तोरीपानी गाउँलाई टिमुर गाउँ बनाउने दोभान कृषि सहकारीको प्रतिवद्धता !

म्याग्दी, २०७४ चैत २८ । बेनी नगरपालिका वडा नं. ९ स्थित तोरीपानी गाउँलाई टिमुर उत्पादनको विशेष क्षेत्र बनाउने स्थानीयले प्रतिवद्धता व्यक्त गरेका छन् ।

दोभान कृषि सहकारी संस्था लिमिटेड बेनीले मंगलवार आयोजना गरेको एकदिने सहकारी शिक्षा तालिमका सहभागी कृषकहरुले विगतदेखि नै गर्दै आइरहेको टिमुर खेतीलाई थप व्यवसायिक बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

तोरीपानीमा उत्पादित टिमुर अर्गानिकका साथै गुणस्तरीय हुने भएकाले यसको बजारीकरणका लागि दोभान कृषि सहकारी संस्थामार्फत अगाडि बढ्ने कृषकहरुले बताएका हुन् ।

तालिमले स्थानीय स्रोतलाई बढी भन्दा बढी उपयोगका लागि विषय केन्द्रीत भएर लाग्न प्रेरित गरेको भन्दै सहभागीहरुले टिमुर खेतीलाई विशेष उत्पादनका रुपमा केन्द्रीत गर्ने बताए ।

स्थानीयले वार्षिक ५ लाख भन्दा बढीको टिमुर विक्री गर्दै आइरहेका छन् । अहिले व्यक्तिले आ–आफ्नै तरिकाले प्रशोधन गर्ने व्यापारीहरुलाई टिमुर विक्री गर्दै आइरहेका छन् । अबदेखि सहकारीले लोगो निर्माण गरी सहकारी मार्फत प्रशोधन गरेर विक्री वितरणको व्यवस्था मिलाउने स्थानीय इव गिरीले जानकारी दिए ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय स्तरमा रहेका स्रोतहरको अधिकतम उपयोगका लागि सहकारी संस्थामार्फत एकतावद्ध भई उत्पादन बढाउन, प्रशोधन गर्न र उत्पादकहरुले नै विक्री वितरणको व्यवस्था गर्न आग्रह गर्नु भएको थियो ।

उत्पादकले कम मूल्य पाउने, उपभोक्ताले बढी मूल्य तिर्नु पर्ने र बिचौलियाले बढी नाफा खाने अवस्थाको अन्त्यका लागि तोरीपानीमा उत्पादित टिमुर लगायत अन्नवालीका विउहरु संस्थामार्फत नै विक्री वितरणको व्यवस्था गर्न उनले आग्रह गरे ।

कार्यक्रममा दोभान कृषि सहकारी संस्था बेनीका अध्यक्ष अमृतदेवी बाँनियाले कृषकहरुले उत्पादन गरेका वस्तुहरुलाई संकलन ग री विक्री वितरणको व्यवस्था सहकारीले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा गलेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष तथा टिमुरका विरुवा उत्पादक कृषक गुमानसिंह बाँनिया, समितिका सदस्य शारदा वि.क, मना भण्डारी, ज्ञानबहहादुर वि.क लगायतले सहकारीको तालिमले संगठित रुपमा अगाडि बढ्न प्रेरित गरेको बताएका थिए ।
कार्यक्रम स्थानीय युवा उद्यमी ठहरबहादुर चोखालको अध्यक्षता र अगुवा कृषक इँव गिरीको सञ्चालन र दोभान कृषि सहकारी संस्थाका मुना केसीको स्वागतमा सम्पन्न भएको थियो ।
तोरीपानीका बासिन्दाले टिमुर खेतीका साथै मकै, गहुँ लगायत अन्नवालीको बिउ उत्पादन, तरकारी खेती, दुध उत्पादन लगायत कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *