Menu

यस्तो रह्यो बागलुङमा नेपाल बन्दको प्रभाव : लामो दुरीका सवारी साधन चलेनन् !

बागलुङ २०७५ बैशाख २२ । नेपाल कम्युनिष्ट पार्टी बिप्लबले आव्हान गरेको आजको नेपाल बन्दको प्रभाव यातायात क्षेत्रमा केहि परेको देखिएपनि अन्य क्षेत्रमा भने खासै प्रभाव नदेखिएको सहकर्मीहरुले जनाएका छन् । शनिवार बागलुङ जिल्लाका अधिकांश व्यापारिक केन्द्रहरु बन्द रहने हुनाले बिप्लब नेकपाले आव्हान गरेको नेपाल बन्दको कुनै प्रभाव नपरेको बजारबासीहरुले बताएका छन् ।
बागलुङ बजारमा मोटरसाईकल फाटफूट चलेपनि अन्य सवारी साधनहरु चलेका छैनन् । सदरमुकामबाट लामो दुरीका लागी छुट्ने सवारीहरु सन्चालनमा आएका छैनन् ।

उता बुर्तिवाङबाट सहकर्मी डम्मर बुढा मगरले दिएको जानकारी अनुसार बुर्तिवाङ बजार खुला छ भने सवारी साधनहरु कममात्रामा सन्चालनमा रहेका छन् ।
त्यस्तै खर्वाङबाट सहकर्मी कमल पौडेलका अनुसार खर्वाङ बजार बिहानै देखी खुल्ला छ । सवारी साधनहरु पनि सन्चालनमा रहेका छन् । गल्कोट हटिया बजारमा पनि बन्दको प्रभाव नरहेको सहकर्मी गुमानसिँह भण्डारीले जनाएका छन् । सवारी साधनहरु भने कम मात्रामा चलेको सहकर्मी भण्डारीले बताए ।

यस्तै कुस्मीसेरा बजार शनिवार बन्द रहने हुनाले बन्दको कुनै प्रभाव नरहेको सहकर्मी सन्ध्या आचार्यले जानकारी दिएकी छन् । जिल्लाको दक्षिणका ग्रामिण खण्डमा सवारी सन्चालनमा रहेका छन् भने बागलुङ सदरमुकाम देखी कुस्मी सेरा आउने सवारी साधनहरु भने नआएको सहकर्मी आचार्यले बताईन् ।

उता गल्कोट हरिचौर बजार बिहानै देखि खुल्ला रहेका जानकारी दिँदै सहकर्मी दिनेश खत्रीले सवारी साधनहरु भने सन्चालनमा नरहेको बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार जिल्लाको जनजीवन शान्तिपूर्ण रहेको छ । कुनै अप्रिय घटनाहरुको जानकारी प्राप्त नभएको ईबागलुङलाई बताए । यसैगरी जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराज सिँह थापाले दिएको जानकारी अनुसार बन्दका कारण बागलुङ जिल्लामा कुनै अप्रिय घटना घटेको जानकारी छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *