आजको तस्बीर : ढोरपाटन एक, आय अनेक !

शब्द/चित्र : विजय राना

ढोरपाटन देशकै शान हो । त्यस बारे सायदै अपरिचित होलान देशको बागडोर सम्हाल्नेहरु । ढोरपाटन शिकार आरक्षकै कारण विश्वका शिकारका शौखिनहरु समेत राम्रो संग परिचित छन् । ढोरपाटन क्षेत्र १३ सय २५ वर्ग किलोमिटर भू–भागमा फैलिएको छ । खास गरि यो बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ ।

त्यस क्षेत्र सिकारको लागि मात्रै होइन । जडिबुटिको रुपमा पनि प्रख्यात छ । यार्सागुम्बा, पाँचऔँले, जटामसी, नीरमसी, चिराइतो, विषमा, पदमचाल, टिमुर लगायतका विभिन्न जडिबुटिहरु पाइन्छन् । वन्यजन्तुका हिसाबले नाउर, झारल, थार कस्तुरी मृग, हिउ चितुवा, हाब्रे हिमाली भालु लगायतका ३२ प्रजातिका स्तनधारी जनावरहरु पाइन्छन् । त्यस्तै डाँफे, मोनाल, चिर लगायत १ सय ६४ प्रजातिका चराहरु पाइन्छन् । यी ढोरपाटन् क्षेत्रका अमुल्य सम्पति हुन् ।

भू–उपयोगिताको हिसाबले ४ सय ४४.५६ वर्ग किलोमिटर अर्थात ३३ प्रतिशत चरण क्षेत्र रहेको छ । ४ सय २६.६० वर्ग किलोमिटर अर्थात ३२.२० प्रतिशत वन क्षेत्र, २६.३८ वर्ग किलोमिटर अर्थात १.९९ प्रतिशत कृषि क्षेत्र छ भने १.११ वर्ग किलोमिटर अर्थात ०.०८ प्रतिशत भाग बुट्यान क्षेत्र छ । भू–उपयोगिताको हिसाबले पनि यो अत्यन्त विविधतायुक्त छ । त्यस संगै उत्तर गंगा नदि छ । त्यो विद्युत उत्पादनको हिसाबले पनि अत्यन्त उपयुक्त छ । जलाशाययुक्त विद्युत उत्पादन गर्न सकिन्छ । जसको अध्ययन पनि गरि सकिएको छ । अध्ययन अनुसार ८ सय २८ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यदि यो बन्यो भने एसियाकै दोस्रो ठूलो जलासाययुक्त परियोजना बन्छ भनिन्छ । यो राज्यको लागि धेरै ठूलो सम्पति हो ।

ढोरपाटन श्रोतको हिसाबले अत्यन्त सम्भावनायुक्त ठाउँ हो । त्यहाँबाट सिकार खेलेर मात्र आम्दानी गर्न सकिन्छ भन्ने छैन । जडिबुटि उत्पादन केन्द्र सञ्चालन गरि पनि आम्दानी गर्न सकिने प्रसस्त सम्भावना छ । विद्युत उत्पादन, पशुपालन, माछा पालन, पर्यटन यी त्यस क्षेत्रको राम्रो आम्दानीको श्रोत बन्न सक्छन् ।

बिडम्बना बैद्यानिक रुपमा अहिले सम्म शिकार आरक्षबाट बाहेक खासै आम्दानी हुन सकेको छैन । जब २०३९ साल चैत्र महिनामा सिकार आरक्षको स्थापना भयो अँझ भनौ जब बि.स २०४४ साल बैशाख १४ गतेको राजपत्रमा सूचना प्रकाशित गरि आरक्षको घोषणा गरियो तब मात्रै राज्यले त्यस क्षेत्रलाई आम्दानीको रुपमा प्रयोग गर्न थाल्योे । वन्यजन्तु तथा पंक्षीको व्यवस्थित शिकार गराउने यस आरक्षलाई फागुने, वार्से, घुस्तुङ, दोगडी, सेङ सुन्दह र सुर्तिवाङ गरि ७ वटा ब्लकमा विभाजन गरिएको छ । तिनै ७ वटा ब्लकमा सिकार गराए बापत राज्यले राजश्व प्राप्त गरिरहेको छ ।

यसरी राज्यले सिकार आरक्ष घोषणा गरेर आम्दानीको श्रोत बनाउन थालेको करिब ३० वर्ष पुगेको छ । ३० वर्षको अवधिमा सैयौँ जना सिकारीले सिकार खेलिसके । त्यसबाट राज्यले अरबौँ रुपैयाँ राजस्व प्राप्त गरिसकेको छ । यस वर्षको यही सिजनमा मात्रै १० नाउर, ६ झारलको टेण्डर गरिएको थियो । एक नाउरको १ लाख १५ हजार १ सय ११ मुल्य तोकिएको छ । भने झारलको १ लाख ५९ हजार सम्म अधिकतम मुल्य तोकिएको छ । २०७३ सालको चैत्र सिजनको तथ्याङ्कलाई हेर्ने हो भने एउटै झारलको लागि १३ लाख ५० हजार रुपैयाँ टेण्डर आह्वान गरिएको थियो । यसले यो कुरा प्रष्टाउँछकी ढोरपाटन राज्यको लागि धेरै ठूलो÷राम्रो आम्दानीको श्रोत हो ।

अथाह सम्पति रहेको ढोरपाटनबाट अहिले सम्म राज्यले त्यही सिकारबाट जति राजस्व प्राप्त ग¥यो त्यसबाहेक अन्यबाट प्राप्त गर्न सकिरहेको छैन । स्थानीय एक व्यक्तिको भनाई अनुसार अहिले पनि दैनिक औषत रुपमा १ सय ५० जना जति आन्तरिक पर्यटकहरु त्यस ठाउँमा पुग्न सक्छन् । बाटो, बिजुली, पीउने पानीको अँझ व्यवस्थित गर्न सके आन्तरिक पर्यटक मात्र होइन बाह्य पर्यटक पनि आउन सक्ने प्रशस्त सम्भावना छ, तर त्यसको लागि अहिले सम्म कुनै पनि ढङ्गको पहल कदमी गर्न सकेको छैन । जसको कारण सरकार अरबौँ रुपैयाँ राजस्व संकलन गर्नबाट बन्चित भइरहेको छ ।

स्थानीय पनबहादुर विकका अनुसार त्यहाँ यार्सागुम्बा अहिले पनि चोरी हुन्छ । पाँचऔँले, जटामसी, नीरमसी, चिराइतो, विषमा, पदमचाल, टिमुर लगायतका जडिबुटि त्यसै खेर गइरहेको छ । त्यसको सङ्कलन र प्रशोधन केन्द्र खोल्न सकियोे भने मात्र पनि त्यसबाट राज्यले प्रशस्त मात्रामा राजश्व संकलन गर्न सक्छ ।

विद्युत उत्पादनका लागि पनि उत्तिकै सम्भावना छ । विद्युतको बारेमा अहिले स्थानीय भने विभाजित भएको पाइन्छ । त्यहाँ ८२८ मेगावाटको विद्युत उत्पादन गर्न सकिने विभिन्न अध्ययनबाट देखिन्छ । विद्युत उत्पादनको लागि विभिन्न चरणहरु पनि पार गरिसकिएको छ । तर अहिले भने काम अगाडी बढ्न सकेको छैन । विद्युत उत्पादन गर्ने सवालमा मानिसहरु दुईभागमा विभाजित भएको पाईन्छ । एकथरी विद्युत उत्पादन गरि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पक्षमा छन् भने अर्को थरि प्रकृतिको अनुपम उपहार ढोरपानलाई मास्नु हुँदैन । त्यसलाई पर्यटनकै रुपमा विकास गरिनु पर्छ भन्नेहरु छन् । साथै त्यस श्रोतको उपयोगिताको हिसाबले प्रदेश न. ४ र ५ अत्यन्त विभाजित हुने सम्भावना देखिन्छ । तर विकासका दृष्टिकोणले दुवै प्रदेशलाई नै फाईदा हुने गरि उपयोग गर्दा अत्यन्त फाइदा हुन्छ । यसले दुवै प्रदेशलाई नै धनि बनाउँछ । त्यहाँ लगानी पनि दुवै प्रदेशले र त्यसको मुनाफा पनि दुवै प्रदेशले गर्दा सबैलाई फाइदा नै हुन्छ ।

यसरी हेर्दा ढोरपाटन एक हो । तर आयका अनेकौँ श्रोत हुन् । विद्युत, शिकार, जडिबुटि, पशुपालन, माछा पालन, पर्यटन यहाँका प्रसस्त सम्भावनायुक्त क्षेत्र हुन् । राज्यले योजनाबद्ध ढङ्गले काम ग¥यो भने यी सबै क्षेत्रबाट वार्षिक अरबौँ रुपैयाँ आम्दानी गर्न सक्छ । यस्तै श्रोतको सही उपयोग गर्न सके मात्र समृद्ध प्रदेश, समृद्ध देश बन्न सक्छ । त्यसैले यहाँका सबै श्रोतको उच्चतम प्रयोगमा ध्यान दिनु उपयुक्त हुन्छ । तर श्रोतको उपयोग गर्दा एकोहोरो दोहोनको रुपमा गरिनु हुँदैन । अहिले सम्म ढोरपाटन शिकार आरक्षबाट राज्यले राजश्व संकलन गरिरहेको छ तर त्यो राजश्वको एक प्रतिशत भाग पनि त्यहाँका जनताले पाउन सकिरहेका छैनन् । त्यहाँका जनताको दैनिकी कष्टकर छ । त्यसकारण त्यहाँको श्रोत र साधन प्रयोग गरेबापत त्यसको केही प्रतिशत मुनाफा त्यहाँका जनताको जीवनस्तर परिवर्तनको लागि पनि खर्चिनु पर्छ । यदि त्यसो गर्न सकियो भने मात्रै श्रोत÷साधन प्रयोगको सार्थकता पनि हुनेछ ।

बागलुङ २०७५ बैशाख २ ।
* लेखक पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *