प्रास्वाकेन्द्र बुर्तिबाङलाई जिल्ला अस्पतालमा स्तरोन्नती गर्ने स्वास्थ्य राज्यमन्त्री अर्यालको प्रतिवद्धता

प्रशान्त घर्तिमगर, बुर्तिवाङ २०७४ चैत १५ । प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङलाई आगामी आर्थिक बर्षभित्र जिल्ला अस्पतालमा स्तरोन्नती गरिने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले बताएकी छन् । बुधबार प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा निमित्त प्रमुख ऋतुवर्ण पौडेल नेतृत्वको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै राज्य मन्त्री अर्यालले स्तरोन्नतीको लागि मन्त्री परिषदमा पहल गर्ने प्रतिवद्धता जनाएकी हुन् । साथै, उनले पश्चिम बागलुङको स्वास्थ्य समस्या समाधानको लागि आवश्यक पूर्वाधार निर्माण देखि जनशक्ति व्यवस्थापनमा राज्यका सम्बन्धित सवै निकायलाई सचेत गराउनुपर्ने बताईन् ।

बागलुङ जिल्लाबाट राष्ट्रिय तथा प्रतिनीधि सभामा प्रतिनीधित्व गर्ने सांसदहरुको पनि टोलीमा विशेष सहभागीता रहेको थियो । ज्ञापनपत्र टोलीमा सहभागी राष्ट्रिय सभा सदस्य शान्ति अधिकारी, सांसदहरु डा. सूर्य पाठक, देवेन्द्र पौडेल, समानुपातिक सांसद मनकुमारी केसी र ज्ञानकुमारी छन्त्यालले स्वास्थ्य केन्द्रको स्तरोन्नतीको लागि संसदमा आवाज उठाउने बताएका थिए ।

ज्ञापनपत्र बुझाउन साबिक अधिकारीचौर गाविसका व्लिला शेरचन र चेतनारायण सापकोटाले विशेष भूमिका निर्वाह गरेको नि प्रमुख पौडेलले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालमा स्तरोन्नती गर्ने उद्देश्यको साथमा वि.स. २०६४ सालबाट भवन निर्माण सुरु गरी वि.स. २०७१ नै करिब ६ करोडको भवन निर्माण सम्पन्न भएको थियो । जिल्ला अस्पताल बराबरको सेवा सुविधा सहितको भौतिक संरचना बनाइएपनि सरकारबाट आवश्यक दरबन्दी कायम हुन नसक्दा स्वास्थ्य सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा नै सीमित रहेको छ ।

स्वास्थ्य केन्द्रमा १ जना सरकारी र २ जना करारका एमविविएस डाक्टरसहित १२ जनाको दरबन्दी रहेपनि केन्द्रमा अहिले १ जना पनि विशेषज्ञ डाक्टरहरु छैनन् । सरकारी दरबन्दीका डा. सुनिलकुमार जैसवाल, करारका डा. विजय श्रेष्ठ र डा. मिलन मल्ल पनि कार्यालयमा उपस्थित नहुँदा स्वास्थ्य समस्या लिएर आउने सयौँ सर्वसाधारण यत्तिकै फर्कन बाध्य भएका छन् ।

स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्नुपर्ने प्रसुति सेवा (सिईओएनसी) का विशेषज्ञ डा. रञ्जितराज पाठक पनि कार्यालयमा हुनुहुन्न । जसले शल्यक्रिया गर्नुपर्ने प्रसुति सेवा पनि प्रभावित बन्न सक्ने देखिन्छ । लामो समयदेखि अवरुद्ध उक्त सिइओएनसी सेवा गत माघ २३ गतेबाट मात्र पुनः सञ्चालनमा आएको थियो । उक्त सेवाको लागि डा. पाठक करारमा उपस्थित भएपनि पश्चिम बागलुङका सर्वसाधारणहरुलाई लाखौँ खर्च गरेर देशका अन्य अस्पतालमा जानुपर्ने बाध्यता भने हटेको छ ।

अहिले जिल्ला अस्पाताल सरहको स्तारोन्नतीको लागि करिब ८ करोडको लागतमा थप भौतिक संरचनाहरु निर्माण गरिदै छ । जिल्ला अस्पतालमा स्तारोन्नती भए उक्त स्वास्थ्य केन्द्रमा ६ जना विशेषज्ञ सहित ३६ जनाको दरबन्दी कायम हुने स्वास्थ्य केन्द्रका निमित्त प्रमुख ऋतुवर्ण पौडेलले बताए। आगामी आर्थिक बर्षभित्र नै आवश्यक दरबन्दी व्यवस्थापन गरी स्तरोन्नती गर्ने आश्वासन आएको उनले बताए ।

बुर्तिबाङबाटै जिल्ला अस्पताल सरहको स्वास्थ्य सेवा सञ्चालन भएपछि पश्चिम बागलुङका १ नगरपालिका र ३ गाउँपालिकाका स्थानीयहरुलाई लाखौँ खर्च गरेर जिल्ला सदरमुकाम तथा देशका अन्य स्थानहरुमा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *