मालपोत कार्यालय बुर्तिवाङबाट तीन वर्षमा ५ करोडभन्दा बढी राजश्व संकलन !

प्रशान्त घर्ति मगर, बुर्तिवाङ २०७४ चैत २ । मालपोत कार्यालय, बुर्तिबाङले चालु आर्थिक बर्षको ९ महिनामा करिब ९० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको अहिलेसम्म १ हजार ३ सय ५० लिखत तथा ३५० निवेदन निर्णयबाट उक्त राजश्व संकलन गरेको हो ।

बुर्तिबाङमा कार्यालय पुर्नस्थापना भएको ३ बर्ष पुरा हुँदा करिब रजिष्ट्रेसन लिखततर्फ ६ हजार ५८१ र निवेदन सम्बन्धिको निर्णयतर्फ ११ सयभन्दा धेरैले जग्गा प्रशासन सम्बन्धी सेवा लिएको कार्यलय प्रमुख नारायण घर्तिमगरले जानाकारी दिए । यो तिन बर्षमा सेवाग्राहीबाट मालपोत कार्यालयले रु ५ करोडभन्दा बढी राजश्व संकलन गरेको समेत उनले बताए ।

द्वण्द्वकालीन समयमा सदरमुकाम बागलुङ बजारमा विस्थापित भएको मालपोत कार्यालयलाई वि.स. २०७१ चैत १ गते पुर्नस्थापना गरिएको थियो । मालपोतको पुर्नस्थापना भएपछि पश्चिम बागलुङका स्थानीयहरुलाई जग्गा प्रशासन सम्बन्धीको सामान्य कामकाजको लागि पनि हजारौँ खर्च गरेर जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या हटेर गएको छ ।

अहिले मालपोत कार्यालयबाट जग्गा प्रशासन सम्बन्धिका नामसारी, राजिनामा, अंशबन्डा, अंश भरपाइ, सट्टापट्टा, सगोल नामा, छोडपत्र, माना छुट्टिने, मानो जोडिने, बकस पत्र, धितो बन्धक, संसोधन तथा घर कायम गर्ने लगायतका कामहरु भैरहेको घर्तिले बताए ।

आफुहरुले सकेसम्म चुस्त र दुरुस्त रुपमा मालपोतबाट सेवा प्रवाह गरिरहेको र कुनै कारणवश कर्मचारीको ढिलासुस्तीको कारण सेवाग्राहीलाई थप आर्थिक भार पर्न गएमा त्यो बापतको क्षती पूर्तिको व्यवस्था गर्न नागरिक बडापत्रको समेत व्यवस्था गरिएको उनले बताए । साथै उनले स्थानीय तहमा जनप्रतिनीधि नहुँदा सेवाग्राहीले धेरै नै सास्ती बेहोर्नु परेको स्मरण गर्दै अब भने जनताको काम जनप्रतिनीधि तथा कर्मचारीहरुबाट प्रभावकारी ढङ्गबाट हुने भएकोले निर्धक्क सेवा लिनको लागि सवैलाई आग्रह समेत गरे ।

त्यस्तै, आगामी आर्थिक बर्ष देखि मालपोत कार्यालयले रजिष्ट्रेसन सम्बन्धिका सवै कामलाई अनलाइन तथा कम्प्युटराइज गर्ने योजना अघि सारेको छ । कर्मचारी थोरै भएपनि जनताको सेवालाई चुस्त र दुरुस्त बनाउन अनलाइन सिष्टमबाट हरेक डाटाहरुलाई कम्प्युटरमा लिपिबद्ध गर्ने गरी तयारी थालिएको र त्यसका लागि आफुहरु आन्तरिक छलफलमा लागेको स्पष्ट पारे ।

विहिबार चैत १ गतेकै दिनदेखि मालपोत कार्यालय बुर्तिबाङ पुर्नस्थापना भएको ३ बर्ष पुरा भएको छ । कार्यालयबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीयहरु लाभाम्वित बनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *