Menu

देविस्थान स्वास्थ्य चौकी भवन निर्माणमा जालसाँजी, गाउँपालिका मौन, जिल्ला प्रशासन लाचार !

जग्गादाताबाट नि:शुल्क लिईएको लाखौ मुल्यको जग्गामा भवन नबाएर अन्यत्रै बनाउने षडयन्त्र सुरु !

राम सुवेदी, बुर्तिवाङ २०७४ फागुन १९ । निसीखोला गाउँपालिका वडा नं. १ देविस्थान उप स्वास्थ्य चौकी भवन निर्माणका लागि स्वास्थ्यचौकी व्यवस्थापन समिति र स्थानीयको अनुरोधमा त्यहाँका मानबहादुर जोगीले आफ्नो नामको ५ रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा दान दिएको ४ वर्ष पूरा भएर यता आयो ।

मध्यपहाडी लोकमार्गको सडकसँगै सटेको साविक देविस्थान गाविसको पाँच मूरे भन्ने ठाउँमा रहेको मानबहादुरको जग्गा २०७१ साल साउन ३० गते उपस्वास्थ्य चौकी देविस्थानको नाममा मालपोत रजिष्ट्रेशन पास गरिदिएका थिए । निजको कित्ता नं. १२५८ र १२६० गरी दुई कित्ता ५ रोपनी जग्गा त्यस समयको उपस्वास्थ्य चौकी व्यवस्थापन समितिले २५ लाख रुपैयाँ मुल्याँकन पनि ग-यो । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङबाट खटिएको जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठ सहितको प्राविधिक टोलीले उक्त जग्गा उपयुक्त भएको भनिएपछि जग्गा धनीले मालपोतबाट रजिष्ट्रेशन गरिदिएको जग्गधनी मानबहादुरका छोरा लिलाबहादुर कुवँरले बताए ।

मिति २०७४।६।२९ गते जिमबहादुर कार्कीबाट खरीद गरिएको जग्गाको लालपूर्जा ।
जग्गा स्वास्थ्य चौकीका नाममा पास गरिसकेपछि लामोसमयसम्म भवन निर्माणको प्रक्रिया अघि बढेको छ भन्दै तत्कालीन स्वास्थ्यचौकी व्यवस्थापन समिति र प्रशासनले जग्गा दातालाई आस्वाशन दिंदै आएको कुवँरको भनाई छ ।

तर अहिले आएर मानबहादुरबाट निशुल्क प्राप्त ५ रोपनी जग्गामा स्वास्थ्य चौकीको भवन निर्माण नगर्ने षडयन्त्रको सूत्रपात भएको छ । स्थानीय संरचना अनुसार देविस्थान गाविस निसीखोला गाउपालिकामा समावेश गरिएपछी भएको स्थानीय तहको निवार्चनमा नया जनप्रतिनिधी निर्वाचित भै आएपछी स्वास्थ्य चौकी भवन निर्माण सम्वन्धमा छलकपट गरिएको श्रोतको दावी छ । यता जग्गादाता लिलाबहादुरले आफूले दिएको जग्गा रजिष्ट्रेशन गर्ने बखत उपयुक्त भएको भनी रजिष्ट्रेशन पास गरि लिने अहिले गाउँपालिकाकी उपाध्यक्ष शोभाकुमारी कार्की (बुबा जिमबहादुर कार्की) को जग्गा १५ लाखमा खरिद गरेर आफ्नो जग्गालाई अनुपयुक्त भनी वहाना बनाइएको आरोप लगाएका छन् ।

२०७१ सालमा जग्गा धनी मानबहादुर जोगीले देवीस्थान स्वास्थ्यचौकीलाई दिएको जग्गाको कित्ता काटिएको लालपूर्जा र रजिष्ट्रेशन पास गरिदिएको लालपूर्जा ।
जग्गादाता मानबहादुरले दिएको स्थान स्वास्थ्य चौकी भवन निर्माणका लागि अनुपयुक्त भएको प्राविधिक प्रतिवेदन आएपछी स्वास्थ्यचौकी व्यवस्थापन समितिले गाउँपालिकाका उपाध्यक्ष शोभा कार्कीको बाबा जिमबहादुर कार्कीको नाममा रहेको जग्गा गाउँपालिकाको १५ लाख बजेटले जग्गा खरिद गरिएको वडा अध्यक्ष तथा वर्तमान स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ईन्द्र बहादुर मल्लले बताए ।

जग्गा दाताका छोरा लिलाबहादुरका अनुसार फकाई—फूलाई आफूहरुको नाममा रहेको जग्गा बाबा मानबहादुरलाई स्वास्थ्य चौकीका नाममा रजिष्ट्रेशन गराइएको छ । आज बाबाको मृत्युपछि उक्त स्थानमा भवन बनाउनुको सट्टा जालसाजी गर्दै त्यो जग्गा अनुपयुक्त भएको भनी अन्यत्रै जग्गा खरिद गर्नु आफूहरु माथिको अन्याय र जग्गा दाताको अपमान समेत गरिएको दाताको गुनासो छ । यसरी आफूहरुमाथि गरिएको अपमानको न्याय पाउँ भनी प्रशासन तथा गाउँपालिकामा उजुरी गरिएको जग्गा दाताको छोरा लिलाबहादुरले ईबागलुङलाई बताए ।

डिभिजन कार्यालय बागलुङले स्वास्थ्य चौकीको भवन सम्वन्धी लेखेको पत्र ।
जग्गा दाता लिलाबहादुरले यहि २०७४ पौष ९ गते निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्मा समक्ष पहिलो निवेदन दिँदा एकमहिना सम्म अध्यक्ष पौडेलले निवेदन माथि कुनै चासो नदेखाएपछी पुन २०७४ माघ १० गते जिल्ला प्रशासन कार्यालय बागलुङ तथा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङमा दोस्रो निवेदन दिएको जग्गा दाताले बताए ।

जग्गादाताका अनुसार निवेदनमा आफूहरुको शीलालेख समेत रहने गरि तत्कालीन स्वास्थ्य चौकी व्यवस्थापन समितिले निर्णय नै गरि जग्गा पास गर्ने तर आज अनुपयुक्त जग्गा भनी आफूहरुलाई समेत विना कुनै सूचना गाउँपालिकाको वजेटबाट अन्यत्र जग्गा खरिद गरिएको उल्लेख छ । स्वास्थ्य चौकीलाई जग्गा चाहिँदा लिने र त्यही जग्गा देखाएर स्वास्थ्चौकी भवन योजना पर्ने तर निर्माण प्रक्रियामा बहाना खोजिएकोले तत्काल उक्त अनुपयुक्त भनिएको जग्गा आफ्नो नाममा फिर्ता गर्न वा त्यो बराबरको मूल्य दिलाउन माग समेत निवेदनमा गरिएको बताउदै जग्गादाताले यहाँ जालसाजी भएको आरोप लगाएका छन् ।

जग्गाधनी लालबहादुर कुँवरले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष तारानाथ शर्मालाई बुझ्दा, यस अघि समितिले के कसरी जग्गा लियो त्यो कुरा आफूलाई जानाकारी नभएको बताए । उनले भवन निर्माणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङबाट पत्र आएको र उक्त पत्रमा उक्त जग्गामा भवन निर्माण हुन नसक्ने व्यहोरा उल्लेख भए अनुसार वडाले भिन्नै ठाउँमा जग्गा खरिद गरि भवन निर्माणको प्रक्रिया अघि बढाएको बताए । जग्गा दाताको निवेदन आफूसँग आएको भएतापनि विषयवस्तु माथि छलफल नहुँदै पुनः जिल्ला प्रशासनमा समेत निवेदन गरेका कारण छलफल नभएको अध्यक्ष पौडेलको भनाई छ ।

जग्गाधनी लालबहादुर कुँवरले निसीखोला गाउपालिकाका अध्यक्षलाई दिएको निवेदन ।
उता सोही वडाका वडा अध्यक्ष ईन्द्र बहादुर मल्लले उक्त जग्गामा भवन निर्माणका लागि भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्राविधिकहरुलाई आफूले अनुनय विनय गरेको बताए । प्राविधिक हिसावले त्यस जग्गामा भवन नबन्ने अडान रहेको मल्लको भनाई छ ।

मल्लले दान गरिएको जग्गा हालको मध्यपहाडी लोकमार्गसँगको माथिल्लो भाग ३ रोपनी र सडक देखि तल २ रोपनी रहेकोले उक्त स्थानमा भवन निर्माण हुन नसक्ने प्राविधिक भनाई रहेको उल्लेख गर्दै सरकारी भवन निर्माण हुँदा खोलादेखि २० मीटर माथि र मध्य पहाडी लोकमार्ग भन्दा ३० मिटर नजिकमा भवन निर्माण हुन नसक्ने मापदण्ड तोकिएकाले उक्त जग्गा अनुपयुक्त रहेको प्राविधिकको भनाई रहेको वडा अध्यक्ष मल्लको बताए । जग्गा दातालाई उक्त स्थानमा अरु कुनै सरकारी कार्यालय बनाउने भन्दा समेत नमानेको उनले बताए । वडाध्यक्ष मल्लको पछिल्लो भनाईमा केहि षडयन्त्र लुकेको स्थानीयको आशंका छ । जब प्राविधिकले खोलादेखि २० मीटर माथि र मध्य पहाडी लोकमार्ग भन्दा ३० मिटर नजिकमा भवन निर्माण हुन नसक्ने मापदण्ड तोकिएकाले स्वास्थ्य चौकी बन्न नसक्ने भनिसके पछी अर्को कुन सरकारी कार्यालय बनाउन मल्लले भनेका हुन् ? भन्ने प्रश्न गर्दै उनिहरुले दातासंग अनुनय विनय गरेर स्वास्थ्य चौकी भवन बनाउन नि:शुल्क जगा पास गरी लिने अहिले आएर भवन नबन्ने बहाना बनाएर गाउँपालिकाकी उपाध्यक्ष शोभा कार्कीको बुबाको जग्गा खरीद गर्न र स्वास्थ्य चौकी भवन आफ्नो अनुकूल स्थानमा बनाउन षडयन्त्र गरिएको आरोप लगाएका छन् ।

२०७१ सालमा स्वास्थ्य चौकीलाई निशुल्क जग्गा लिँदा गरिएको समितिको निर्णय ।
जग्गा खरिदका विषयमा वडाध्यक्ष मल्लले आफूहरुलाई भवन डिभिजनका प्राविधिकले उक्त स्थानमा भवन नै नबन्ने बताएपछि उधारो जग्गा पास गरिएको बताए । अहिले उक्त स्थानमा प्राविधिक स्टेमेट र वडाको सर्वसम्मत निर्णय अनुसार नै भवन निर्माण प्रक्रिया अघि बढेको उनको भनाई छ ।

वडाध्यक्ष मल्लको यो भनाई बाझिएकोले जग्गादाता समेतले कडा आपत्ती जनाएका छन् । स्वास्थ्य चौकी भवन निर्माण गर्नका लागि जग्गा अनुपयुक्त रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभजन कार्यालय बागलुङका प्रमुख प्रकाश अर्यालले स्वास्थ्य चौकीलाई २०७४ पौष १३ गते पत्र लेखेका छन, जबकि उता स्वास्थ्य चौकीको भवन निर्माणका लागि भन्दै २०७४ असोज २९ गतेनै उपाध्यक्ष कार्कीका बाबुको जग्गा खरिद गरिनुले जग्गा खरीदमा मात्र नभएर जग्गादाताबाट नि:शुल्क लिईएको लाखौँ मुल्यको जग्गा त्यत्तिकै खेर फालेर प्रतिशोधलिने काम भएको धेरैको ठहर छ ।

आफ्ना पिताजी संग स्वास्थ्य चौकी निर्माण गर्न भनि नि:शुल्क लिएको जग्गामा जे बनाउन मागिएको हो त्यहाँ त्यही संरचना बन्नु प-यो भन्ने दाताहरुको माग छ ।

गाउपालिका अध्यक्ष पौडेलले निवेदन त आएको छ, फेरी जिल्ला प्रशासनमा निवेदन दिएपछी निवेदन माथि कुनै कार्वाही नगरिएको भनेर पन्छिने र जिल्ला प्रशासनमा दिएको निवेदनमा प्रमुख जिल्ला अधिकारी कुनै छलफल र कार्बाही अघि बढाउन लाचार देखिएपछी भोलिका दिनमा लाखौँ मुल्यको जग्गा सामाजिक कार्यको लागि कसले निशुल्क दिन मन्जुर गर्ला ? गम्भीर प्रश्न खडा भएको छ, जसको निदान जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *