आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रको रुपान्तरणमा एफएम रेडियोको युगान्तकारी भूमिकाः थापा

काठमाडौं, २०७४ चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रको रुपान्तरणमा एफएम रेडियोको युगान्तकारी भूमिका रहेको बताएका छन् ।

रेडियो ब्रोडकास्टिङ्ग एसोसिएसन अफ नेपाल (बान) को नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा बधाई सहित सफल कार्यकालको शुभकामना दिदै अध्यक्ष थापाले राष्ट्रवादी भावना र सामाजिक चेतनाको अभिबृद्धी सँगै प्रजातान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको संरक्षण सम्बद्र्धनमा एफएम रेडियोको भूमिका र महत्वको प्रशंसा गरे ।

मुलुकको आर्थिक विकास र समृद्धिको निमित्त सञ्चार मैत्री हुनुपर्नेमा उनको जोड थियो । आफू सञ्चार मन्त्री हुँदा एफएम संचालनको निमित्त अनुमती खुल्ला गरेको स्मरण गर्दै अहिले एफएम रेडियोको विकास र विस्तारले आफुलाई खुशिको अनुभुती भएको समेत विचार ब्यक्त गरे ।

दक्षिण एशियामा एफएम रेडियोको क्षेत्रमा नेपाल अग्रणि अबस्थामा रहेको चर्चा गर्दै थापाले एफएम रेडियोलाई थप व्यावसायिक, आत्मनिर्भर, शसक्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

सो अवसरमा राप्रपाले फरक बिचार बोकेको तर संविधान स्वीकार गरेको र संवैधानिक व्यवस्था सँग सहकार्य गर्दै आफ्नो एजेन्डा स्थापित गर्न अघि बड्ने अध्यक्ष थापाले स्पष्ट पारेका थिए ।

बानका अध्यक्ष चन्द्र न्यौपानेले सबैको सहयोगबाट एफएम रेडियोलाई व्यवसायिक र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा राप्रपा उपाध्यक्ष टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भुवन पाठक, सहायक महामन्त्री राजाराम बर्तौला, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतको उपस्थिती थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *