विपन्न वर्गको आर्थिक तथा सामाजिक अवस्था माथि उठाउन सहकारी उत्तम बिकल्प- सांसद जीसी

सिर्जना पन्त, बागलुङ, २०७४ फागुन ११ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शुक्रवार आयोजना गरेको वधाई, सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा समानुपातिक प्रतिनिधी सभा सदस्य मनकुमारी जिसीले देशको गरिवी निवारणका लागि राज्य र निजी क्षेत्रले सहकारी क्षेत्रसंग समन्वय गर्नु पर्नेमा जोड दिइन् ।

समाजमा रहेका विपन्न वर्गका जनताको आर्थिक तथा सामाजिक अवस्था माथि उठाउनका लागि सहकारी उत्तम विकल्प भए पनि स्रोत र समन्वयको अभावमा यसले पूर्णता पाउन नसकेको उनको भनाइ थियो ।

राज्य र निजी क्षेत्रले गरिवी निवारणका लागि सहकारी क्षेत्रसंग समन्वय गरेर सहकारी क्षेत्रमा रहेको श्रम, शिप र पूँजि परिचालनका लागि विधि, प्रविधि र प्राविधिक क्षेत्रमा सहयोग गर्नु पर्नेमा उनले जोड दिईन् ।

सञ्चार क्षेत्र विकासको साझेदार भए पनि यसलाई संस्थागत गर्नतर्फ धेरैको ध्यान नगएको भन्दै जीसीले सहकारीमार्फत सञ्चारमाध्यमको संस्थागत विकासमा जुट्दा आइपर्ने कठिन मोडहरुको स्मरण गरिन । सञ्चार क्षेत्रको सबलताका लागि सहकारी क्षेत्रलाई थप बलियो बनाउनु पर्नेमा सांसद जिसीको जोड थियो ।

जिसी आदर्श सञ्चार सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् । राजनीतिसंगै सहकारी क्षेत्रमा लागेर केन्द्रीय तहसम्म नेतृत्व गर्न सफल मनकुमारी केसी जिसीले धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीको अध्यक्षका रुपमा काम गरेकी हुन् । उनकै नेतृत्वमा धौलागिरिमा सञ्चार सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालन गर्ने कार्यको शुरुवात भएको थियो ।

कार्यक्रममा वधाई तथा शुभकामना दिदै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीमार्फत समाज रुपान्तरणको अभियानलाई तिब्र बनाउनका लागि राज्यका तीन वटै तहले ध्यान दिनु पर्ने बताएका थिए ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संंस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *