ढोरपाटन, नियमित विमान सेवा सन्चालनको पर्खाईमा, जनप्रतिनिधीहरुको ध्यानाकर्षण हुनु जरुरी !

बुर्तिवाङ २०७४ फागुन २४ । गाउँघरमा मोटर गुडाउने अभियान सँगै यतिखेर ठाउँठाउँमा विमानस्थल निर्माण गरी विमान सेवा सन्चालनमा ल्याउने जमर्काहरु हुन थालेका छन् । दुई दशक बढी प्रयोगविहीन रहेको बलेवा विमानस्थल सुचारु गर्ने प्रयास जारी रहेकै बेला बुर्तिवाङ र देवीस्थान सीमानामा रहेको अर्नाकोटमा विमान स्थल को संभ्याव्यता अध्ययन गरिएको छ र प्राविधिकहरुले विमान स्थलको लागी उपयुक्त भनिदिएकाले खुशियाली समेत मनाईएको छ ।

ढोर बराहको मन्दिर
अर्कोतिर विमान सेवा नियमित सन्चालनमा ल्याउन प्रशस्त संमावना रहँदा रहँदै पनि ढोरपाटन विमानस्थलमा नियमित विमान सेवा सन्चालनमा ल्याउने प्रयास हुन बाँकी नै रहेको छ । बलेवा विमान स्थल पछि बागलुङ जिल्लाको ढोरपाटन दोश्रो विमानस्थल हो ।

२०६४ सालमा ढोरपाटनमा तारा एयरको ट्विनवटर विमान अवतरण गरेको अवस्था ।
तिब्बती शरणार्थीहरुको ढोरपाटनमा व्यवस्थापन गरिएपछी ढोरपाटनमा दिनहुँ जसो पिलाटस्पोर्टर विमान अवतरण गर्थे । पछी पिलाटस्पोर्टरको स्थान ट्विनवटर विमानले लियो । ७/८ वर्ष पहिले सम्म ट्विनवटर विमान चार्टर गरेर ढोरपाटन ल्याईन्थ्यो, कहिले शिकारी टोलीले त कहिले पर्यटकहरुले । हाल हेलिकप्टर सम्म आउने गरेको अवस्था छ । ढोरपाटन विमान स्थल (धावनमार्ग)लाई तारबारले सुरक्षित गरिएपछी विमान अवतरण हुन छोडेको स्थानीयको भनाई छ ।

ढोरपाटन स्थित तारबार गरिएको विमानस्थल (धावनमार्ग)।

बलेवाबाट ढोरपाटन विमानसेवा सन्चालन गर्ने विषयमा अध्ययन गरिनु समय सापेक्ष हुनेछ । ढोरपाटनलाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न ढोरपाटनमा विमान सेवा सन्चालनमा ल्याउनु अति जरुरी छ ।

स्थानीय तहको पुनर्संरचना पछी प्राकृतिक सौन्दर्यको भण्डार ढोरपाटनकै नामले नगरपालिका बनेको छ । नयाँ जनप्रतिनिधीहरु निर्वाचित भएर जिम्मेवारी वहन गरेको पनि थुप्रै समय बितिसकेको छ । ढोरपाटन विमान स्थल सन्चालन गर्ने तर्फ जनप्रतिनिधीहरुको ध्यानाकर्ष हुन वा गराउन सकिएको अवस्था छैन ।

रमणीय ढोरपाटन उपत्यका ।
जनप्रतिनिधीहरुलाई गाउँ घरमा लाग्ने मेला, क्लब, विद्यालयहरुका वार्षिकोत्सवहरुको प्रमुख अतिथी बन्नै फुर्सद नभएको अवस्था छ । ढोरपाटन नगरपालिका क्षेत्रका मात्र होईन छिमेकी गाउपालिकाहरुका मेलाहरुमा, क्लब र विद्यालयहरुका वार्षिकोत्सवहरुमा प्रमुख अतिथी बनाउने हानालुछी हुन्छ । यो हानालुछी भित्र लुकेको आयोजकहरुको मनसुवा जनप्रतिनिधीहरुले नबुझेको भने पक्कै छैनन् । विकास निर्माण गर्ने थुप्रै बाचाबन्धन गरेर विजय प्राप्त गरेका आफ्ना प्रतिनिधीहरुलाई गलामा माला भिरादिएर शिर ठाडो गर्नै नहुने गरी बोझ बोकाउन तिर लाग्न हुन्न अब ढोरपाटन नगरवासी । झिना मसिना विषयहरुमा नअल्मल्याई जनप्रतिनिधीहरुलाई ढोरपाटनको बृहत्तर विकासका निम्ति घच्घचाउनु पर्छ । प्रचूर पर्यटकीय संभावना बोकेको ढोरपाटनको विकासबाट नै ढोरपाटन नगरपालिकाको कायापलट हुन्छ भन्ने बास्तविकतासंग को अनभिज्ञ होला ?

चुनावताका जनता समक्ष गरिएको बाचाहरु पूरा गर्न के कति बाँकी छन् ? त्यस्लाई केलाउन अब ढिला गर्न हुन्न भन्ने तथ्यलाई शुभचिन्तकहरुले सुटुक्कै भएपनि जनप्रतिनिधीहरुको कानमा सुनाईदिनु पर्ने समय आईसकेको छ ।

“ढोरपाटनलाई हामी प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय स्थल भन्न छोड्दैनौँ, मुलुककै एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन भन्दै गर्व गर्न बिर्सन्नौँ, पर्यटकीय गन्तव्य ढोरपाटन भनिरहँदा मख्ख पर्छौं, उत्तरगंगाबाट प्रवाहित पवित्र जलस्नान गरेर ढोरबराहको पूजा अराधना गरे मनले चिताएको पुग्छ भनेर शिर ठाडो पार्छाैँ, शिकारको निम्ति आरक्षमा आउने विदेशी शिकारीको ताँती देखेर जिज्ञासु बन्छौँ, प्रशस्त चरीचरण र बुकीले भरिएको ढोरपाटनमा पशुपालन गरेर रमाउछौँ, अति स्वादिष्ट आलुको पकेट क्षेत्र भनेर चिनाउछौँ, …. ”

ढोरपाटनको बखान गरेर हामी थाक्दैनौँ । थाक्ने कुरापनि आउँदैन, किन कि … भूस्वर्ग हो ढोरपाटन । यो भूस्वर्गमा जो पदार्पण गर्छ उ यहाँको स्वादिष्ट आलुको परिकार खाएर मात्र होईन, यहाँको जैविक, प्राकृतिक सौन्दर्यको रसस्वादन गरेर धितमार्न चाहन्छ र लालायित भएर फर्कन्छ ।

जति उफ्रिउफ्रि ढोरपाटनको बखान गछौँ, त्यत्ति आगन्तुक (पाहुना/पर्यटक) हरुको सुरक्षा, सुख, सुविधाका लागि चिन्तित छैनौ । आवासको प्रयाप्त सुविधा छैन, सुरक्षाको प्रत्याभूति जरुरी छ । स्थानीयवासीको बिरोधका वीच नेपाली सेनाको गुल्म ढोरपाटनमा स्थापित भएको छ । यसका सकारात्मक प्रभाव देखिएको छ । ढोरपाटनमा बाह्रै महिना बस्ने गरी ईलाका प्रहरी कार्यालयको स्थापना हुनु जरुरी छ । प्रहरी चौकी, त्यहिपनि जाडो महिनामा बोवाङ गाउमा गर्मी मौसममा ढोरमा बस्ने गर्दा प्रयाप्त सुरक्षाको अनुभूति हुन सकेको छैन ।

केहि वर्ष पहिले तिब्बती गुम्बाका लामाको हत्या भएपछी गुम्बा बन्द छ भने शरणार्थीहरु पलायन हुनेक्रम बढेको छ । तिब्बती शरणार्थीहरु नेपालीहरु संगै घुलमिल गरेर बसिरहेका छन् । गन्तव्य ढोरपाटनमा यिनीहरुको पनि छुट्टै महत्व रहेको छ ।

केहि दशक पहिले सम्म ढोरपाटनमा तिब्बती शरणार्थीहरुव्दारा सन्चालित ढोरपाटन ह्याडिक्राफ्ट सेन्टरबाट उत्पादित गलैँचाहरुको अन्तर्राष्ट्रियक्षेत्रमा समेत माग हुन्थ्यो त्यस्को अहिले अत्तोपत्तो छैन । यसको पुनस्र्थापन गरेर स्थानीयलाई रोजगारी दिन सकिन्छ कि, सोच्नु पर्छ ।

ढोरपाटन ह्याडिक्राफ्ट सेन्टर (गलैँचा कारखाना)का तिब्बती मास्टर मास्टर्नी सँग ।

शिकार आरक्ष र स्थानीयवीच विद्यमान विवादलाई सहि ढंगले सल्ट्याउनु जरुरीछ । यसमा राजनीति घुस्न दिनु हुन्न । युएनओको दुहाई दिएर शिकार आरक्षको कार्यालय नै राख्न नहुने तर्क अघि सारेर स्थानीयवासीलाई उकास्ने काम अब रोकिनु पर्छ । आरक्षका हाकिमहरुलाई तीन महिनामा पाँच पटक घरकाज जाने कार्यालयमा नबस्ने, अनि सुरक्षा छैन भनेर घर बसीबसी तलब पचाउने छुट दिन भएन । शिकार आरक्षको सुरक्षाका लागि सेना नै तैनाथ गरिएपछी आरक्ष हाकिम कर्मचारी कार्यालयमै बस्नु पर्छ ।

ढोरपाटन पुग्ने मन्त्री, नेता, प्रशासक, प्रहरी प्रमुखहरु ढोरबराहको दर्शन र त्यहाँको सुन्दरतालाई एकछिन हेरर फर्कने गरेको देखिन्छ । स्थानीयवासीले उनिहरु केहि दिन बसेर यहाँको अभाव र आवश्यकतालाई बुझेर फर्किए हुन्थ्यो भन्ने चाहन्छन् । सन्चारको महत्वपूर्ण माध्यम मोबाईल सम्पर्क नियमित हुँदैन, स्थानीय बताउछन् । स्याटलाईट सिस्टमले सन्चालन हुने टावर सूर्योदय भएपछी काम नगर्ने र सूर्यास्त भएपछ काम गर्ने गर्छ । नेपाल टेलिकमले समुचित ध्यान दिन नसकेको सेवाग्राहीको मर्कालाई सुनिदिने कस्ले ?

ढोरपाटन पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । यहाँका बुकीहरुमा स्थानियका हजारौँको संख्यामा गाईबस्तु र भेँडाबाख्राहरु चर्छन् । स्थानीय पशुपालक कृषकहरुलाई यहाँ चिज उत्पादन गरेर यस्को व्यापार व्यवसाय बढाउन सल्लाहाको खाँचो छ । २०२२ साल तिर ढोरपाटन उपत्यका देखी केहि मिटर माथी चिज उत्पादन केन्द्रको निर्माण गरिएको थियो । त्यस्को अस्तिपन्जर भेट्टाउन अहिले सम्भव छैन । यहाँका बासिन्दाहरुले पाल्ने हजारौँ भेँडा बाख्राका उनबाट गलैँचा, काम्ला, राडीपाखी आदि व्यवसायिक हिसाबले उत्पादन गर्न स्थानीयवासीलाई उत्प्रेरित गर्नु समयको माग हो ।

नवी खोलामा जलाशय निर्माण गरी विद्युत उत्पादनको तम्तयारी भैरहेको अवस्थामा ढोरपाटनको भविष्य अझै उज्यालो छ, यो निश्चित छ ।

ढोरपाटन (भुजेलढोर) देखी निसेलढोर वीचमा देखिने नवी खोलाले बनाएको ‘बृक्षबाटिका’ ।
ढोरपाटन (भुजेलढोर) देखी निसेलढोर केहि किलो मिटरको दुरीमा रहेको छ । ढोरपाटन पुग्ने पाहुनापासा (पर्यटक)हरुलाई निसेलढोर सम्म लैजाने व्यवस्था मिलाउन सके झन राम्रो । निसेलढोरपनि पर्यटकीय महत्वको रमणीय ठाउँ हो । ढोरपाटन-निसेलढोर भएर रुकुम जिल्ला तक सेरा जाने सडकको रुपमा यसलाई बिस्तार गर्न सकिन्छ कि ?

ढोरपाटनको समयानुकूल विकास गरी यसको कायापलट गर्ने जिम्मेवारी अहिले ढोरपाटन नगरपालिकाको काँधमा छ । आशा गरौँ, यसमा रत्तिभर ढिलाई नगरी जनप्रतिनिधीहरु जुट्ने छन् । ढोरपाटनमा विमानसेवा सन्चालनमा आउने छ ।

ईबागलुङ डेस्क
तस्वीर- किरण आचार्य

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *