अन्तराष्ट्रिय महिला दिवसमा कुस्मामा बृहत दशौँ पश्चिमाञ्चल महिला महोत्सवको आयोजना !

बागलुङ, २०७४ फागुन १२ । आउँदो फागुन १६ गते पर्वत सदरमुकाम कुस्मा बजारमा रेडियो दिदीबहिनी बृहत दशौँ पश्चिमाञ्चल महिला महोत्सव हुने भएको छ । सामुदायिक रेडियो दिदीबहिनी पर्वतको आठौँ बार्षिकोत्सवका अवसरमा यो महोत्सव सञ्चालन गरिने आज बागलुङ सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । फागुन २६ गते सम्म सन्चालन हुने महोत्सवको उद्घाटन माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने आयोजकले बताएका छन ।

२०६६ साल फागुन २४ गते एक सयौँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना भएको रेडियोले स्थापनाकाल देखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सव गर्दै आइरहेको छ ।

पत्रकार सम्मेलनमा रेडियोकी अध्यक्ष कल्पना चापागाईले महोत्सवका विषयमा प्रकाश पार्दै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको बताईन् । उनले कला र संस्कृतिको संरक्षण गरी घरेलु बस्तुको प्रबद्र्धन गर्दै १ सय ८ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न राष्ट्रिय, स्थानीय तथा हास्यव्यङ्ग्य कलाकारहरुबाट मनोरञ्जन प्रदान गरिने जानकारी दिईन ।

महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शन हुदैँ आएको महोत्सवमा यस बर्ष दोस्रो साबित्री कञ्चनजंगा दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना हुन थालेको अध्यक्ष चापागाईँको भनाई थियो । सो महिला भलिबल प्रतियोगिताको प्रथम, द्धितिय र तृतीय पुरस्कार क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैँया रहेको कार्यक्रममा जानकारी गराइएको थियो । भलिबल प्रतियोगिता संगै -याली तथा झाँकी, रत्यौली, भजन र विद्यालय स्तरीय नृत्य प्रतियोगिता, टपरी गास्ने प्रतियोगिता, बक्तृत्वकला र शैक्षिक प्रदर्शनी प्रतियोगिताको पनि आयोजना गरिएको छ । खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोगले जनाएको छ । रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।

महोत्सवमा चन्द्र शर्मा, कोमल वली, रामजी खांड, पशुपति शर्मा, पि.एन साप्कोटा, राधिका हमाल, देवी घर्ती ,राजन कार्की, शिव हमाल, कुलेन्द्र बिक, मञ्जु पौडेल, शोभा त्रिपाठी, कस्तुप पन्त, यम क्षेत्री माग्ने बुढा, जितु नेपाल रमेशराज भट्टराई ज्योती मगर, प्रिती आले, बले कक्रोज, राजा राजेन्द्र लगायतका कलाकारको बेजोड प्रस्तुती रहने जनाईएको छ ।

महोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ । सहारासिटी हस्पिटल पोखराको आयोजनामा स्त्रीरोग, पेट तथा मुटुरोग सम्बन्धी शिविर संचालन हुने आयोजकले जनाएको छ । यस्तै नेपालभरी महिलाहरुद्धारा प्रबद्र्धन गरिएका विभिन्न रेडियोहरुमा स्टेशन म्यानेजर पदमा कार्यरत महिलाहरुलाई पनि प्रोत्साहन स्वरुप सम्मान गरिने रेडियोकी अध्यक्ष चापागाईले जानकारी दिईन् ।

महोत्सव सम्पन्न गर्नका लागि करिब ३५ लाख खर्च हुने रेडियो दिदीबहिनीले जनाएको छ ।

पत्रकार सम्मेलन अध्यक्ष चापागाईको अध्यक्षता र कार्यक्रम संयोजक दुर्गा शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषले शुभकामना मन्तव्य दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *