Menu

धौलागिरी एफएमको गला नघोटियोस्, निरन्तर सुन्न पाईयोस !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत ६ । बागलुङको पहिलो बिद्युतीय सन्चार माध्यम धौलागिरी एफएम (रेडियो) को सन्दर्भमा गत चैत १ गते ईबागलुङ डटकम अनलाइनले सम्प्रेषण गरेको धौलागिरी एफएम बिक्रीमा ? शीर्षक समाचारले राम्रै तरंग ल्यायो । नल्याउने कुरा पनि थिएन, किनकि ईबागलुङ मात्र नभएर देश विदेशमा समेत श्रोताहरुवीच लोकप्रिय बनेको धौलागिरी एफएम बिक्री गर्नु पर्ने अवस्था किन कसरी के कसका कारणले आयो ? भन्ने जिज्ञासा शुभचिन्तकहरुमा हुनु अस्वाभाविक थिएन ।

अर्कोतिर ईबागलुङमा धौलागिरी एफएम बिक्रीमा ? समाचार प्रकाशित भएको केहि घण्टा नबित्दै एक जना सन्चालक रामकृष्ण शर्माले यस सम्वाददातालाई फोन गरेर समाचारको श्रोत माग्दै हावादारी समाचार लेख्ने, तुरुन्त हटा भनेर आक्रोश पोखेको अडियो सहितको समाचार बाहिर आएपछी धौलागिरी एफएम प्रकरण थप चासोको विषय बन्न पुग्यो ।

धौलागिरी एफएम बिक्रीमा ? समाचारमा कुनै पूर्वाग्रह छैन । कोहि बिचलित हुनुपर्ने अवस्था पनि छैन । समाचारको आशय एफएम बिक्री गर्नुपर्छ भन्नेपनि होईन । पत्रकारिताको कखरा जानेकालाई पनि थाहा हुन्छ, यसको लागि मास्टर डिग्री होल्डर नै हुनुपर्छ भन्ने केहि छैन ।

धौलागिरी एफएम बिक्रीमा ? समाचारबाट आत्तिनु पर्ने अवस्था किन आयो र यसरी समाचार लेख्ने माथी आक्रोश पोख्न पुगे यसमा चाहिँ कुनै रहस्य पक्कै हुनुपर्छ भन्ने आशंका भने देखियो ।

श्रोतका अनुसार, २०७४ साल माघ २९ गते धौलागिरी एफएमको साधारण सभा स्थानीय पीस प्यालेस होटेलमा भएको थियो । त्यस साधारण सभामा एफएमको अवस्थाका बारेमा समीक्षा भैरहदा सन्चालक समितिका सचिव रामकृष्ण शर्माले एफएम १० लाखमा किन्छु भन्ने प्रस्ताव आएको बताएपछी सन्चालकहरुवीच खुलदुली उठेको एक सन्चालकले ईबागलुङलाई बताए । उनले भने, एफएमको लोगोका लागिनै लाखौँ दिन्छन, यहाँ त जम्मा १० लाखमा बेच्ने कुरा ल्याईयो भन्दै साधारण सभाले एफएमको संपत्तिको मुल्यांकन गर्ने, एफएमलाई धौलागिरी टेलिभिजन वा अन्य संचारमाध्यमसंग मर्ज गर्ने, ईच्छुक शेयर सदस्यहरुले किन्न चाहे दिने वा कसैलाई बिक्री गर्ने आदि विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न शर्माकै संयोजकत्वमा अशोक राजभण्डारी, चन्द्रबहादुर केसी, बिदेश कुमार श्रेष्ठ र मनोज श्रेष्ठ सदस्य रहने गरी पाँच सदस्यीय समिति गठन गरेको थियो । त्यस समितिको एउटा बैठकपनि बसेर छलफल भने नभएको सदस्यहरुले बताएका छन् ।

तत्पश्चात गत फागुन २९ गते शर्माको आव्हानमा केहि सन्चालक सदस्यहरु एफएममा भेला भएका थिए । त्यस भेलामा दुर्गादत्त आचार्य, अशोक श्रेष्ठ, अशोक राजभण्डारी, राम्जीप्रसाद सुवेदी, दयाराम पौडेल, कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठ ८ जनाको उपस्थिति रहेको थियो । त्यहाँपनि संयोजक शर्माले १९ लाखमा पाए किन्ने ‘फलानाको टोली’ आएको जानकारी गराएको उपस्थित सदस्यहरुले बताएका थिए ।

सो छलफलमा एफएमका संस्थापक राजकुमार श्रेष्ठ काठमाडौ भएको अन्य सन्चालक सदस्यहरुपनि उपस्थित नभएकोले अर्को बैठकमा छलफल गर्ने कुरा चल्यो । त्यहिँबाट राजकुमार श्रेष्ठलाई काठमाडौँ फोन गर्दा उनले चैतको ७ गते मात्र फर्कने बताएपछी सोही दिन सन्चालक समितिको बैठक बोलाउने सहमति भएर छलफल टुंगिएको एक सदस्यले ईबागलुङलाई बताए ।

साधारण सभामा १० लाखमा खरीद गर्ने प्रस्ताव आएको उल्लेख गर्नु अनि फागुन २९ गतेको छलफलमा १९ लाखमा किन्ने ‘फलानाको टोली’बाट प्रस्ताब आएको छ भनेर सन्चालकहरुलाई सुनाईरहनुले कसैलाई मुहरा बनाएर करोडको सम्पत्ति कौडीमा किन्ने दाउमा त छैनन शर्मा ? भन्ने आशंका उब्जिएको छ ।

जे होस, धौलागिरी एफएमको गला नघोटियोस् निरन्तर सुन्न पाईयोस । एफएम सन्चालकहरुको भोलि हुने भनिएको बैठकले यसतर्फ बुद्धि पुराउने विश्वास धौलागिरी एफएम प्रेमीहरुको रहेको छ । श्रोताहरुवीच लोकप्रिय बनेको धौलागिरी एफएम धराशायी बनाउन अहम् भूमिका खेल्ने ‘कुटिल’ खेलाडी को हो ?सन्चालकहरुले पहिचान गरी सार्वजनिक गर्नुपर्छ भन्ने श्रोताहरुको माग रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *