Menu

आदर्श सञ्चार सहकारीव्दारा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन

रबिना बोहरा, बागलुङ २०७५ बैशाख २२ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि एक दिने तालिम सञ्चालन गरेको छ । ‘दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने नाराका साथ सञ्चालन गरिएको तालिममा क्षमता अभिबृद्धिका लागि अध्ययन आवश्यक रहेको बताइएको थियो ।

तालिमको सहजिकरण गर्दै संस्थाका सम्पादक रामबहादुर जिसीले सहकारीलाई व्ययवसायिक सञ्चालनका लागि वित्तीय सक्षमता हुन आवश्यक रहेको बताए । यस्तै सदस्यहरुलाई सन्तुष्ट दिलाउन सक्नुपर्ने, प्रतिष्पर्धी अवस्था, कर्मचारीहरुको सन्तुष्टी तथा प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्ने उनको भनाई थियो । जीसीले नेतृत्वमा फेरबदल भएपनि संस्थाको स्तर र गति एकनास अगाडी बढ्नका लागि व्यवस्थित नीति र सो अनुसार काम गर्ने दक्ष कर्मचारी हुनु पर्नेमा जोड दिए ।

सहकारीले मुल्य, मान्यता र सिद्धान्तका आधारमा काम गर्नुपर्ने भन्दै दीर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्ने जानकारी दिनुभयो । आफु पुग्ने स्थान सम्म पुग्नका लागि योजना नबनाए सम्म सम्भव नभएकाले दीर्घकालिन रुपमा योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभएको थियो । सञ्चार माध्यमले शिक्षा, सुचना, मनोरञ्जन र उत्प्रेरणा प्रदान गर्ने भएकाले औपचारिक कार्यक्रम भन्दा बढी खोजमुलक समाचारमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सहकारीको बारेमा जानकारी गराउदैँ उनले संस्थामा हाल १ हजार १ सय ५० जना शेयर सदस्य, २ करोड ६३ लाख शेयर पुँजी, ८ करोड निक्षेप, ११ करोड ५० लाख लगानी रहेको बताए ।

संस्थाले बनाएको १० वर्षे रणनीति अनुसार २०८० सालसम्ममा ५ हजार भन्दा बढी शेयर सदस्य, १२ करोड ५० लाख शेयर पूँजि, ४० करोड निक्षेप, ५० करोड लगानीका साथै सुविधा सम्पन्न भवन र आधुनिक प्रेस हुने तथा आधुनिक प्रविधिको प्रयोग गरी आफ्नै भवनबाट कारोबार गर्ने बताइएको छ ।

यस्तै एक सय जना शेयर सदस्य भएका वडामा एक जना सहकारीको प्रतिनिधि राखेर सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाइएको छ । बागलुङका १० वटा स्थानीय तहमा सदस्य विस्तार गर्ने तथा कार्यलय सञ्चालन गर्ने लक्ष्य पनि राखिएको कार्यक्रममा बताइएको छ । तालिमको समापन सहकारीका उपाध्यक्ष अञ्जु जिसीले गरेकी थिईन् । तालिममा संस्थाका १५ जना कर्मचारीको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *