Menu

गल्कोट नगरपालिका : एउटै कोठाबाट धेरै शाखाको काम गर्नुपर्ने कर्मचारीको बाध्यता !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन १९ । स्थानीय तहमा नयाँ नयाँ अनुहार निर्वाचित भएर आएकाले स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधिहरूको पहिलो कार्यकाल अभ्यास र अनुभवमै बित्ने देखिएको छ । अर्कोतिर स्थानीय निकायकोे आफ्नै कार्यालय भवन नहुनु, भाडामा लिएका भवन घर वा कोठाहरुमा प्रयाप्त भौतिक संरचना नहुनुले कर्मचारीलाई कार्यालय सन्चालनमा थप समस्या झेल्दै आएको अनुभव राष्ट्रसेवकहरुको छ ।

गल्कोट नगरपालिकाको निजी भवन नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ हुने गरेको छ, स्थानीय सरकार गठन भएको १० महिना बितिसकेको छ, तर, नगरपालिकामा भौतिक पूर्वाधार र कर्मचारी अभाव अझै समस्याको विषय बनेको छ, गल्कोट नगरपालिकाका प्रसाशकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले ईबागलुङलाई बताए । एउटै कोठाबाट धेरै काम गर्नुपर्ने बाध्यता छ’, प्रमुख प्रशासकीय अधिकृत सुवेदी भन्छन् ‘जसोतसो काम चलाइरहेका छौं । एउटै कोठाबाट धेरै थरीका सेवा दिँदा कार्यसम्पादन प्रभावकारी हुँदैन ’ पर्याप्त कोठा नहुँदा कर्मचारीलाई दैनिक कामकाज सञ्चालन गर्न हम्मे हुने गरेको छ । स्वास्थ, कृषि र भेटनरी, वास र पुननिर्माण, लेखा र प्रशासन एउटै कोठाबाट सञ्चालन भइरहेको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

सबै विषयगत कार्यालयसहितको सेवा प्रवाह गर्दा न्यूनतम ८ देखि १० वटा कोठा आवश्यक पर्ने देखिएको छ। ‘मासिक ३९ हजार रुपैयाँ घरभाडा बुझाउँछौँ’, सुवेदीले भने, जसमा मेयर तथा उपमेरको सचिवालय कोठा, सभाहल सँगै ८ ओटा कोठा आवश्यक छ । नगरपालिकामा भौतिक पूर्वाधार निर्माण क्षेत्रमा प्राविधिकको काम धेरै संवेदनशील हुने भएकाले कार्यकक्ष अलग अलग हुनुपर्ने प्रमुख अधिकृत सुवेदीको भनाई छ ।

भाडामा लिइएको कार्यालयबाट दैनिक कामकाज सञ्चालन गर्न गाह्रो भइरहेको कर्मचारीको गुनासो छ । निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीलाई सुविधा हुने आशा गरिएको थियो । तर, स्थानीय सरकार सञ्चालन गर्न सकस देखिएपछि सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकिरहेका छैनन्। जनप्रतिनिधिलाई स्थानीय तह व्यवस्थित गर्नमै कार्यकाल बित्ने सम्भावना देखिएको छ । भौतिक रूपमा सबल नहुँदासम्म स्थानीय तहबाट हुने सेवा प्रभावकारी नहुने देखिएको छ ।

त्यस्तै गल्कोट नगरपालिक भित्रका ११ वडा मध्ये ४ ओटा वडा भाडाको घरमा सञ्चालनमा रहेका छन । गल्कोट नगरपालिका १ दुदिलाभाटीले ८ हजार, वडा नम्बर ४ हटियाले ८ हजार, वडा नम्बर ६ हरिचौरले ६ हजार र वडा नम्बर ५ ले ४ हजार दिएर वडा कार्यालय सञ्चालन गरिरहेका छन । भाडाका भरमा सञ्चालित वडा कार्यालय साँघुरो र एउटै कोठामा विभिन्न कागजात स्टोर गर्दा समयमै कागजात नभेटिने र होहल्लाजस्ता समस्या देखिएको गल्कोट नगरपालिका १ दुदिलाभाटीका वडा अध्यक्ष नेत्र बुढाथोकीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *