Menu

खेलकुदले मानव शरीरलाई स्वस्थ्य राख्छ र राष्ट्रलाई विश्वमा चिनाउन मद्दत गर्छ- सांसद कँडेल

बागलुङ २०७४ माघ २९ । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आयोजना गरेको प्रथम प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी एवं प्रदेशसभा सदस्य मणिभद्र कँडेलले बिहुँमा प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिता हुनु गौरवको कुरा भएको उल्लेख गर्दै खेलकुदले मानव शरीरलाई स्वस्थ्य राख्नुका साथै राष्ट्रलाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रदेश सभा सांसद कँडेलले भीरालो धरातलीय बिहुँ वर्षातको समय हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने यसबाट स्थानीयवासीले भोग्नु परेको समस्या समाधानका लागि आफु सक्रियता पूर्वक लागि रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका प्रमुख अमर थापाले बिहुँमा खेलकुदका लागि उपयुक्त खेल मैदान नभएको अवस्थामा प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिताले आफुलाई खेलकुदको विकासका लागि लाग्न प्रेरणा मिलेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका निम्ती बिहुँ खेलकुद तथा समाज विकास केन्द्रले ५ हजार ५ रुपैया संघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा ४ नम्बर प्रदेशका ९ जिल्लाबाट २ सय ५० खेलाडी, २२ जना रेफ्रि र १४ जना कोचको सहभागिता रहेको छ । आईतबारदेखि सुरु भएको कार्यक्रम मंगलबार समापन हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेलले गरेका थिए भने स्वागत अध्यक्षता, ५ नं वडाध्यक्ष शिवप्रसाद कँडेल र सन्चालन केन्द्रका सचिव सन्तोस पुनले गरेका थिए ।

तस्वीर सौजन्य : मिनु बिसी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *