ढोरपाटन महोत्सवको दोश्रो दिन : पञ्चेबाजा प्रतियोगिता, लोकगायकबाट सांगीतिक प्रस्तुती !

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७५ बैशाख २ । बुर्तिबाङमा जारी प्रथम ढोरपाटन महोत्सव २०७५ को दोस्रो दिन आज विभिन्न झाँकी प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा पश्चिममा प्रचलित पञ्चेबाज प्रतियोगिता भएको छ ।

प्रतियोगितामा यस क्षेत्रका ४ पञ्चेबाजा समूहले सहभागिता जनाएका थिए । त्यसैगरी कार्यक्रममा लोक गायक खड्क गर्बुजा, लोक गायिका जुना श्रीस, गायक बैकुण्ठ महत तथा स्थानीय कलाकारहरुले महोत्सवमा उपस्थित दर्शकहरुलाई छमछमी नचाएका थिए ।

बैशाख ७ गतेसम्म चल्ने यो महोत्सवमा जिल्लाका विभिन्न स्थान तथा गुल्मी, स्याङ्जा, पाल्पा, कास्की लगाएत धेरै स्थानहरुबाट व्यापार गर्ने व्यापारी तथा मेला अवलोकन गर्ने दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

महोत्सवको तेस्रो दिन भोलि हेलिकप्टरबाट पश्चिम बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
हेलिकप्टरबाट बुर्तिबाङ क्षेत्रको मात्रै अवलोकन गर्नको लागि ५ हजार र बुर्तिबाङदेखि ढोरपाटन र ढोरपाटनदेखि बुर्तिबाङको अवलोकन गर्न १० हजार शुल्क तय गरेको आयोजकले बताएको छ ।

त्यसैगरी भोलिदेखि नै खुल्ला भलिबल प्रतियोगिता लगाएत अन्य कार्यक्रमहरु पनि संचालन हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *