आजको तस्वीर : खुँगाको दीपक प्राथमिक विद्यालयले पस्किएको अनुकरणीय उदाहरण !

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन २१ । केहि वर्ष यता विद्यालय होस या कुनै संघ संस्था या अन्य कुनै निकाय ले वार्षिक, रजत, हिरक जयन्ती वा अधिवेशन नै किन नहोस् मनाउनु पर्दा सांगीतिक महोत्सवको रुपमा मनाउने फेशन नै बनेको छ । यस्ता कार्यक्रमहरुमा आयोजकहरुले सम्वन्धित संस्था वा विद्यालयको वार्षिकोत्सवको गरिमालाई भन्दा ख्यातिप्राप्त राष्ट्रिय एवं स्थानीय कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुती रहने कुरालाई विशेष महत्व दिएर वार्षिकोत्सव कार्यक्रमलाई ‘कलाकारहरुको स्टेज शो’ मा रुपान्तरित गर्ने कुरालाई पहिलो प्राथमिकता दिन थालेको आभाष हुन थालेको छ ।
खासगरी शिक्षणसंस्था (बिद्यालय)हरुको वार्षिकोत्सवमा पेड कलाकारहरुको साँगीतिक पस्तुतिले बालबालिकाहरुमा पर्ने प्रभाव र विद्यालयलाई पर्ने आर्थिक भारलाई मध्यनजर गरी आयोजकहरुले विचार पुराउनै पर्ने सन्देश खुँगाको एक प्राथमिक विद्यालयले दिएको छ ।

हालै ढोरपाटन नगरपालिका- ४ खुँगा स्थित दीपक प्राथमिक विद्यालयले आफ्नो ४९ औँ वार्षिकोत्सव मनाएको छ । ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली प्रमुख अतिथी बनेको सो वार्षिकोत्सव कार्यक्रम स्वभाविक, आकर्षक एवं मनोरम थियो । यहाँ न कुनै ख्यातिप्राप्त आयातित राष्ट्रिय वा स्थानीय कलाकारको बेजोड (जो भन्ने गरिन्छ), प्रस्तुति नै देखियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बार्षिकोत्सवमा उपस्थित अतिथी, अभिभावक, शिक्षक, सहपाठीहरु समक्ष नृत्य (साँस्कृतिक कार्यक्रम) गरेर आफुमा रहेको प्रतिभालाई प्रष्फुटित त गरेनै अरुहरुका लागि एक अनुकरणीय उदाहरण पेश गरे । विद्यालयमै अध्ययनरत विद्यार्थीहरुबाट प्रस्तुत साँस्कृतिक कार्यक्रमले मन्चमा माईक्रोफोन समातेर साउण्ड ट्राक बजाएर नाँच्ने उफ्रने दृश्यले भन्दा भरपूर मनोरन्जन दिएको अनुभूति व्यक्त गरिरहेका थिए वार्षिकोत्सवका सहभागीहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *