बरिष्ठ महिला रोग विशेषज्ञ सहितको टोलीले गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच गर्ने !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन २४ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखाबाट प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको अनुगमन हुने भएको छ । स्वास्थ्य केन्द्रमा सञ्चालित शल्यक्रिया सहितको प्रसुति सेवालाई थप प्रभावकारी बनाउन भन्दै स्वास्थ्य महाशाखाका बरिष्ठ महिला रोग विशेषज्ञ डा. इन्द्र प्रजापतीसहितको टोलीले अनुगमन गर्ने भएको हो ।

डा. प्रजापती सहितको स्वास्थ्यकर्मीहरुबाट भोलि शुक्रबार प्रसुति सेवाको लागि आवश्यक पूर्वाधारको लागि अनुगमन हुने कार्यक्रम रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुनिल जैशवालले जानाकारी दिए । साथै, केन्द्रको अनुगमनसँगै गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच र आवश्यक परेको खण्डमा शल्यक्रिया सहितको प्रसुति सेवा पनि उपलब्ध गराइने डा. जैसवालले जानकारी दिए ।

डा. प्रजापती सहितको टोलीले स्वास्थ्य केन्द्रमा प्रसुति सेवालाई प्रभावकारी बनाउन भौतिक संरचना र जनशक्तिको अनुगमन गर्ने र आवश्यकता अनुसार पूर्वाधार विस्तारको लागि पहल गर्ने कार्यक्रम रहेको बताइएको छ । बागलुङको पश्चिम क्षेत्रमा पनि स्वास्थ्य सेवा विस्तारको लागि केन्द्रबाट भैरहेको प्रयास सह्रानीय भएको डा. जैसवालको भनाई छ । विशेषज्ञ स्वास्थ्यकर्मीबाट प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुने भएकोले यसबाट लाभान्वित हुन सम्पूर्ण महिलाहरुलाई उनले आग्रह गरेका छन् ।

विगत लामो समययता अवरुद्ध शल्यक्रिया सहितको प्रसुति सेवा गत माघ २३ गतेबाट पुनः सञ्चालनमा आएको थियो । शल्यक्रियायुक्त प्रसुति सेवाको लागि १ जना शल्यक्रिया गर्न सक्ने डाक्टर, १ जना शल्यक्रियापूर्व बेहोस बनाउने स्वास्थ्यकर्मी र १ जना अपरेसन कक्षको लागि छुट्टै स्टाफ नर्सको पदपुर्ति भएपछि सेवा सञ्चालनमा आएको उनले बताए ।

सेवा पुनः सञ्चालनमा आएयता १ जना महिलाको सफल सल्यक्रिया सहित प्रसुति सेवा उपलब्ध गराइएको डा. जैसवालले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट साधारण प्रसुति सेवा र जटिल प्रसुति सेवा निरन्तर रुपमा सञ्चालनमा छ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा मासिक रुपमा औसत ३० जनाको सफल डेलिभरी हुने स्वास्थ्य केन्द्रको तथ्याङ्कमा छ । त्यस्तै, दैनिक २०÷२५ जना गर्भवती महिलाले पनि नियमित स्वास्थ्य परिक्षण गर्ने गरेको बताइएको छ ।

सरकारले गर्भावस्थामा ४ पटकसम्म स्वास्थ्य जाँच गराउने महिलालाई ४ सय, स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाको लागि यातायात खर्च १ हजार र शिशुको लागि न्यानो झोलाको व्यवस्था गर्ने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *