Menu

नेपाल एकीकरण हुँदा भूगोल मात्रै एकिकरण भयो, भावना एकीकरण हुन सकेन : सांसद बुढामगर

बागलुङ, २०७४ फागुन २ । प्रदेश सभा सांसद चन्द्र बुढा सागरले सबै जाति र भाषाभाषीको समान विकास र राज्यमा पहुँच स्थापनाका लागि संघीयतामा आवश्यक परेको बताएका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ बागलुङको दोस्रो जिल्ला अधिवेसनको बुधबार यहाँ उद्घाटन गर्दै सागरले नेपाल एकीकरण हुँदा भूगोल मात्रै एकिकरण भएको बताए । ‘नेपाल एकीकरण हुँदा भूगोल मात्रै एकिकरण भयो, भावना एकिकरण हुन सकेन,’ उनले भने, फलस्वरुप यहाँका आदिबासी जनजाति समुदाय पिछडीनु प¥यो । त्यही पिछडीएको वर्गलाई अधिकार सम्पन्न बनाउन र समानुपातिक रुपमा विकास गर्नका लागि संघियता आएको हो ।’

उनले जातिय कुरा गर्दा अर्को जाति विरुद्ध गरिएको हो की भन्ने भ्रम अझै पनि समाजमा रहेको उल्लेख गरे । ‘पछि परेको समुदाय र जातिलाई अगाडी ल्याउने कुरा गर्दा अर्को जातिलाई पछि पार्न खोजिएको हो की भन्ने ढङ्गले व्याख्या गरिन्छ,’ उनले भने,‘जनजातिको आन्दोलन कुनै पनि जाति विशेषका विरुद्ध होईन । राज्यका सबै ठाउँहरुमा सबैको समान सहभागिताका लागि हो भन्ने बुझाउनु जरुरी छ ।’ उनले पछि पारिएको समुदायको अधिकार स्थापित गर्नका लागि पत्रकार र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको भन्दै त्यसमा लाग्न फोनिजलाई आग्रह समेत गरे ।

नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बम गुरुङले पछि परेका समुदायलाइ माथि ल्याउनका लागि आरक्षण आवश्यक रहेका जिकिर गरे । ‘यदि यहाँको सबै समुदायको समान विकास हुने अवसर प्राप्त हुन्थ्यो भने हामीलाई आरक्षण चाहिने थिएन,’ उनले भने,‘आरक्षण भन्ने निश्चीत अवधिका लागि हो यो संधै रहने कुरा होईन । अगाडी पुगिसकेकाहरुसंग संगै जाने वाताबरण बनाउनका लागि पछि परेकालाई तान्नु जरुरी छ ।’ नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले परिवर्तित समयको अपेक्षालाई सम्बोधन गर्नेगरी कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा जनजाति पत्रकार महासंघ बागलुङका सल्लाहकार एवं नेपाल भाषा मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार लालबहादुर थापा पत्रकार कोपिला कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, उपाध्यक्ष विजय रानाको स्वागत र सचिव संगम घर्तीमगरको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ बागलुङको शाखाको भवन निर्माणार्थ सात हजार पाँच रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । फोनिजको संस्थागत पाँच हजार पाँच रुपैयाँ र फोनिजका अध्यक्ष दिल शिरीष, उपाध्यक्ष विजय राना, सचिव संगम घर्तीमगर र सदस्य मनिष थापा मगरबाट जनही पाँच सयका दरले थपेर सात हजार पाँच रुपैयाँ अध्यक्ष दिल शिरीषले महासंघका सचिव राम थापा अविरललाई हस्तान्तरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *