आदिबासी जनजातिका कटौती भएका बिदा फिर्ता लिन आग्रह

कोपिला कंडेल, बागलुङ २०७४ चैत २८ । नेपाल आदिबासी जनजाति जिल्ला समन्वय परिषद बागलुङले आदिबासी जनजातिसंग जोडिएका सांस्कृतिक चाडपर्व सरकारले कटौती गरेको भन्दै असुन्तुष्टी जनाएको छ । आफुहरु मनाउदै आएका चडपर्व तमु ल्होछार, ग्याल्वो ल्होसार, उधौली, उभौली माघे संक्रान्ति माघीमा पाउदै आएको सार्वजनिक बिदा खारेजीको निर्णय तत्काल फिर्ता दिन सरकार समक्ष माग समेत गरेको छ ।

आदिबासी जनजाती जिल्ला समन्वय परिषदले आज बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा परिषदका अध्यक्ष बम बहादुर गुरुङ्गले आफुहरुको पहिचान र अधिकारका लागि सरकारले यस्ता निर्णय तत्काल फिर्ता लिन आग्रह गरे । सरकार र आदिबासी जनजाति बिच भएका बिभिन्न सहमति र सम्झौता अनुसार प्रदेशको नामाकरण गर्दा पहिचानको आधारमा गरी त्यहां बोलिने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिनुपर्ने भन्दै अध्यक्ष गुरुङ्गले समानुपातिक र समावेशी सिद्धान्तको मर्म र भावनालाई सहि ढङ्गले कार्यान्वयन गरी समतामुलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपालको संबिधान २०७२ को मुल मर्म र भावना विपरित धर्मनिरपेक्ष मुलुकमा परापुर्व कालदेखी आदिबासी जनजातिहरुको सांस्कृतिक आहारको रुपमा प्रयोग गर्दै आएको गाईको मासुलाई सरकारले कानुनी मान्यता प्रदान गर्नुपर्ने र गाई काटेको सवालमा जेल जीवन बिताईरहेकालाई क्षतिपुर्ति सहित अविलम्ब रिहाई गर्न समेत अध्यक्ष गुरुङले आग्रह गरे ।

त्यसैगरी काठमाडौ उपत्यका लगायत नेवार आदीबासीहरुको आदिभुमीमा गैरन्यायिक रुपमा गरिएको विस्तार तुरुन्त बन्द हुनुपर्ने, संबिधानको धारा ५६ को ५ अनुसार राजनैतिक अधिकार सहित विशेष संरक्षित र स्वायत्त क्षेत्र तुरुन्त गठन गर्नुपर्ने आदिबासी जनजाति जिल्ला समन्वय परिषद बागलुङले जनाएको छ ।

त्यसैगरी पहिचान सहितका आन्दोलन थरुहट,ताम्सालिङ, लिम्बुवान लगायतमा जेल जिवन बिताईरहेका राजबन्दीलाई क्षेतिपुर्ति सहित विनाशर्त रिहाई गर्नुपर्ने र आदिबासी जनजाति लगायत उत्पीडित वर्ग समुदायले उठाउदै आएका विभिन्न सवाललाई सम्बोधन हुने गरी अबिलम्ब संबिधान संशोधन गर्नसमेत आदिबासी जनजाति जिल्ला समन्वय परिषदले माग गरेको छ ।

यदि बिभिन्न वहानामा आदिबासी जनजातिमा माग लाई बेवास्ता गरेमा आन्दोलनलाई अझै सशक्त बनाउने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयं राज्यनै हुनुपर्ने माग पत्रमा उल्लेख गरीएको छ ।

सो अवसरमा आदिबासी जनजाति जिल्ला समन्वय परिषदका सल्लाहकार काजि गाउँले श्रेष्ठ, आदिबासी जनजाति नेताहरु गणेस थापा, रेशम थापा लगायतले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रम आदिबासी जनजाति जिल्ला समन्वय परिषद बागलुङ्गका अध्यक्ष गुरुङ्गको अध्यक्षता र नेपाल आदिबासी जनजाति पत्रकार सघं फोनिज बागलुङ्ग शाखाका अध्यक्ष संगम घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *