गल्कोटे युवाको दु:खद कथा : टन्न पैसा कमाउन प्रदेशिएका सविन ह्वील चियरमा फर्किए !

बिक्रम सुनार

नेपालबाट दैनिक हजारौँको संख्या नेपाली युवा विदेशीने गर्छन । वैदेशिक रोजगारीका लागि जाने हजारौँ युवाको लाखौँ सपना हुन्छन् । कोही आफ्नो घर परिवारलाई सुख दिन भनेर छोटो समयमा धेरै कमाउने उद्देश्यले सहित विदेशीने गर्छन । कोही आफ्नो दैनिकीलाई सहज बनाउनका निमित्त जाने गर्दछन । तर अहिलेसम्म यो सुनिएको छैन कि जुन इच्छा र चाहाना र सपना बोकेर प्रदेशीएका हुन्छन ती सवैको सपना साकार भयो भनेर । जति सपनाहरु बुनेर जान्छन, ती सपना कहिले मृत अवस्थामा बाकस भित्र कहिल्यै पुरा नहुने गरेर सजिएर आउछ त कहिले जीवन भर हिडडुल सम्म गर्न नसक्ने गरि शारीरिक अशक्त भएर नेपाल फर्कन्छन ।

नेपालका धेरै महिलाले जीवन साथी गुमाएका छन, धेरै आमा–बुवाले छोरा घुमाएका छन, धेरै सन्तानले वुवा घुमाएका छन प्रदेशीएको छोराको कमाई र उ आउने बाटो कुरेर बसेका वुढा बा–आमा जव छोरा बाकस भित्र आउछ, जव हिडडुल नै नगर्ने अवस्थामा आउछ, अनि ती बा–आमाको आखाँमा आशुको बाढी बर्षिन्छ । यो हामी नेपालीको विडम्वना हो ।

यस्तै कहाली लाग्दो घटनाको शिकार बनेका छन बागलुङ, गल्कोट नगरपालिका १ दुदिलाभाटीका २१ वर्षिय सविन कुँवर । उनी वैदेशिक रोजगारीका लागि ३ महिना अघि भिजिट भिजामा युएई अर्थात दुबई गएका थिए । घरका जेठा छोरा, घरको आर्थिक अवस्थामा कमजोर हुनु बुढेसकालमा प्रदेशिएका उनका वावुको कमाईले मात्र दैनिकी सहज हुने अवस्था पनि थिएन । उनले आफ्नो परिवारको आर्थिक सुधार र दैनिकी चलाउनका लागि युएई पुगेका थिए । त्यहाँ पुगेपछि काम खोजीमा भौतारिरहेका थिए । उनी काम खोज्नका लागि दुवैमा बाटो काट्ने क्रममा दुर्भाग्यवंश उनी दुर्घटनामा परे । त्यहाँका स्थानीयको कारले ठक्कर दिँदा गम्भिर घाइते भए । उनको टाउको र खुट्टामा गम्भिर चोट लागेकाले उनी ६ दिनसम्म उनी वेहोस नै भए । ६ दिन पछि उनको होस त आयो त्यति वेला उनी न बोल्न सक्ने अवस्थामा थिए, न त हिडडुल गर्न नै सक्थे ।

रोगगारी कै शिलशिलमा गएका नेपाली दाजुभाई, आफ्नै गाउले साथीभाईको साहारामा उनको उपचार र रेखदेख गरियो । स्थानीय नागरिकले सुरुमा सामान्य खर्च त बेहोरे । तर जेव्राक्रस भन्दा बाहिर बाट बाटो काटेको भन्दै उनले उपचार खर्च नबेहोर्ने भनेर तर्किए । घटना प्रक्रिया र सविनको बारेमा युएईमा रहेका नेपाली दुतावासले जानकारी पाएपछि जनसम्पर्क अधिकारी पिआरओ लाई रसअलेखेमा पठायो ।

पारम्भिक विवरण भएपनि उद्धार हुन सकेन । दुतावासले फेरी त्रितीय सचिव केशवराज पोखरेललाई अस्पताल पठाएर प्रशासनिक काम, उपचार र उद्धार सम्वन्ध्मा प्रक्रिया थालेको थियो । उनको उपचारको लागि नेपाली १९ लाख रुपैया खर्च भईसकेको थियो । सविन र उनको परिवार संग त्यति मोटो रकम हुने कुरा पनि थिएन । भिजिट भिसामा गएको र काम खोज्ने क्रममा भएकाले पनि उनी संग समान्य खर्च समेत थिएन । सामान्य उनको खर्चमा नेपाली युवाको सक्रिय हुन थाले । त्यसपछि भिजिट भिसा पठाउने दलालको खोजी प्रक्रिया अघि बढाए । त्यसपछि दुुतावासले कुटनीतिक प्रयास सुरु ग-यो ।

दुतावसाले युएईको स्वास्थ्य मन्त्रालय मार्फत सविन उद्धारमा सहयोग गरिदनका पत्र समेत पठायो । मन्त्रालय हँदै अस्पतालका निर्देशकलाई सम्वोधन गरेर पठाएको पत्रसंगै अस्पालमा कार्यवहाक राजदुत सागरप्रसाद फुयाँल पनि पुग्नुभयो । मन्त्रालय र अस्पतालका अधिकारी संग कार्यबहाक राजदुत फुयालले आग्रह गरेपछि सविनको उपचार बापत तिर्नुपर्ने झण्डै १९ लाख रुपैया मिनाह गर्न सफल भए ।

गत बुधवार नै अस्पताल, प्रहरी रिर्पोट र सवै कागजपत्र मिलाएर बागलुङका युवाले सविनका लागि टिकट खर्च जुटाए । एयर अरवियाको जहाज मार्फत सविनलाई बुधवार राति नै ह्वील चियरमा राखेर नेपाल पठाए ।

युएईमा रहेका नेपाली दुतावासको पहलमा उनको उद्धार कार्य र उपचार गरिएको हो । घरमा वुवा–आमा स–परिवार सुखमा राख्ने सपना बोकेर प्रदेशिएका सविनको जीवनमा बज्रपात भयो । जाने बेलामा सविनले उनका परिवार संग भनेका थिए –‘अव हाम्रा दुखका दिन गए, मैले टन्न पैसा कमाएर आउछु ।’ सविन अहिले आफै हिडडुल सम्म गर्न नसक्ने अवस्थामा ह्वील चियरमा छन । उनी घरमा जेठा छोरा हुन, उनको एउटा भाई र बहिनी छन । वुवा इमानसिंह कुवंर पनि वैदेशिक रोजगारीका साउदीमा छन । छोराले कमाउला, घर व्यवहार चलाउन भन्ने बेलमा यस्तो अवस्थामा फर्किएको उनका बुवा इमानसिंहले गहभरी आशु लिएर भने । ‘उपचारमा खर्च कति लाग्ने र कहिले ठिक हुने भन्ने यकिन छैन तत्काल उचपारका लागि खर्च जुटाउन पनि मुस्किल छ इमान सिंहले भने ।’

नेपाली दाजुभाईले सक्दो सहयोग गर्न अपिल समेत गरेका छन । कुन छोराको चाहाना हुँदैन आफ्नो वुवा आमा घर परिवारलाई खुशी राख्छु भन्ने । तर मानिसलाई कति वेला कुन परिस्थितिमा पु¥याछन थाहा हुँदैन । जीवन एउटा संयोग हो । जहाँ कहिले कल्पना नगरिएका धेरै कुराको अनुभव गर्न पाइन्छ । त्यस्तै सविनले पनि उनको जीवनमा अकल्पनीय संयोग भोग्न बाध्य भए । अहिले उनको खुट्टा र हड्डीको अपरेशन बाकी छ । यही वुुधवार नेपाल आए लगत्तै उनी काठमाडौंको वि एण्ड वि हस्पिटलमा उपचारार्थ भर्ना भएका छन । घरको आर्थिक अवस्थामा पनि उस्तै छ । मैले कमाएर ल्याउछु भनेको थिए आफै यस्तो अवस्थामा आएको छु आशु झार्दै सविनले भन्छन– ‘पुरै ठिक हुन कति समय लाग्ने थाहा छैन तर हिडडुल गर्न चाहान्छु ।’ नेपाली दाजुभाईले सक्दो सहयोग गरे भने म हिडडुल गर्न सक्ने थिए उनी भन्छन ।

नेपालका खाली नाङगो डाडालाई हरियाली बनाएर उव्जनी तर्फ लैजानु पर्छ । तव मात्र देशको आर्थिक समृद्धि तयार हुनेछ अनि सविन जस्ता लाखौँ नेपाली युवाहरुको सपना साकार हुनेछ ।

लेखक, पत्रकार हुन् ।
काठमाडौँ २०७४ चैत १६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *