेजी कहाँ पुग्यौँ प्रेसका सामानहरु बटुली रेल स्टेशन तिर लाग्यौँ । राति १ बजेको रेलमा चढाएर प्रश्रितजीले मलाई बिदाई गर्नु भयो ।

सरल स्वभावका बहुप्रतिभाशाली सदबुद्धिदायक व्यक्तित्वको सन्निकटता आफैमा लोभलाग्दो थियो तर प्रश्रितजी संगको सामिप्यताको प्यास बुझि नसक्दै अर्धरात्रिमा वनारस छोड्नु पर्ने जुन परिस्थिति सिर्जना हुन पुग्यो, त्यस पलको स्परण हरपल भैरहन्छ र आज पैँचालिस वर्ष पछी पनि भैरहेको छ ।

केहि वर्षको अन्तराल पछी प्रश्रितजी शिक्षा मन्त्रीको रुपमा बागलुङ आउनु हुँदा उहाँसंग भेट हुने सौभाग्य मिल्योे । उहाँले सोध्नु भएको थियो, ‘बिदुरजी, प्रेस कस्तो छ ?’मैले मुसुमुसु हाँस्दै जवाफ दिएको थिएँ, ‘राम्रो छ ।’

त्यस पछी उहाँसंग मेरो भेट भएको छैन । र ब्लाकमेल फिल्म पनि हेर्न अधुरै छ ।


बागलुङ,
२०७५ जेठ २५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *