Menu

पर्यावरण संरक्षणमा गाउँले : चौतारी पोखरी निर्माण सहित धार्मिक बिधिपूर्वक बर-पिपलको बिबाह !

सुमन जि सी, बागलुङ २०७५ बैशाख २६ । पछिल्लो समयमा विकासका नाममा बाटो खन्ने क्रममा देशभर रहेका वर पिपलहरु काट्ने र चौतारी पोखरी भत्काउने क्रम वढिरहेको अवस्थामा बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. २ भिमापोखरामा भने सम्पूर्ण गाउँलेहरु मिली चौतारी पोखरी निर्माण सहित बर-पिपलको विवाह गरिदिएर पर्यावरण संरक्षणमा गाउँले सक्रिय देखिएका छन् ।

चारतारे युवा क्लव नेपालले श्रमदान तथा समय व्यवस्थापन कार्यक्रम अन्तर्गत देशमा गुम्दै गईरहेको सामाजिक पुँजीलाई जर्गेना गर्ने उद्देश्यले मिति २०७१ असार १० गते ठुली एकादशीका दिन आफ्नो लघुवित्त कार्यक्रम अन्तर्गतका केन्द्रहरुमार्फत एकै दिन देशभरमा १६ सय बर पिपलका विरुवाहरु रोप्ने कार्य गरेको थियो । उक्त दिन रोपेको भिमापोखरा कुमाले स्थित वर पिपलको मङ्गलबार भव्य रुपमा पुजा पाठ, भजन किर्तन लगाएतका कार्यहरु गरी गाउँलेहरुले विवाह गरिदिएका हुन् ।

रु. १ लाख बराबरको नगद र १ लाख १० हजार बराबरको जनश्रमदानमा निर्मित चौतारी पोखरी निर्माणका लागि सिवाईसी लघुवित्त कार्यक्रम भिमापोखरा अन्तर्गतका १४ वटा केन्द्रका सदस्यहरु र भिमापोखरा स्थित स्थानीयहरुले सहयोग जुटाएका थिए । निर्मित चौतारी ११ मिटर लम्वाई र ४ मिटर चौडाई र पोखरी ७ मिटर लम्वाई र ३.५ मिटर चौडाई रहेको सिवाईसी लघुवित्त कार्यक्रम अक्षते शाखाका प्रमुख रुपमा थापाले जनाईन ।

समाजमा गुम्दै गईरहेको सामाजिक मुल्य मान्यता र असल परम्पराहरुको सम्वद्र्धन, संरक्षण र जर्गेर्ना गर्ने, समयदानको माध्यमवाट गाउँ घर टोल सार्वजानीक स्थल, प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले सिवाईसी नेपालले समयदान तथा समय व्यवस्थापन कार्यक्रम अन्तर्गत लघुवित्त कार्यक्रम मार्फत यि र यस्तै कार्यहरु गर्दै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *