साताको तस्बीर : मेरो तमान गाउँ !

शब्द/चित्र : बसन्त सुतपहरे घर्तीमगर, बागलुङ (तमान) २०७४ माघ २८ । नेपालका धेरै सुन्दर तर दुर्गम गाउँहरु मध्ये बागलुङको सुदुर पश्चिम, सदरमुकाम देखि ३२ कोष दुरी र समुन्द्री सतहबाट २००० देखि २७०० मिटर सम्मको उचाईमा अवस्थित तमानखोला गाउँपालिकाको वडा नं ३ मा पर्ने ‘तमान गाउँ’ एक सुन्दर, भुगोल मिलेको, बस्ती मिलेको र मगर समुदायको घना र दलितहरुको पातलो बस्ती रहेको गाउँ हो । यहाँ केहि संख्यामा छन्त्याल जातिको बस्ती पनि रहेको छ ।

समष्टिमा कुरा गर्दा तमान गाउँ भनिएपनि तमान खोलाको वारी र पारी विभाजित रहेको गाउँमा विभिन्न नाम गरेका बस्ती (टोल)हरु छन । छाङ्बोट, तीन घरे, रोका डेरा, भीरकुना, बुढाथोकी डेरा, कामी डेरा आदि प्रमुख टोल (डेरा) हुन् । मगर(घर्ती, बुढा, रोका, सिउठानी, बुढाथोकी) र दलितहरुको मात्र बस्तीरहेको तमान गाउँमा यी दुई जातको आ-आफ्नै छुट्टाछुट्टै सस्कार र परम्परा छन् ।

तमान घुमेर फर्कनेहरुले यहाँको प्राकृतिक सौन्दर्यलाई जति हेरेपनि धित मर्दैन भन्ने गर्छन । सडक (मोटर बाटो)ले छोएपछी त तमानको दृश्यावलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकहरु संख्या ह्वात्तै बढेको छ । यहाँको सुन्दरवस्ती, भेषभूषा, रहनसहन, परम्परा र चलनचल्तीमा रहेका सँस्कार एवं मान्यताहरुपनि नवागन्तुक पाहुनालाई निकै लोभ्याएको छ ।

सिद्धभीर, धुरीमा पूजा गर्दै र सरस्वतीको मन्दिर ।

यहाँका स्थानीयवासीले भीर, पहरालाई देउताको रुपमा पूज्ने प्रचलन अन्वेषण योग्य रहेको छ । अग्ला अग्ला पहरा (पहाड), भीरहरु यहाँका पूज्य स्थान हुन् । यस गाउँमा पुरै गाउलेनै दशकौ पहिले देखि नै मान्दै आएको सिद्ध भीर, ठुलो र अग्लो भीर (पहाड), बराह थान (ठुलो रुख), भुमे (भुमी वा जमिन) थान, देवी थान र सरस्वती मन्दिर (कला र सस्कृतिकी देवी) जस्ता प्रकृतिमै भएका प्राकृतिक स्थलहरु छन । जुन ठाउँहरुमा गाउँलेहरु मिलेर हरेक बर्ष पूजा आजा गरि पुज्ने र मान्ने चलन छ । साथै ती सबै ठाउँहरुलाई पूजा नगरे गाउँलाई नै ठूलो क्षति हुने विश्वाश छ र नगरेको सालमा नराम्रो भएको पनि बुदापाकाहरुले सुनाउछन ।

यहाँका घर्तीमगरहरुले जन्म मृत्यु सँस्कारमा धुपीको धुप हाल्न हुँदैन । भूतकेस भनिने झारको धुप हालेर पूजा गर्नु पर्छ ।

यहाँको प्रचलनमा रहेका केहि सँस्कारहरुको कुरा गर्दा रोचक प्रसंगहरु भेटिन्छन । यहाँका बुढा मगरहरुको कुल पूजा गर्दा पहिले गोरु काटेर सबैलाई खुवाउने चलन थियो भनिन्छ । तर राज्यले गाईलाई राष्ट्रिय जनावर घोषणा गरेपछी र गाईको हत्या गर्नेलाई कारवाही हुने भएपछि त्यो चलन बन्द भएको रहेछ । त्यस पछाडी त्यो गोरु काटने चलनलाई परिवर्तन गरि हाल आएर गोरुको ठाउँमा गहुको पिठोको गोरु बनाएर त्यसमा गोरुको एउटा मात्र भएपनी रौ राखि त्यसलाई नै गोरु मानी काटेर खाने चलन बसेको बुढापाकाहरु बताउछन् ।

गाउँमा कोहि मर्दा/पर्दा गाउँनै मिलेर सहयोग गर्ने चलन पहिले देखि कै हो । कोहि मरे प्रत्येक घरधुरीले एकरएक भारी दाउरा लगिदिने, खाजा लगिदिने, क्रियाको दिन सरियोको रुपमा पैसा वा चामलर रक्सी हालेर सहयोग गर्ने, छोरी र ज्वाईहरु मिलेर क्रियाको दिन काममा सहयोग गर्ने चलन मगर समुदायमा छ । क्रियाका दिन बुढाथोकी मगरहरुले बाहेक अन्य सबै मगरहरुले अनिवार्य राँगो काटने चलन छ । तर विवाह र अन्य सँस्कारमा भने आफ्नो खुसीको कुरा हुन्छ । साथै विवाह, चुडाकर्म, पास्नी (अन्नप्राशन) लागायतका अन्य सँस्कारहरुमा पनि छोरी ज्वाइँ मिलेर काम सघाउने र गाउँका सबैले सरियो (पैसा/रक्सी) हाली एक अर्कोलाई सहयोग गर्ने चलन हाल पनि छ ।

बिबाहपछी माईती आएका छोरी जवार्इँलाई टीकोटालो गर्दै बाबु/आमा ।
सामान्यतया यहाँका मगरजातीका युवा/युवती बीच मागी बिबाह (Arranged Marriage)को प्रचलन छैन । भागी बिबाह गर्ने परम्परागत प्रचलन कायम छ । केहि वर्ष पहिले सम्म मन पराएकी केटीलाई हातहालेर समातेर लगेर बिबाह गर्ने प्रचलनमा कमी आएको छ । एक डेढ दशक पहिले सम्म केटीको मन्जुरी बिनानै समातेर घिसार्दै लैजाने चलन भएको स्थानीयको अनुभव छ । तर अहिले त्यो प्रथा निकै घटेको छ । केटा र केटीका अभिभावक वीच बिबाहको कुराको छिनोफानो गर्ने यहाँ चलन नै छैन । दुई जना केटा केटीवीच मन मिलेपछी केटीलाई भगाएर लैजाने गरिन्छ । खासगरी यसरी प्रेम (भागी)बिबाह गर्दा मामा चेलो र फुपू चेली बीच नै हुने गर्छ । केहि पहिले सम्म यहि गाउँ भित्रका युवा युवती वीचमा नै भागी बिबाह हुने प्रचलन थियो तर पछिल्लो समय सन्चारको विकासले (मोबाईल फोन सम्पर्क) गर्दा अन्य गाउँहरुका युवा युवतीबीच फाटफुट भागी बिबाह हुने गरेको छ ।

यसरी केटी भगाएर लगेपछी त्यस्को तीन दिनमा यसबारे केटापक्षबाट माईती पक्षलाई सोधनी/भत्केरु पठाएर जानकारी दिईन्छ । बल्ल दुबै पक्षवीच सरसल्लाह भएबमोजिभ बिबाहको प्रवन्ध मिलाईन्छ । सहमति भए केहि दिन मै र नभए केहि वर्ष पछी बिबाह गरिन्छ । कसैले बालबच्चा जन्मिसकेपछी बिबाह गर्ने अर्थात माईतीपक्षले भित्राउने प्रचलन रहेको छ ।

बेहुला पक्षले राँगो, साठी (चामलको ठुलो रोटी) सेल रोटी, रक्सी आदि पाहुर लिएर माईतीमा आउछन् । माईती पक्षले त्यसलाई आफना दाजुभाई नालनाता सबैलाई बिलो लगाएर बाँडिन्छ । मावलीलाई राँगाको फिलो दिने चलन छ ।

माईतीले छोरी जवाईँलाई पाहुर बापत दाजुभाईले उठाएर दिएको दक्षिणा ।

छोरी जवाईँलाई नौमती बाजा बजाएर भित्राउने चलन छ । सबभन्दा पहिले बाबु/आमा (जोडीे)ले छोरी र जवाईँलाई टीका लगाई स्वागत गर्छन । बाबु वा आमा एकजना नभए उनिहरुले टीका लगाई दिँदैनन् । त्यस पछी घरपरिवारका अन्य सदस्यहरुले साईनो सोझाउन वा चिनजान गराउन टीका लगाई दिने गरिन्छ ।

बिबाह पछी माईती आएका छोरी जवाईँ नृत्य गर्दै ।
छोरी जवाईँले ल्याएको पाहुरको रकम भागखाने दाजुभाईहरुबाट उठाई ठुलो नाङ्लोमा सिँगारेर राखेर दिईन्छ । छोरीले आमालाई दुधको भारा अलग दिनु पर्छ । फुपू मावलपनि सौगात दिनुपर्ने प्रचलन रहेको छ । यदि भागी जाने छोरी भन्दा बिबाह नगरेका जेठो दाजु वा दिदी भए उनिहरुलाई पनि केहि दिएर क्षमा माग्नु पर्छ । भित्राउने प्रक्रिया सम्पन्न भएपछी छोरी जवाईँ बाहिर आएर सबैका सामु नाँच्नु पर्ने चलन छ ।

नेपाल बाटै हराई सकेको मुखिया प्रथा यहाँ कायमै छ । जसलाई हाल गाउँमा थिती समिती भनेर भनिन्छ । दुई चार बर्ष अगाडि सम्म उक्त समितिको प्रमुख व्यक्तिलाई मुख्ये भनिन्थ्यो तर अहिले थिती समिती अध्यक्ष भनिन्छ । यो समितिले गाउँको थिती बन्देजका बारेमा निर्णय गर्छ ।

तमानमा जौँ बाली काट्दै स्थानीय किसान ।
यहाँ मकै, जौ, गहुँ, आलु, सिमी, फापर, केराउ लगायतका बालीनाली र केही कृषकहरुले टनेल खेतीबाट गोलभेडा, खुर्सानी, बन्दागोबी र फुलगोबी लगायतका तरकारीहरु उत्पादन गर्दछन । बिभिन्न थरीका अन्न्नबालीका साथै फलफुल उत्पादन गरेतापनी यहाँको खेती निर्वाहमुखी र परम्परागत नै छ ।

तमानको एक बालक ।
तमान गाउँ माथी लाम्मेला भन्ने गाउँ रहेको छ । यहि लाम्मेला भएर सोलेको धुरी हुँदै स्थानीयवासी मोटरबाटोबाट म्याग्दीको दर्बाङ, वेनी हुँदै बागलुङ, पोखरा र काठमाडौँ तर्फ जाने पनि गर्छन भने कोहि बुर्तिवाङ भएर गन्तव्यमा पुग्ने गर्छन् ।

तमान गाउँवासीले खानेपानीको धारो । यो खानेपानी बाह्रै महिना अबिरल झरी रहन्छ ।

छेलोलाई डोलामा हाले बाजा सहित खेलमैदानमा लैजाने प्रचलन तमानमा रहेको छ ।

यहाँका धेरै मानिसहरुले आफुलाई हिन्दु धर्मालम्वी भनेतापनी यहाँका जनताहरु वास्तविक रुपमा प्रकृति पूजक हुन । यस गाउँमा गाउलेले दशैँ र तिहार पहिले देखि नै मान्दै आएका छन् । मगर समुदायले दशैँमा रातो निलो टीका नलगाएर सेतो रंगको टीका लगाउने प्रचलन रहेको छ ।

यहाँका अधिकाश युवाहरू जिविकोपार्जनका लागि बिदेशिएका छन् । गाउँमा बुढापाका र महिला तथा बालबालिकाहरु र थोरै मात्र युवाहरु छन् । यसो हेर्दा गाउँ रेमिट्यान्सको भरमा नै चलेको छ भने फरक खान्न ।

तमान स्वास्थ्य चौकी ।
बिकासकै कुरा गर्दा ग्रामिण उर्जा प्रयोग गरी २०५६ सालमा नै बिजुली बत्ती बाल्ने जिल्लामै पहिलो गाविस हो तमान ।

धन गौ ज्योति मावि, तमान ।
सडक र सन्चारको सुविधाले पनि केही बर्ष पहिले देखि गाउँलेहरुको जीवन शैलीमा सहजता थपी दिएको छ । हाल यस गाउँ (साविकको तमान गाविस) मा धन गौ ज्योति मावि, सरस्वती आधारभूत विद्यालय, हिले र किरी प्रावि तथा एक हिलसाईड बोर्डिङ स्कुल रहेका छन् । तमानमा एक इलाका स्वास्थ्य चौकी रहेको छ ।

तमानका स्थानीय उद्यमीले बाँसको चुयाँबाट बुनेको डालीहरु ।
तमानको गोदरीमा कादुरी नामको बेलायती संस्थाको सहयोगमा गुड्ने झोलुंग पुल निर्माण भएको छ । संस्थाले बेला बेलामा यस पुलको मर्मत संभार गर्दै पनि आएको छ । कादुरी संस्थाले ताम्मेलामा खानेपानी धारा, ठाउँठाउँमा झोलुंगे पुलहरु निर्माण गरिदिएको पनि छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *