सहीखोलाका अग्निपीडितलाई आमा समूहद्वारा राहत रकम हस्तान्तरण

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन ११ । ढोरपाटन नगरपालिका—५, सहिखोलामा रहेको सहिखोला बजार आमा समूहले अग्निपीडित चन्द्रमणी जैसीको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । आमा समूहले राहत रकम संकलन अभियान सञ्चालन गरी जम्मा गरेको रकम अग्नी पीडित जैसीलाई हस्तान्तरण गरेको हो ।

गत फागुन ७ गते विद्युत सट भएर सहिखोलाका चन्द्रमणी जैसीको घरमा आगलागी हुँदा ३ लाख भन्दा बढीको क्षती पुगेको थियो । स्थानीयहरुको सक्रियतामा आगोलाई नियन्त्रणमा लिएपछि ठूलो क्षती भने हुन पाएको थिएन ।

आमा समूहका सदस्यहरुबाट संकलन गरिएको रकम र अन्य स्थानमा संकलन गरिएको रकम गरी रु ३४ हजार रुपैयाँ अग्नीपीडत परिवारलाई हस्तान्तरण गरिएको सहिखोला बजार आमा समूहकी अध्यक्ष सुनमायाँ घर्तिमगरले बताईन् ।

सहिखोला बजार आमा समूहले स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको उनको भनाई छ । वि.स. २०६४ सालमा स्थानीय महिलाहरु मिलेर गठन गरेको आमा समूहले यसभन्दा अघि पनि दैवी प्रकोपबाट धनजनको क्षती भोग्नुपरेका घरपरिवारलाई पनि राहत वितरण गर्ने गरेको छ । साथै आमा समूहले सहिखोला स्थित शिवालय माविमा उच्च शिक्षा सञ्चालनको लागि १ लाखभन्दा बढी रकम सहयोग गरेको थियो । त्यस्तै, आमा समूहले हरेक शनिबार पालो मिलाएर सहिखोला बजारमा सरसफाई अभियान सञ्चालन गर्ने गरेको समूहकी अध्यक्ष घर्तिले जानकारी दिईन् ।

त्यस्तै, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाले पनि खाद्यान्नका सामाग्रीहरु हस्तान्तरण गरेको छ । संस्थाले पीडित परिवारलाई राहत स्वरुप चामल, नुन, तेल तथा दाल लगायतका खाद्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । यो संस्थाले गत बर्षको साउन महिनामा आएको बाढीबाट क्षती भोग्नुपरेका साविक अधिकारीचौरका बाढीपीडतहरुलाई राहत सामाग्रीहरु वितरण गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *