Menu

गल्कोट- ३ हटियामा रहेको प्रकृतिको अनुपम उपहार ‘सहश्रधारा झरना’को पूर्वाधार विकासका काम सुरु !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ २७ । गल्कोटको सहस्त्रधारा झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान नदिँदा गल्कोट नगरपालिका ३ हटियाको बोहोराफाँट र स्यालाको सीमानामा रहेको सहस्त्र धारा (झरना) ओझेलमा परेको हो । यस रमणीय झरना बारे धेरैलाई जानकारी नहुनु नै गल्कोट क्षेत्रको दुर्भाग्य भएको झरना आसपासका स्थानीयले बताएका छन् । उनिहरुले धेरैबेर बस्ने हो भने झरनाबाट फरक–फरक आवाज सुनिने गरेको पनि बताए ।

पहाडको कापबाट अटुट रूपमा सङ्लो पानी झरिरहने निकै चित्ताकर्षक छ । उक्त झरनामा चट्टानभित्रबाट पानी खसेको देख्न सकिन्छ । यस प्रकृतिको अनुपम उपहारलाई व्यापक प्रचार प्रसार गरेर पर्यटकहरुलाई आकर्षित गर्न सके गल्कोटको मात्र नभएर बागलुङ जिल्लाकै पर्यटन उद्योगलाई सहयोग पुग्ने गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजंग भण्डारीले ईबागलुङलाई बताए ।

करिब २ सय मिटर अग्लो चट्टानी कापबाट पानी तीव्र गतिमा तल झरेको छ । यद्यपि आधिकारिक रूपमा यसको उचाई मापन गरिएको छैन । तलबाट हेर्दा आकासबाटै पानी झरेजस्तो देखिने यो प्राकृतिक झरनालाई प्रचार प्रचार गर्न आवश्यक ठानेर गल्कोट नगरपालिकाले यस झरनाको पूर्वाधार विकासका लागि रु ७ लाख बजेट विनियोजन गरेको जानकारी दिँदै वडाध्यक्ष भण्डारीले क्यानोइङ्ग खेल र पदमार्ग निर्माणको लागि संम्भाब्यता अध्ययन सम्पन्न भएको बताए ।

वरपर खासै बस्ती नभएका कारण पनि झरना ओझेलमा परेको गल्कोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजङ भण्डारीले ईबागलृङलाई बताए ।

झरना नजिकै बोहोराफाँट र स्याला गाउँ छ । त्यहाँका स्थानियले यस झरनालाई शक्तिको प्रतिक मान्ने गरेका छन् । झरनाको फेदीमा झाँक्रीको पूजा गरिन्छ । उक्त ठाउँमा आसपास गाउँका मानिस गएर पूजा गर्छन् । मन्दिर नजिकै पौवा निर्माण गरिएको छ । झरनाको पानी बगेर दरमखोलामा मिसिन्छ । छिमेकी गाउँ बोहोराफाँट, स्याला सँगै अन्य ठाउँबाट पनि झरनाको अवलोकन गर्न सकिन्छ ।
गल्कोटको हटिया बजारबाट झरनास्थल पुग्न पैदल ४५ मिनेट लाग्छ । स्थानीयस्तरबाटै झरनालाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गरिनुपर्ने माग उठेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय र धार्मिक महत्व बोकेको झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिने वडा अध्यक्ष भण्डारील विश्वास छ । उनले झरना सम्म पुग्नका लागी तत्काल पदमार्ग निर्माण गर्ने जानकारी दिए ।
गल्कोट नगरपालिकाको समृद्धि झरनाले गराउने हुँदा गुरुयोजना बनाएर तत्काल काम सुरु गर्नुपर्ने वडा अध्यक्ष भण्डारीको भनाई छ ।

उनले उक्त झरनामा १ लाखको लागतमा क्यानबिइनिङ खेलका लागि सर्बे गरिने बताए । जैविक विविधताले भरिपूर्ण यस स्थानबाट विविध प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने वडा सदस्य झहर बहादुर खत्रीको भनाई छ ।

झरना वरिपरी बिभिन्न प्रजातिका रुखबिरुवा रहेका छन । झरनाको बरपर अग्ला अग्ला भीर भएका कारण उक्त ठाउँमा पर्यटनको सम्भावना प्रवल रहेको स्थानिय रबिन बोहोराले ईबागलृङलाई बताए । झरनासम्म जाने बाटोको स्तरोन्नति नहुँदा र झरनाको महत्वका बारेमा व्यापक प्रचारप्रसार नहुनुले कम भएको बोहोराको भनाई छ ।

पदमार्ग सँगै त्यस क्षेत्रमा सुविधा सम्पन्न होटल, ठाउँ ठाउँमा चौतारा, सूचना केन्द्र होडिङ बोर्ड स्थापना गर्न जरुरी छ । झरनाको बायाँ भागमा रहेको चट्टानबाट करिब २ सय भन्दा बढी धारा झरनाहरु निरन्तर रुपमा झर्ने गरेको छ । बर्ष भरि निरन्तर रुपमा झरनामा पानि बग्ने गरेका कारण झरनामा पर्यटनको आकर्षण बढ्ने स्थानियले अनुमान गरेका छन ।

यसैवीच वडाध्यक्ष भण्डारीले सोही वडाको दाउन्नेमा पिकनिक स्पट वनभोज स्थल निर्माण कार्य सुरु गरिसकिएको पनि जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *