स्व. थम्मन थापाका परिवारलाई जापानमा संकलित राहत रकम हस्तान्तरण !

वीरबहादुर चोखाल, गल्कोट २०७४ फागुन १७ । रोजगारी तथा अध्ययनका लागि जापानमा रहेका गलकोटेहरुले गलकोट नगरपालिका वडा नं ५ कौलेनीका स्वर्गीय थम्मन बहादुर थापाको परिवारलाई आज एक कार्यक्रमका साथ राहत रकम हस्तान्तरण गरेका छन । गलकोट नगरपालिका वडा नं ५ हरिचौर कौलेनी घर भइ हाल जापानमा कार्यरत देवेन्द्र बहादुर थापा, हिमाल कडेल, पृथ्वी खत्री, छमबहादुर खत्री लगायतको सक्रियतामा संकलित रु ५ लाख ४ हजार ५ सय ४८ रूपैयाँ स्वर्गीय थापाको १३ औँ दिनको दिन आज परिवारलाई हस्तान्तरण गरिएको हो ।

राहत हस्तान्तरण गर्दै प्याराडाइज टुर एण्ड ट्राभल्स बालाजु काठमाडौका सञ्चालक समाजेवी चन्द्रबहादुर खत्रीले स्वर्गीय थापा इमानदार र समाजको सेवक भएको बताए । उनले जापानमा कार्यरत युवाहरुले टुहुरा बालबच्चाको शिक्षा र परिवारको सहाराका लागि प्रशंसनीय कार्य गरेको बताए।

राहत रकम ग्रहण गर्दै स्वर्गीय थापाकी पत्नी अमृता थापाले दुखमा आँसु पुछिदिने र भविष्यको सहारा वनाइदिन सहयोग गर्ने मन र हातहरुप्रति आभार व्यक्त गरिन ।

स्वर्गीय थापाको परिवारको सहयोगार्थ आफूहरुले जापानमा १ हप्ता आर्थिक अभियान सञ्चालन गरेको अभियन्ता हिमाल कडेलले जानकारी दिए । उनले समाजमा दुखमा परेकाहरुलाई विगतमा पनि सहयोग गर्ने गरेको र आगामी दिनमा दुखमा पर्ने अन्य व्यक्तिलाई पनि सहयोग गर्ने बताए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित थापाको ३ वर्षदेखि काठमाडौंको वीर अस्पतालमा उपचार हुँदै आएको थियो । उपचारको लागि काठमाडौ लैजाने क्रममा तनहुको दमौलीमा गत फागुन ५ गते ६० वर्षको उमेरमा निधन भएका स्वर्गीय थापाका २ श्रीमती , २ छोरा र १ छोरी रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *