नेपालमा नयाँ वर्ष बिक्रम सम्वत २०७५ प्रारम्भ : शुभकामना आदान प्रदान गरी मनाईदै !

बागलुङ २०७५ बैशाख १ । आजदेखी नेपालमा नयाँवर्ष प्रारम्भ भएको छ । नेपालको औपचारिक नयाँ वर्षलाई बिक्रम सम्वत भनिन्छ । राजा विक्रमादित्यले शुरु गरेको सम्वत भएकाले यसलाई विक्रम सम्वत भनिएको हो । प्रत्यक वर्षको बैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाईने हुनाले आज बैशाख महिनाको १ गतेलाई देश विदेशमा रहेका नेपालीहरुले नयाँ वर्ष २०७५ को रुपमा स्वागत गर्दै उल्लासपूर्वक मनाउछन र एकापसमा शुभकामना आदानप्रदान गर्दछन् ।

विक्रम सम्वत सूर्य पात्रोसंग सम्वन्धित हुनाले यसका महिनाहरु पनि ग्रह नक्षत्रसंग संग सम्वन्धित छन् । पृथ्वीले सूर्यको एक परिक्रमा पुरा गर्दा चैत्र शुक्ल प्रतिपदा हुन्छ । सूर्य मिन राशीबाट पुन मेष राशीमा प्रवेश गर्ने गर्दछ र नयाँ वर्षको शुरुवात हुने ज्योतिषीय मान्यता रहेको छ ।

नयाँ वर्ष प्रारम्भ सँगै नेपालीहरुले नयाँ कार्यको शुभारम्भ गर्ने चलन रहेको छ । नयाँ वर्षको पहिलो दिन शुरु गरिएका कार्यहरु सफल हुने विश्वास नेपालीहरुको छ । नयाँ वर्ष प्रारम्भ सँगै नेपालीहरु विहानै देव देवीहरुका मठमन्दिरहरुमा पुगेर नयाँ वर्ष देश र देशवासीका लागि फलदायी बनोस, देशमा सुख शान्ति अमन चयन रहोस, कुनै विघ्नबाधा आई नपरुन् भन्ने कामना गर्ने गर्दछन् ।

तर ज्योतिषहरुको दृष्टिमा बिक्रम सम्वत २०७५ सालको प्रारम्भ अनुकूल देखिएको छैन । ज्योतिषहरुको भविष्यवाणी अक्षरश: मिल्छ भन्ने त छैन, तैपनि पं ओझराज लोहनीले एक लेखमा यस्तो लेखेका छन्,- ‘यो वर्षको राजा सूर्य र मन्त्री शनि बनेर वर्ष प्रवेश भएको छ। जग लग्न मिथुन, बर्ष प्रवेशको दिन चन्द्रमा मीन राशिमा, शनिको नक्षत्रमा रहेका छन्। शनि र सूर्यको परस्पर शत्रु भाव रहने भएकाले वर्षारम्भनै प्रतिकूल रहनेछ। शनि र मंगल एकसाथ हुनु एवं परस्पर दृष्टि हुनु त्यति राम्रो मानिन्न।

यस्तो हुँदा विमान दुर्घटनामा महत्वपूर्ण व्यक्तिको निधन हुने सम्भावनाको साथै अपसी विवादहरू बढ्ने, राजनीतिमा उतारचढाव आउनेछ। वाह्य हस्तक्षेप खुल्लमखुल्ला नै हुनेछ। ऐतिहासिक र प्रभावशाली व्यक्तिको निधन हुने सम्भावना यस बर्ष देखिन्छ। यसले गर्दा राजनीतिमा अस्थीरता पैदा गर्नेछ।
प्राकृतिक प्रकोप हुने मंगलको सम्बन्ध माटोसँग, शनिको सम्बन्ध पत्थरसँग रहने भएकोले समुद्री आँधी, हुरी, बतास र भूकम्पजस्ता घटना हुने सम्भावना रहन्छ। अति वृष्टि, खण्ड वृष्टि, सुख्खा खडेरीका कारण अन्न उत्पादनमा कमी आउने, वैदेशिक व्यापार घाटाले अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पर्नेछ।
विकास निर्माणका कामहरू न्यून हुने, सेवा तथा सुरक्षा खर्चमा तीब्रता आउनाले राष्ट्रमा ठूलो आर्थिक संकट सिर्जना हुन सक्छ। ऋणभार बढ्नाले अप्ठ्यारो अवस्था आउनेछ। वैदेशिक सहयोग पाउन गाह्रो छ।
धार्मिक विवादहरू पनि बढ्न सक्छ। शनि, मंगलको युक्ति २०७५ वैशाख २६ गतेसम्म रहनेछ। नेपालको राजनीतिमा दक्षिण र पश्चिमाहरूको खिचातानी रहनेछ। नेपालका लागि शनि २०७६ फाल्गुन १३ सम्म र बृहस्पति २०७६ कार्तिक १२ सम्म प्रतिकूल रहनेछन्।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *