बडीगाडमा ८० प्रतिशत विकास योजनाको सम्झौता, कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ चैत २८ । बडीगाड गाउँपालिकामा झण्डै १६ करोड रुपैयाँका ३ सय १० भन्दा बढी योजनाहरु मध्ये २ सय ३१ भन्दा बढी योजनाको सम्झौता सकिएको छ । ठूला योजनाहरुको सम्झौता सकिसकेको र काम तिव्र गतिमा भैरहेको बडीगाड गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । सम्झौता भएका मध्य एक सय भन्दा वढि योजनाले पेस्की रकम वुझिसकेका छन् भने झण्डै २५ योजनाको फरफारक सकी पूर्ण भुक्तानी भैसकेको छ । झण्डै ३० ओटा योजना काम सकी फरफारकको प्रक्रियामा रहेका छन् । हाल सम्म झण्डै ३ करोड वजेट योजनाहरुले लगिसकेको बडीगाड गाउँपालिकाका लेखापाल जोकलाल घर्तिले जानकारी दिए । योजना सम्झौतामा समस्या भएको भन्दै स्थानियले गुनासो गरेपछि गाउँपालिकाले पालिका भित्रका खर्वाङ, ग्वालीचौर, भिमगिठे र दर्लिङमा पुगी योजनाहरु सम्झौता गरेको थियो ।

उता विषयगत कार्यालय र कार्यालयमा कर्मचारी नहुँदा कामहरु प्रभावित भएका छन्। हाल सम्म शिक्षा, कृषि, स्वास्थ्य र पुननिर्माण प्राधिकरणका शाखाहरु गाउँपालिकामा आए पनि कर्मचारीको व्यवस्था नहुँदा आशा गरेअनुरुप काम हुन नसकेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन । त्यस्तै महिला तथा वालवालिका, सहकारी, पशु लगाएतका कार्यालय अझै गाउँपालिका आएका छैनन्। आउने प्रक्रियामा रहेका भनिएका ती विषयगत कार्यालय नआउँदा लक्षित कार्यक्रमहरु प्रभावित हुने देखिएको छ । गत असारमा आर्थिक वर्ष २०७४÷७५ का लागि वजेट विनियोजन गरिएपनि विषयगत कार्यालय नहुँदा कतिपय योजना उपभोक्ता समिति मार्फत गरिएको छ ।

त्यस्तै बडीगाड गाउँपालिकामा एकै वडा सचिवले ४ ओटा वडा हेर्नुपर्ने वाध्यता रहेको छ। वडा नं. १ र २ का वडा सचिवको सरुवा भएको र वडा नं. ५ का वडा सचिव विदामा वसेपछि वडा नं. ३ का सचिव विर वहादुर थापाले वडा नं. १, २, ३ र ५ को काम गर्नुपरेको छ। भौगोलिक रुपमा विकट ४ ओटा वडाको काम एकै सचिवले गर्दा सर्वसाधरणले सास्ती वेहोर्नुपरेको छ । बडीगाड गाउँपालिकाका १० ओटा वडा कार्यालयमा जम्मा ४ जना सचिवले काम गर्दै आएका छन्। त्यस्तै वडा सचिवले पञ्जीकरणको काम वाहेक अरु काम हाम्रो होइन भनेपछि जनप्रतिनिधिलाई समेत समस्या परेको छ । विभिन्न परिवेशवाट आएका जनप्रतिनिधिलाई वडा सचिवहरुले सकारात्मक रुपमा सहयोग नगर्दा आफूहरुलाई अफ्ठ्यारो परेको वडा अध्यक्षहरुले गुनासो गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *