Menu

गणतन्त्र दिवस अवसरमा लहरेपिपल सहकारीको आँखा शिविर सम्पन्न

बागलुङ, २०७५ जेठ १५ । गणतन्त्र दिवसको सन्दर्भ पारेर लहरेपिपल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले मंगलवार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. ६ स्थित लहरेपिपल माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा २ सय २० जना आँखाका विरामीहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण गरिएका मध्ये ३५ जनालाई थप उपचारका लागि रिफर गरिएको तथा ४२ हजार बराबरको औषधी समेत निशुल्क वितरण गरिएको संस्थाले जनाएको छ ।

आँखा शिविरमा स्वास्थ्यकर्मीहरु गणेशकुमार महतो, अनिता राजभण्डारी र इन्द्रबहादुर थापाले स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेका थिए ।
सहकारीका सात सिद्धान्त मध्ये समुदायप्रति चासो अन्तरगत समुदायलाई सहयोग पुग्ने उदेश्यले आँखा शिविर गरिएको संस्थाका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । आँखा शिविर सम्पन्न गर्नका लागि बानपा–६ घर भै हाल बेल्जियम निवासी एन.आर.एन बेल्जियमका सदस्य गंगाप्रसाद शर्माले ५० हजार रुपैया सहयोग गरेको उनले बताए ।

संस्थाले गणतन्त्र दिवसको अवसरमा समृद्ध मुलुक निर्माणमा सहकारीको भूमिका विषयक माध्यमिक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता शुक्रवार सम्पन्न गरेको थियो । २१ विद्यालयका ३८ जना विद्यार्थीहरुको सहभागिता रहेको निवन्ध प्रतियोगितामा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका अनिस रेग्मी प्रथम, अमृत आदर्श आवासीय माविका रक्षा शर्मा द्वितिय तथा न्यू ओयसिस एकेडेमीका लक्ष्मी श्रीस र करन थापा तृतिय भएका थिए । निवन्ध प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई मंगलवार पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले गरेका थिए । सो अवसरमा बोल्दै सापकोटाले सहकारीहरु बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रीत भए भन्ने गुनासोलाई लहरेपीपलको सामाजिक कार्यले गलत सावित गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले राज्यले अंगिकार गरेको नीति नियमका आधारमा सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकेमा मात्रै सहकारीको पहिचान र गरिमा बढ्ने भएकाले सबै सहकारीहरुलाई सहकारी मूल्य मान्यताका आधारमा अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवप्रसाद सापकोटा, ६ का वडा अध्यक्ष खेमराज सापकोटा, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवर लगायतले सहकारीमार्फत गरिने सामाजिक कार्यले सहकारीको गरिमा बढ्नुका साथै स्थानीय वासीले प्रत्यक्ष फाइदा पाउने बताएका थिए ।

लहरेपीपल बहुद्दउेश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष कुलबहादुर कार्कीको स्वागत र सचिव श्याम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटा, सहकारी अभियन्ता रामबहादुर जिसी र जेष्ठ सदस्य देउरुपा आचार्यलाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *