गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रले अगाडि सारेको स्टोन भिलेजको अवधारणा कागजमै सीमित !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १४ । २०७१ साल माघमा बसेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रको पर्यटन परिषदले निर्णय गरेको स्टोन भिलेजको अवधारणा ४ बर्ष बित्तिसक्दा पनि सुरु हुन सकेको छैन । स्थानीय स्लेट ढुङ्गाबाट बनेका मानव बस्तीको प्राकृतिक र परम्परागत सुन्दरता जोगाएर पर्यटन प्रवर्धनको निम्ति स्टोन भिलेज अर्थात ढुङ्गेगाउँ को अवधारणा केन्द्रको आर्थिक स्थिति राम्रो नहुदाँ सञ्चालन गर्न नसकिएको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए ।

बागलुङ जिल्लाको गल्कोट क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाउँ बस्तीलाई ‘ढुङ्गै ढुङ्गाको गाउँ’का रुपमा विकास गर्न गल्कोट घुम्टे पर्यटन विकास केन्द्रले पर्यटन परिषद्बाट कार्यक्रम तय गरेको थियो । अध्यक्ष बस्नेतका अनुसार पटक पटक यसको बिषयमा छलफल र निर्णय भएपनि कार्यान्वयन गर्न तर्फ समिति अग्रसर नभएको स्किार गर्दै भने हामी ठुला ठुला योजना बनाउछौ तर कार्यान्वयन गर्न सकिरहेका छैनौ ।

अध्यक्ष बस्नेतँका अनुसार केन्द्रले गल्कोट नगरपालिका ५ साबिकको वडा नम्बर २ को सिमलबोटलाई स्टोन भिलेज बनाउने निर्णय गरे पनि स्थानियले यसतर्फ चासो नदिएका कारण गल्कोट नगरपालिका वडा नम्बर ६ को भुजुङगेलाई स्टोन भिलेज बनाउने बताए । समितिका सल्लाहाकार यम बहादुर श्रीसले भौतिक पुर्वाधारका हिसाबले भुजुङगे उपयुक्त स्थान भएको भन्दै उक्त गाउलाई स्टोन भिलेज बनाउने बताएको बस्नेतको भनाई छ । गल्कोट क्षेत्रको पर्यटकीय क्षेत्रको अगुवाई गरेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रको कोषमा हाल करिब ५०, ६० हजार मात्र रहेको छ । उक्त रकम घुम्टेको मन्दिरमा गरिएको पुजाबाट संकलन भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

गल्कोट क्षेत्रमा पाईने प्रसिद्ध स्लेट ढुङ्गाको प्रयोग गरेर घर, गोठ लगायत मानव बस्तीका भौतिक संरचना र पूर्वाधार निर्माण गर्ने र भएका परम्परागत संरचनाको संरक्षण गर्न सके स्टोन भिलेजको अवधारणा पुरा हुने स्थानियको भनाई छ ।

केन्द्रले तय गरेको उक्त अवधारणा तथा कार्यक्रमलाई पर्यटक लोभ्याउने नयाँ जुक्तिका रुपमा लिइए पनि ४ बर्षसम्म १ प्रतिशत काम नहुदाँ योजना बनाउनुमात्र ठुलो बिषय नभएको गल्कोटबासीको भनाई छ । गल्कोट क्षेत्रमा पर्ने अधिकांश क्षेत्रमा अहिले पनि अधिकांश घर गोठ स्थानीय ढुङ्गा र काठको प्रयोग गरेर निर्माण गरिएका छन् । स्थानीय स्लेट ढुङ्गाबाट बनेका घर गोठको परम्परागत सुन्दरता जोगाउने र बस्तीलाई नै ढुङ्गे गाउँका रुपमा विकास गर्ने लक्ष्य केन्द्रको सकरात्मक भएको भन्दै काम गर्न स्थानियले जोड दिएका छन ।

केन्द्रले २०७१ सालकै परिषदमा २०७२ सालभित्र ७० लाखभन्दा बढी बजेट सङ्कलन गरेर पर्यटन विकासको काम गर्ने लक्ष्य पनि लिएको थियो । सोहि कार्यक्रममा तत्कालीन केन्द्रका सचिव राज थापाले ढुङ्गे गाउँलाई नमुना गाउँ बनाएर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नै हाम्रो लक्ष्य रहेको बताएका थिए ।

त्यस्तै केन्द्रले सामाजिक शिक्षाको स्थानीय विषय समेटिने पाठ्यक्रममा २० प्रतिशत घुम्टे क्षेत्रका बारेमा राख्न जिल्ला शिक्षा कार्यालयलाई आग्रह गर्ने निर्णय समेत गरेको थियो । तर उक्त निर्णयहरु केन्द्रको माईन्यूट बुकमै बन्द छन् । निर्णय ठुला गर्ने काम सिन्को नभाँच्ने गर्दा केन्द्र नै बिबादमा आउने स्थानीयको टिप्पणी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *