Menu

स्थानीय स्रोतको परिचालन बिना समाजको आर्थिक विकास संभव छैन :जि.सी.

बागलुङ, २०७४ चैत ३ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले गाउँको आर्थिक विकासका लागि स्थानीय स्रोतको अधिकतम परिचालनमा जोड दिएका छन् ।

बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा सञ्चालित ग्रामिण विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिवार आयोजना गरेको एक दिने सहकारी सचेतना कार्यक्रममा सहजीकरण गर्दै उनले यस्तो बताएका हुन् ।

स्थानीय स्रोतको परिचालन बिना समाजको आर्थिक विकास संभव छैन र त्यसका लागि सहकारी क्षेत्रको सवलीकरण आवश्यक पर्ने उहाँले बताउनुभयो । सहकारीहरुलाई प्रभावकारी बनाउनका लागि सहकारीमैत्री ऐन नियम र सहकारी प्रवद्र्धनका लागि शिक्षा तालिममा जोड दिनु पर्ने भन्दै उनले शिक्षा र सचेतनाबाट मात्रै समाज आर्थिक तथा सामाजिक रुपमा अगाडि बढ्ने धारणा राखे ।

सहकारीहरुलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको क्षमता विकास गरी उनीहरुलाई खर्च कटौती र आयआर्जन गरी वचत गर्ने बानीको विकास गराउन आवश्यक रहेको बताए । सहकारीका सदस्यहरु जति धेरै सक्रिय हुन्छन्, त्यति नै बढी सहकारीको प्रभावकारिता बढ्ने भन्दै उनले सहकारी संस्थाहरुले सदस्यहरुलाई सक्रिय बनाउने अभियान सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा म्याग्दीको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी तथा डिभिजन सहकारी कार्यालय जुम्लाका पूर्व प्रमुख नारायण चापागाई, नारी आवाज वचत तथा ऋण सहकारी संस्था अमलाचौरका अध्यक्ष चेतकुमारी पौडेल, संस्थाका शिक्षा उपसमितिका संयोजक पशुपति शर्मा लगायतले सहकारी शिक्षा कार्यक्रमले सदस्यहरुलाई सक्रियताका साथ लाग्न प्रेरित गरेको बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष रेशमलाल चापागाईको अध्यक्षता, उपाध्यक्ष भोजराज आचार्यको स्वागत र सचिव निशान वि.कको सञ्चालनमा सम्पन्न भएको थियो ।

संस्थाका सञ्चालक तथा शेयर सदस्यहरु गरी १ सय २० जनाको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, सहकारीमा वचतको महत्व, सहकारीमार्फत गर्न सकिने व्यवसायिक क्रियाकलाप लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

२०६५ सालमा ४० जनाको ४० हजार रुपैया संकलन गरी शुरु भएको संस्थामा हाल २ सय १० जना शेयर सदस्य १२ लाख शेयर रकम र ६५ लाख पूँजी संकलन भएको संस्थाका कोषाध्यक्ष कृष्ण शर्मा पौडेलले जानकारी दिए ।

अमलाचौरका विपन्न वर्गका जनतालाई आर्थिक रुपमा सवल र सक्षम बनाउने लक्ष्यका साथ स्थापित संस्थाले आगामी दिनमा थप प्रभावकारी कार्य सञ्चालनका लागि योजना निर्माण गर्न लागेको कोषाध्यक्ष पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *