Menu

सलामकोटका मेहनती कृषक खडकबहादुर खत्रीलाई सलाम !

राम सुवेदी, बुर्तिबाङ २०७४ फागुन ११ । ढोरपाटन नगरपालिका वडा नं. २ सलामकोटका मेहनती कृषक खडकबहादुर खत्रीले कृषि कर्मबाटै राम्रो आम्दानी गर्दै आएका छन् । पछिल्लो समय कृषिकर्मलाई युवा पुस्ताले बेवास्ता गरेको अवस्थामा सलामकोटका खत्रीले भने स्वरोजगारको बाटोनै कृषि पद्धतिलाई अंगाल्दै आएका छन् ।

२३ वर्षको उमेरमा देश छाडेर विदेश पुगेका खत्रीले, मलेसिया, दुवई र कतारमा गरि ५ वर्ष हण्डर खाए । विदेशमा पुगेर पनि शीप र जाँगर आवश्यक पर्ने भएपछि, त्यो शीप र जाँगर आफ्नै भूमिका लगाए यही पनि स्वरोजगार हुन सकिन्छ भन्ने आँखा खुलेपछि आफूले घरमै परिवारका साथ कृषि पद्धति अपनाइरहेको उनको भनाई छ ।

आजभन्दा ७ वर्षअघि ५० हजार लगानी गरि विकासे जातको भैंसी किनेर बुर्तिबाङ बजारमा दुध बेच्दै आएका खत्रीले अहिले गोठमा दुईवटा विकासे भैंसी पालेका छन् । दैनिक १५÷१६ माना दुध बेच्दै आएका खत्रीले आफ्ना ग्राहकलाई प्रति मानाको ६० रुपैयाँमा दुध बेच्ने गरेको बताए । दुधको व्यापारबाटै उनले मासिक २६ हजारदेखि २७ हजारसम्म कमाउदै आएका छन् ।

त्यससँगै आफ्नो २ रोपनी वारीमा दुईवटा तरकारी खेतीका लागि टर्नेल बनाएर काउली, बन्दा, सिमी, गोलभेंडा उत्पादन गरि बजारमा बेच्ने गरेको खत्रीको भनाई छ । तरकारी उत्पादनबाट समेत खत्रीले वर्षमा ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको ईबागलुङ लाई बताए ।

उनको कृषि कर्मले, आफ्ना ३ छोराछोरीको पठनपाठन, घरखर्च र आफूलाई चल्ने सबै खर्च कटाएरपनि मासिक १०/१५ हजार बचत गर्न सफल भएको उनी बताउछन् ।

विदेशको हण्डरले सिकाएको पाठ र सिर्जनशीलताले पलाएको जाँगरले खत्री परिवार कृषि कर्मबाटै सन्तुष्ट रहेको छ । विदेशको गल्ली गल्लीमा दुखः पाएका नेपाली युवाको पौरख आफ्नो माटोमा लगाएमा खत्रीको जस्तो परिवारमा खुसी सबैको परिवारमा अवश्य हुनछ नै । खत्रीजस्ता जाँगरिला र अगुवा कृषकबाट अरु कृषकहरुले पनि व्यवसायिक बन्न सुक्नु समयको माग हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *