साताको तस्वीर : पाण्डवखानीको सती घाटुनाँच !

शब्द/चित्र : विजय राना,

बागलुङ २०७४ चैत २३ । लोप हुँदै जान थालेको भनिएको सती घाटुनाँच पछिल्लो समय पर्यटकको आकर्षण बन्न थालेको छ । विशेष गरि मगर/गुरुङ समुदायमा नाचिने सती घाटुनाँच गल्कोट नगरपालिकाको पाण्डवखानीमा पर्यटकलाई स्वागत गर्ने नाँचको रुपमा विकास भइरहेको छ ।

पाण्डवखानीमा आन्तरिक पर्यटकहरु आउँदा सती घाटुनाँचलाई विशेष प्राथमिकता दिने गर्छन् । सिङ्गो नेपालको केहि ठाउँहरुमा मात्रै नाँचिने भएका कारण पनि घाटुनाँच प्रति पर्यटक संगै आम मानिसकोे चासो बढेको हो ।

देशका विभिन्न ठाउँबाट पाण्डवखानीमा आउने आन्तरिक पर्यटकहरुले घाटुनाँच र सोरठीनाँच हेर्न निकै लालायित भएको पाईन्छ । घाटुनाँच बारे विशेष जानकार घाटुनाँच संरक्षण समिति पाण्डबखानीका अध्यक्ष गिरीप्रसाद घर्तीका अनुसार पछिल्लो समय घाटुनाँच प्राय: सबैको आकर्षण बन्दै गइरहेको छ । धेरै मानिस सती घाटुनाँच हेर्न आउँछन् घर्ती भन्छन्, गाउँलाई चिनाउने माध्यम पनि सती घाटुनाँच नै बनेको छ ।

आजभोलि पाण्डवखानीमा घुम्न आउने पर्यटकहरुको सती घाटुनाँचव्दारा स्वागत गर्न थालिएको छ भने पर्यटक प्रशन्न हुने माध्यम बनेको छ ।

विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटुनाँच पाण्डबखानीमा मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । वैशाख पूर्णिमाको अघिल्लो दिनदेखि जेठमा घाटु समापन गरिने परम्परा रहि आएको छ ।

सती घाटुनाँच अहिले आवश्यकतानुसार पठक पटक नाँचिन्छ । आन्तरिक पर्यटकहरु सती घाटुनाँच हेर्न चाहन्छन् । पर्यटकहरु आफुलाई अनुकुल हुँदा आउँछन् सती घाटुनाँच हेर्न ईच्छा व्यक्त गर्छन् । त्यस कारण पनि पर्यटकहरुको रुचिकर माध्यम बनिरहेको छ सती घाटुनाँच ।

विशेषतः राजा परशुराम र चम्पावती रानीको बियोगान्तमा आधारित रहेर नाचिन्छ घाटुनाँच । राजा परशुराम ऐरा (शिकार) खेल्न गएको, उनको प्रेम, दुःख, मृत्यु र रानीहरु सती गएको कथावस्तुमा आधारित सती घाटु नाँचका लागि एक कन्या आवश्यक पर्छ । कन्या नाच्नु भन्दा अघि अक्षेतापातिले इँष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरि कन्याको आँखा बन्द भई नचाउने प्रचलन रहेको छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीको नाम जप्ने, देवीहरुको साथमा प्राकृतिक आकाश, धरती र आमालाई साक्षि राख्ने र देवीले पत्याए पछि मात्र घाटुनाँच शुरु गरिने प्रचलन छ । सती घाटुमा नाच्ने कन्याहरुमा देवी चढ्ने भएकाले नाच्ने समयमा बेहोसी अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ ।

सती घाटु वियोगान्त कथामा आधारित नाँच हो । घाटुनाँचमा गरिने कारुणिक अभिनयले वातावरणलाई उराठिलो बनाउछ र गाउने कलाकार दर्शक समेत आँखामा आँशु रसाएको देख्न सकिन्छ ।

घाटुनाँचको लागि यतिनै संख्यामा कलाकार चाहिन्छ भन्ने छैन । यसमा १ जना देखि ३/४ जना सम्म नाच्ने गर्छन । जसमा एकजना राजाको रुपमा र अन्य रानीको रुपमा रहन्छन् । साथमा गाउने, बजाउने पूजा गर्ने समेत समुह हुन्छन् ।

घाटुनाँच एक शास्त्रिय नृत्य हो । घाटुनाँच मगर/गुरुङहरुको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो भने फरक नखाला । कहिले देखि घाटु नाच्न थालियो भन्ने एकिन छैन । तर पाण्डवखानीमा ४/५ सय वर्ष पहिले देखि थालियो भन्ने जनविश्वास छ । खास गरि पाण्डवखानी भन्दा केही माथि भालखानी, कालखानी भन्ने ठाउछ । निगालोको ढोर बालेर खानी खनिएकोले त्यस ठाउँलाई भालखानी, कालखानी भनिन्छ । त्यो ठाउँमा खानी खन्ने क्रममा आज भन्दा ४/५ सय वर्ष अगाडि कामको सिलसिलामा त्यहाँ आउँदा मनोरञ्जनको रुपमा सती घाटु नाच्न थालिएको भनाई छ । त्यति बेला मनोरञ्जनका अन्य केही साधन पनि थिएन मनोरञ्जनको रुपमा नाच्न थालियो । त्यो परम्परा अहिले सम्म रहयो र अहिले त झनै पर्यटकको रुचीको विषय बन्न पुग्यो । घाटुनाँच बागलुङ जिल्लाका मगरबस्ती भएका अन्य भागहरुमा पनि नाचिन्छ ।

* लेखक, पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *