Menu

दुई वर्षमा सम्पन्न हुनु पर्ने जिल्ला प्रशासन कार्यालयको भवन चारवर्ष देखी अधुरै, को हो यस्को जिम्मेवार ?

बागलुङ २०७४ फागुन १० । जिल्ला प्रशासन कार्यालय बागलुङको नयाँ भवन चार वर्ष देखी निर्माणाधीन अवस्थामा छ । जिल्ला प्रशासन कार्यालयले भने नेपाल रेडक्रस सोसाईटीको भवन भाडामा लिएर सेवा प्रवाह गरिरहेको छ । यो भवन निर्माण सुरु भए यता जिल्लामा पाँच जना प्रमुख जिल्ला अधिकारी फेरबदल भएका छन् ।

२०७० साल फागुन ११ गतेका मितिमा २०७२ साल फागुन ११ गते दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सो भवनको निर्माण गर्न शहरी विकास कार्यालय बागलुङ र जयबाबा गोरख जेबी कन्स्ट्रक्सन बीच सम्झौता भएको शहरी विकास कार्यालय बागलुङले जनाएको छ ।

करीब ३ करोड ८० लाख रुपयाँ लागतको यो निर्माणाधीन कार्यालय भवन सम्झौता अनुसारको मितिमा ठेकेदार कम्पनिले सम्पन्न गर्न नसकेर सम्पर्कविहीन बनेपछी वीचमा २०७४ साल भदौ ८ गते सम्म म्याद थप गरिएको शहरी विकास कार्यालय बागलुङका ईन्जिनियर तेजेन्द्र पौडलले ईबागलुङलाई जानकारी दिए । थपिएको म्याद सकिनु दुई महिना अगावै २०७४ असार महिना देखी ठेकदार सम्पर्कविहीन रहेको ईन्जिनियर पौडेलले बताए । ईन्जिनियर पौडेलका अनुसार ठेकदारलाई हाल सम्म रु १ करोड ६६ लाख २२ हजार रकम भुक्तानी गएको छ ।

भवनको बाहिरी काम करीब करिब सकिएको अवस्थामा छ तर फिनिसिङको काम त्यत्तिकै रहेको छ । भवनका कोठाहरुका झ्याल ढोकाहरु, त्यस्मा रंगरोगन, बिद्युत वाएरिङ, आल्मुनियम फिट आदि काम नगरी ठेकदार बेपत्ता बनेको शहरी विकास कार्यालयको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयको भवन निर्माणाधीन अवस्थामा बिचमै अलपत्र छोडेर ९ महिना देखी ठेकदार सम्पर्कविहीन बन्दापनि सरोकारवाला निकायहरु टुलुटुलु हेरेर बस्नु भित्रको रहस्य पनि केहि छ कि भनि आम नागरिकले टटोल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयकै भवनको यो बेहाल छ भने जिल्लामा सन्चालित अन्य ठेकदारी विकास निर्माणको हाल कस्तो होला ? जिल्लावासीको चासोमा रहेको प्रश्न हो यो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *