गल्कोट समाज युकेव्दारा बाढी पीडित परिवार र क्षेतीग्रस्त विद्यालयलाई राहत वितरण !

राम सुवेदी, बुर्तिवाङ २०७३ माघ २९ । गत साउन महिनामा आएको बाढी पहिरोबाट अति प्रभावित जिल्लाको पश्चिम क्षेत्रका पीडित परिवार तथा सामुदायिक विद्यालयहरुलाई रेडियो परिवर्तन बुर्तिवाङको संयोजनमा गल्कोट समाज युकेव्दारा शुक्रबार राहत वितरण गरिएको छ ।

गत साउन महिनाको १० र ११ गते आएको भीषण वाढी पहिरोबाट ज्यान गुमाएका पीडित परिवारका सदस्य तथा क्षेतीपुगेका सामुदायिक विद्यालयहरुलाई समाजले सहयोग गरेको हो ।

राहत पाउनेहरुमा पहिरोमा पुरिएर ज्यान गुमाएका दर्लिङ गाउँ विकास समिति ३ खहरेका देवी बुढा, यमुना बुढा र सन्दिप बुढाका परिवारका तर्फबाट हर्क बुढालाई राहत हस्तान्तरण गरिएको छ भने दर्लिङ गाविसकै वडा नं. ९ निगालपानी घर भएका ढके पुनको पनि पहिरोमा पुरिएर मृत्यु भएकोमा उनका परिवारका तर्फबाट नातिनी सीता पुनलाई राहत हस्तान्तरण गरिएको छ ।

राजकुत गाउँ विकास समिति वडा नं. ७ का दार्जे लोप्चन तामाङ र टीका लोप्चन तामाङको पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई पनि राहत हस्तान्तरण गरिएको छ ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेका ४ परिवारलाई प्रति परिवार २०/२० हजारका दरले राहत वितरण गरिएको छ ।

यसैगरी पहिरोमा परी क्षेती पुगेका ३ वटा सामुदायिक विद्यालयलाई समेत प्रति विद्यालय ४५/४५ हजार राहत वितरण गरिएको छ । राहत पाउने विद्यालयहरुमा अधिकारीचौर गाउँ विकास समिति वडा नं. ५ स्थित तुला आधारभूत विद्यालय, राजकुतको जनता माध्यमिक विद्यालय र दर्लिङ वडा नं. ४ को शिद्ध माध्यमिक विद्यालयलाई रहेका छन् ।

कार्यक्रममा गल्कोट समाज युकेका सदस्य कँडेलले, आफूहरुले घटना भएको थाहा पाए पश्चात तत्काल समाजको बैठकबसी गलकोट क्षेत्रबाट युके पुगेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोगका लागि अपिल गरेपछि संकलन भएको रकम वितरण गरेको बताए ।

राहत वितरणका लागि यहाँका पीडितहरुको तथ्याँक रेडियो परिवर्तन बुर्तिबाङबाट उपलब्ध भएको र रेडियोका अध्यक्ष तथा स्टेशन म्यानेजरको सहजीकरणमा यहाँका अति पीडित परिवार तथा नाजुक विद्यालयलाई छनौट गरि राहत वितरण गरिएको उनेले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा गल्कोट समाज युकेका सदस्य गोविन्दराज कँडेलको अध्यक्षता, एकीकृत सेवा केन्द्र बुर्तिबाङका नायव सुव्वा लोकबहादुर कुँवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना, उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङका स्रोत व्यत्ति वेदबहादुर बुढा, विद्यालयका प्रधानाध्यापक धनबहादुर कुवँर, रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार लगायत पीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

राहत वितरण टिमका सदस्य तेजेन्द्र बुढाथोकीले कार्यक्रम सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *