Menu

निसीखोलामा सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम

सुमन जीसी, बागलुङ २०७५जेठ ३ । निसीखाला गाउँपालिकाको आयोजनामा गाउँपालिकामा स्थापना भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले २ दिने सहकारी सम्वन्धि क्षमता अभिबृद्धि तथा अन्तरक्रिया कार्यक्रम बुधबार शुभारम्भ भएको छ ।

निसीखोला गाउँपालिका भित्र रहेका ११ वटा सहकारी संस्थाहरुका सञ्चालक समिति उपसमिति र शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला गाउँपालीकाको समृद्धि र विकासमा यहाँका सहकारी संस्थाहरुसंग सहकार्य गरी अगाडि वढ्ने बताएका थिए ।

पौडेलले ग्रामीण अथर्तन्त्र विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै यहाँका सहकारी संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणमा गाउँपालीकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले संस्था सञ्चालनका क्रममा आउने विभिन्न समस्या तथा चुनौतीहरुलाई समाधान गर्नका लागि सञ्चालकहरु दक्ष र क्षमतावान हुनुपर्ने धारणा राख्दै सहकारी संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण पश्चात जिल्लामै पहिलो पटक निसीखोला गाउँपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गरेका थिए ।

निसीखोला गाउँपालिकाका वडा अध्यक्षको तर्फवाट वडा नं. ४ का टीकानीधि पौडेल, झिम्पा साकोसका कोषाध्यक्ष भोटुकुमारी चन्द, निसी वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमवहादुर घर्ति, देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक हेमवहादुर कुँवर, देवी दोभान साकोसका प्रवन्धक होमकुमारी राम्जाली लगाएतले मन्तव्य राखेका थिए ।

आज बिहीबार सम्म सञ्चालन हुने तालिम कार्यक्रममा सहकारीको अर्थ परिभाषा, सिद्धान्त, मुल्य मान्यताहरु, सदस्य, शेयर, बचत, ऋण, समिति उपसमितिको काम कर्तव्य र अधिकार, सहकारी ऐन २०७४, सम्पत्ती शुद्धीकरण, सहकारीमा कोषको व्यवस्था लगाएतका विषयमा नेफ्स्कूका सञ्चालक पौडेल, काठेखोला गाउँपालीकाका वडा अध्यक्ष एवं जनसेवा सकोसका अध्यक्ष खड्क थापा मगर र जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापाले सहजिकरण गर्ने निसीखोला गाउँपालीकाले जानकारी दिएको छ ।

कार्यक्रम गाउपालिका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष शोभाकुमारी कार्कीको स्वागत र लेखापाल भिमसेन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *