Menu

आज बागलुङको विशेष दिन, चैतदशैँ : यस्तोछ, कालिका भगवतीको धार्मिक एवं साँस्कृतिक महत्व !

बिदुर खड्का, बागलुङ २०७४ चैत ११ । आज चैत्रशुक्ल अष्टमी बागलुङकी प्रशिद्ध कालिका भगवती मन्दिरमा चैतदशैँ मेला लाग्ने विशेष दिन, विहान सवेरै देखी श्रद्धालु भक्तहरुको मन्दिरमा अपार भीड लागेको छ । कालिका भगवतीको पूजा अर्चनाका निम्ति श्रद्धालुहरु ताँतीमा उभिएर आफ्नो पालोका प्रतिक्षामा उभिएका छन् ।

बागलुङ कालिका भगवती मन्दिरमा लाग्ने चैतदशैँ मेलाको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै गुठी व्यवस्थापन समितिले मन्दिरमा दर्शनार्थीहरुको सुविधालाई विशेष प्रवन्ध मिलाएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताएका छन् ।

आज विशेष गरी भक्तजनहरुले पन्चवलि सहित कालिका देवीको पूजा अराधना गर्ने गर्छन् । कालिका देवीमा विश्वासराखी मनले चिताएको कुरा पुगोस भनेर भाकल गर्ने हजाराँ हजार श्रद्धालुहरु चैतदशैँमा मन्दिरमा आएर देवीको पूजगर्ने प्राचीन परम्परा रहिआएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । कालिका भगवती नेपालमामात्र नभएर छिमेकी मुलुक भारतमा पनि महत्वपूर्ण धार्मिक स्थलकोरुपमा लिईन्छ । धार्मिक आस्था एवं स“स्कृतिको मिलन विन्दुकोरुपमा रहेको कालिका भगवती देवी यस भेगवासीहरूका लागि गौरव एवं स्वाभिमानको प्रतिक बनेकोे छ ।

हिन्दु धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । कालिका भगवती हिन्दुहरुकी प्रमुख शक्ति स्वरुपा हुन् । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गरिन्छ । बागलुङ कालिका भगवती प्रति असीम भक्तिभाव राखेर पाठ पूजा गर्नाले कालिका भगवती प्रसन्न हुन्छिन् र सम्पूर्ण अभिष्ट फलको प्राप्ति हुन्छ भन्ने भक्तहरुको विश्वास रहेको छ । विधिवत पूजा अनुष्ठान नगर्नेहरुकालागिपनि कालिका भगवतीको दर्शन र स्मरण मात्रपनि फलदायी हुन्छ भन्ने विश्वास श्रद्धालु भक्तजनमा रहेको छ ।

बागलुङ कालिका भगवतीको पाउ परेपछि निःसन्तान दम्पतिहरुको सन्तान प्राप्त गर्ने मनोकामना पूर्ण हुन्छ भन्ने अटल विश्वास रहिआएको छ । योग्य सन्ततिको कामनाका साथ नवबिबाहित जोडीहरु कालिका भगवतीको मन्दिरमा आउने गर्छन् । यतिमात्र नभएर उचित र योग्य वर बधु प्राप्तिका लागिपनि भक्तहरु कालिका भगवतीको स्मरण गर्छन् । बागलुङ कालिका भगवतीलाई साक्षी राखेरे बैबाहिक शुभकार्य सम्पन्न गरेमा भावी बैबाहिक जीवन सुखद र फलदायी रहने विश्वासका साथ कालिका भगवतीको मन्दिर परिसरमा बिबाह मण्डप स्थापना गरी शुभ बिबाह कार्य सम्पन्न गर्ने प्रचलनले व्यापकता पाएको छ ।

हिन्दु धर्मग्रन्थहरुमा प्राणीहरुको दुःख कष्ट निवारण गर्न देवी कालिका भगवती निराकार भएरपनि बिभिन्न रुप धारण गर्छिन भन्ने उल्लेख भएको पाईन्छ । यिनको पूजाअर्चना, भक्ति गर्नाले भक्तहरुलाई सबै विपदबाट छुटकारा पाउने शक्ति मिल्दछ भन्ने मान्यता अनुसार आफुमाथि आईपरेको आपत, दुःख र अप्ठ्याराहरुबाट छुटकारा मिलोस तथा भविष्यमा कुनै आपतबिपत आईनलगोस, सबैको कल्याण होस् भनेर श्रद्धालुहरु बागलुङ कालिका भगवतीको स्मरण गर्छन् ।

प्राकृतिक आपत बिपत, रोगव्याध, संभाव्य दुर्घटनाबाट बच्न, तत्काल आईपरेका समस्या र अत्तोगाह्रोबाट पार पाउन, बिदेशी सेनामा रहेका या रोजगारीका लागि मुलुक बाहिर पुगेका आफना सन्ततीहरुको सुस्वास्थ्य एवं सुखद भविष्यका लागि घरपरिवारका सदस्यहरुले कालिका भगवतीको स्मरण गर्दै भाकल गर्छन् र उपयुक्त समयमा कालिका भगवतीको मन्दिरमा आएर भाकल चढाउछन् ।

परदेशमा गएको छोरा छोरीहरुलाई बिमार लागेको सुन्दासाथ यहाँ आमाबाबु घरपरिवारका सदस्यले छिट्टै सन्चो होस भनेर कालिका देवीको नाममा दाम उठाएर उपयुक्त समयमा पूजार्चना गर्दछन् । स्वदेश या विदेशको कुनै भागमा रहेका नेपालीहरुले कुनै समस्या आईपर्दा या कुनै विषयमा सफलता प्राप्तिका लागि कालिका भगवतीको स्मरण गर्दै घरमा आफन्तलाई कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्न र बोका हाँस कुखुरादि बलि दिन खबर पठाउँछन् । कालिका देवीलाई भाकल गरे सबै मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास रहेर नै कालिका भगवतीको नाममा भाकल गरिन्छ । काम फत्ते भएपछि मन्दिरमा पूजा अर्चना बलि दिने गरिन्छ ।

शिक्षा एवं रोजगारी प्राप्तिका लागि मात्र नभएर श्रद्धालुहरु आफना शिशुलाई कालिका देवीको पाउमा राखी शुभ अन्नप्रासन कार्य सम्पन्न गर्ने गर्छन भने शुभउपनयन कार्यपनि कालिका भगवतीको मन्दिरमा गर्ने प्रचलन बढेको छ । अभिभावकहरु आफना शिशुहरुको समयमै बाणि फुटोस भन्ने कामनाका साथ उनिहरुलाई कालिका भगवतीको पाउ पार्छन् ।

विदेशी सेनामा भर्ती हुन, परीक्षामा उत्तीर्ण हुन, मुद्दा झैझगडामा सफलता पाउन, लडाईमा विजय प्राप्त गर्न छोराछोरीको बोलीमा शुद्धताको निम्ति, रोग व्याधीबाट मुक्ति पाउन, जागिर (रोजगारी) पाउनका लागि पदोन्नतिको निम्ति मात्र नभएर अन्य मनोवाञ्छित अभिलाषा पूर्णताको लागि कालिका देवी समक्ष पंचवलि, बोका, परेवा, रागा, कुखुरा, रोट, फुल, फलफूल चढाई पूजा गरिने भाकल गरिन्छ । मंगलवार शनिवार र अष्टमी तिथीमा भाकल पूरा गर्न र देवीको पूजा दर्शन गर्न आउने श्रद्धालुहरूको ठूलो भीड लाग्छ ।

देवीलाई साक्षी राखी वैवाहिक बन्धनमा बा“धिने जोडीहरू र ब्रतबन्ध गर्नेहरू धेरै टाढा–टाढादेखि आउने गर्दछन् । नवजात शिशुलँई देवीको पाउमा राखे शिशुको भविष्य उज्ज्वल हुने विश्वास आमाबाबुले लिएका हुन्छन् । प्रत्येक मंगल र शनिबार अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको प्रत्येक दिन देख्न सकिन्छ ।

शक्ति सन्चय र बिजयश्रीका लागि दुर्गाभवानी कालिका भगवतीको पूजा, अराधना, अनुष्ठान गर्ने प्राचीन परम्परा रहि आएको छ । नेपालका विभिन्न भागहरुमा देव देवीका मठमन्दिरहरुको स्थापना निर्माण गरी शक्ति प्राप्तिका लागि पूजा अर्चना गर्ने पन्चवलि चढाउने गरेको प्रशस्त उदाहरणहरु छन् ।

सत्व, रज र तम तीनै गुणहरु कालिका भगवतीमा सन्निहित छन् । देवी भगवतीले विश्वको सृजन,पालन र संहार गर्छिन भन्ने विश्वास गरिन्छ । पुराणहरुमा देवी दुर्गालाई आदिशक्ति मानिएको छ । देवताहरुको आग्रहमा पार्वतीले कालीको रुप दैत्यहरुको संहारका लागि धारण गरेकी थिईन् अर्थात यिनको उत्पत्ति राक्षसहरुको अन्त्य तथा धर्मको रक्षा र यसको स्थापनार्थ भएको हो भन्ने उल्लेख गरेको पाईन्छ ।

दुर्गाका अनेक रुप छन् । दुर्गा भगवती भगवान शिवकी पत्नी पार्वतीको एक रुप हो । दुर्गा सप्तशतीमा दुर्गालाई जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री र स्वधा गरी ११ नामले बन्दना गरिएको छ ।

शक्ति नभएको शरीर र मनको केहि उपयोगिता रहदैन । शक्तिकै बलमा हामी संसारमा जीवीत छौँ किनकि शक्ति नै ब्रह्माण्डको उर्जा हो । बिना शक्ति कुनै कुरा सम्भव छैन । सिर्जनका लागि शक्ति चाहिन्छ । बेदमा शक्ति बाटनै ब्रह्माण्ड चलायमान रहेको उल्लेख गरिएको छ ।

हिन्दु धर्मको शाक्त सम्प्रदाय कालिका भगवतीलाई विश्वको पराशक्ति एवं सर्वोच्च देवता मान्दछन् । यो सम्प्रदायले कालिका भगवतीलाई ईश्वरकोरुपमा पूज्दछन् । विश्वमा सर्वोच्च शक्ति स्त्रेण हो भन्ने शाक्तहरुकोे मान्यता रहेको छ । हिन्दुधर्मका शैव र वैष्णव दुई प्राचीन सम्प्रदाय मध्य शाक्त सम्प्रदायलाइ शैव सम्प्रदाय अन्तरगत लिईन्छ । वेद, उपनिषद र गीतामा शक्तिलाई प्रकृति भनिएको छ । जहाँ सृजनको शक्ति हुन्छ त्यो प्रकृति हो । त्यसैले प्रत्यक मातालाई प्रकृति भनिएको हो ।

हिन्दु धर्ममा वैष्णव सम्प्रदाय विष्णुलाई परमेश्वर मान्दछन् भने शैव सम्प्रदायले शिवलाई परमेश्वर मान्दछन् । शाक्त सम्प्रदायले देवीलाई परमशक्ति मान्दछन् । तैपनि अधिकाँश हिन्दुहरु स्वयंलाई कुनै एक सम्प्रदायमा बर्गीकृत गर्दैनन् । उनिहरुले परमेश्वरका विभिन्न रुपहरुलाई एकसमान मान्दछन् ।

बागलुङ कालिका भगवती मन्दिरमा साधारणतस् बर्षभरनै श्रद्धालुहरुको घुँईचो लाग्दछ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनमा भक्तहरुको भीड केहि कम देखिएपनि अष्टमी तिथी, मंगलबार र शनिबार कालिका भगवतीको मन्दिरमा पूजा अर्चना गर्ने श्रद्धालुहरु अन्यबार भन्दा बढी हुन्छन् ।

बागलुङ कालिका भगवतीको दर्शन गर्न नेपालका पचहत्तरै जिल्लाहरु र छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु भक्तहरु मन्दिरमा आउछन् ।

कालिका देवी र चैतदशैं मेला

प्रत्यक बर्ष चैत्रशुक्ल अष्ठमी पर्वका अवसरमा कालिका भगवती मन्दिरमा चैते दशैं मेला लाग्छ । यो पश्चिमाञ्चल क्षेत्रमा लाग्ने सबैभन्दा ठूलो र महत्वपूर्ण मेला हो । कालिका देवीको मन्दिरमा लाग्ने चैत दशैं मेला र कर्पुटारमा लाग्ने शिवरात्रि मेलालाई लिएर यस भेगमा गाउने ‘शिवरात्रि कर्पुटार चैतदशैं बागलुङ बजार …’ भन्ने गीतले पनि यो मेला परापूर्वकाल देखी महत्वपूर्ण भएको पुष्टी हुन्छ ।

तत्कालीन अवस्थामा पर्वते राजाहरू चैत दशैंमा कालिका मन्दिर आएर धार्मिक अनुष्ठानादि गर्ने आफ्ना प्रजाहरूका पीरमर्का सुन्ने, बुझ्ने, बन्द व्यापार हेर्ने, जसबाट यी राजाहरूलाई आफ्ना प्रजाहरूको सामिप्य हुने राम्रो अवसर प्राप्त हुन्थ्यो ।

यस चैत दशैं पर्वमा आफ्नो मनोकामना पूराहोस् भनी कालिका देवीको पूजादि गर्न आउनेहरूको भीड एकातिर हुन्छ । केहि समय पहिलेसम्म अब अर्को चैतदशैं मेलामा भेटौंला भनि छुट्टिएका तन्नेरी तरुनी लोकगीतका नया भाकाहरू सहित पुर्निर्मलन हुने मौकापनि यहि थियो । यो मेलामा लोकगीतका नया“ भाका र लय सिर्जन हुन्थ्यो । एक प्रकारले कालिका देवीको मन्दिरमा लाग्ने चैतदशैें मेला केहि बर्ष पहिले सम्म यस क्षेत्रको सा“स्कृतिक उत्सव थियो । चैतदशैं मेलाको धार्मिक, सा“स्कृतिक, आर्थिक र राजनैतिक महत्व थियो भन्नु अत्युक्ति हुदैन ।

दुई दशक पहिले सम्मको चैत दशैं मेला र आजको चैतदशै मेलामा ठुलो भिन्नता रहेको छ । त्यसबखतको चैतदशै मेलाका अवसरमा बांगेचौरमा बिभिन्न खेल प्रतियोगिताहरु सन्चालन गरिन्थ्यो । छेलो, घोंडा दौड लगायतका प्रतियोगिताहरु सन्चालन गरिने प्रचलन हाल अन्त्य भएको छ । गाउघरका ठुलाबडा, गन्य मान्यहरुले घोडा पाल्न छोडिसकेका र सरकारी कार्यालयहरुमा समेत घोंडाको दरबन्दी हटाएपछि यस्को दौड प्रतियोगिता हुन छोडेको छ । छेलो फाल्ने प्रतियोगिता पनि केहि बर्ष देखी आयोजना हुन छोड्यो ।

चैत दशैं मेलाको मुख्य आकर्षणको रुपमा लिईने लोकगीत, दोहोरी गीतहरु गाएको देख्न सुन्न पाईन छोडेको छ । चैतदशैंको मेलामा बागलुङमा भेटौंला भनि छुट्टिएका तन्नेरी तरुनी लोकगीतका नया“ भाकाहरू सहित पुर्निर्मलन हुने चलनपनि अहिले छैन । चैतदशैं मेलामा मादल, डम्फु र बांसुरीको धुन, यानिमायां, सालेजो लगायतका सुरिला भाकाका पुराना दोहोरी गीतहरु गाउने तन्नेरी तरुनीहरुको लर्को चुडिएको छ । चैतदशैमा विभिन्न कुनाकाप्चाबाट बागलुङ झरेर तीन चार दिन सम्म नया पुराना भाकाहरुमा दोहोरी गीत गाउने युगल जोडीहरु अहिले आएर इतिहासका पात्र बनेका छन् । गाउगाउबाट चेलीहरुले सोलीमा बोकेर ल्याएको सेलरोटी, भागो आलुको अचार, ठेकीमा राखेको घरपाला रक्सी तन्नेरीहरुले किनेर खाने चलन लोप भएर गयो । तत्कालीन अवस्थाको स्थानीय सांस्कृतिक संस्कार र परम्परा अहिले आएर छिन्न भिन्न भएको छ ।

चैतदशैं मेला को अर्को नाम हो व्यापार मेला । केहि दशक पहिले सम्म चैत्र शुक्ल सप्तमी र अष्ठमीको दिन कालिका मन्दिरमा मेला लाग्थ्यो, नवमी देखी पृर्णिमा सम्म माथि बजारमा मेला लाग्थ्यो । बासका चित्राहरुले बारेर बनाएका पसलहरु, गाउगाउदेखी आएका युवतीहरुले चित्राले बारेर बनाएका भट्टी पसलहरुले हालको शहीद (लालीगुरांस) चोक जस्लाई तत्कालीन अवस्थामा मेला खेत भनिन्थ्योमा मेला लाग्थ्यो । मेलामा देशका विभिन्न भागहरुबाट मात्र नभएर भारतको नौतनवा, गोरखपुर देखी लत्ताकपडा लिएर व्यापारीहरु आउंथे ।

जनघनत्व बढ्यो, त्यतिबेलाको मेला खेत भनौं या चौरको खेत सबै गगनचुम्बी भवनहरुले भरिभराउ भए, विकासले गति लियो, सडक सन्चार र आधुनिकताले फड्को मा्या,े पुराना कुराहरुलाई नया परिवर्तनले विस्थापित ग्यो । अहिले चैतदशैं मेलाको परिवर्तित रुप बनाईयो ‘महोत्सव π’

चैतदशैं मेलाको मौका छोपेर बागलुङ महोत्सव सन्चालन गर्ने र महोत्सवमा आयातित कलाकारहरुलाई स्टेजमा उतारेर उफार्ने परिपाटीको विकास भएपछि मेलाको परम्परागत प्रचलन लोप हुदै गएका छन् । केहि बर्ष अघिसम्म ६÷७ दिन सम्म लाग्ने चैतदशै मेला आज आएर अष्ठमीको दिनमात्र लाग्ने गर्दछ । स्थानीयरुपमा स्थानीय कच्चा पदार्थ बाट उत्पादित राडीपाखी, काठबाट बनेका ठेकाठेकी, बांस र निगालाबाट उत्पादित सामाग्री डालाडाली नाङ्ला थुन्से, मादल मुरली, फलामबाट बनेका आंसी हंसिया बांउसा, खुकुरी, झांगा, ताप्के ताउलादि सामाग्रीहरुपनि अष्ठमीको दिन कालिका भगवती मन्दिर परिसरमा बिक्री गर्न राखेको देख्न पाईन्छ । परम्परागत प्रचलनलाई महोत्सवका नाममा राखिने स्टलरुपी दोकानले विस्थापित गरेको छ ।

स्थानीय संस्कृतिपे्रमीहरु चैतदशैं मेलाको धार्मिक, सांस्कृतिक, आर्थिक, महत्वलाई परम्परागतरुपमा जोगाई राख्न पहल गर्नुपर्ने बताउदै आएका छन् । मेलालाई मेलाकै रुपमा जगेर्ना गर्न चैतदशैं मेलाको अवसर छोपेर महोत्सव नगरी अन्य समयमा गर्ने गरेमा चैतदशैं मेलाको महत्वलाई जगेर्ना गर्न मद्दत पुग्ने संस्कृतिवीदको तर्क छ ।

बागलुङचौरमा देवीको स्थापना नै चैतदशैं मेलाको शुभारम्भ थियो । बागलुङ कालिका देवी र चैतदशैं मेलाको अन्योन्याश्रित सम्वन्ध रहेको छ ।

* प्रकाशोन्मुख पुस्तकबाट लिईएका केहि अंशहरु

तस्वीर- कुसुम थिङ, ईबागलुङ ।
चैतदशैँ, २०७४ ।
कालिका भगवती मन्दिर, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *