साताको तस्वीर : बुर्तिवाङको खुकुरी !


मनबहादुर विक भान्जालाई अगाडी राखी खुकुरी ठडाएर देखाउदै ।

बुर्तिवाङ बजारमा आरन व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका ८ कक्षा सम्म अध्ययन गरेका मनबहादुर विक अहिले चर्चामा छन् । उनले ६ फिट ८ इन्ची लम्बाई र ३५ केजी तौल भएको खुकुरी बनाएपछी उनको चर्चा हुन थालेको हो ।

अधिकारीचौर गाविस-५ चामिव्दारका ३६ वर्षिय मनबहादुर विक अहिले बुर्तिवाङ बजारमा आरन व्यवसाय गरेर बसेका छन् । उनको आरनमा पाँच जनाले रोजगारी पाएका छन् ।

विक भन्छन, ‘बाबु बाजेकै पाला देखी आरनको काम गर्दै आएका हौँ । मेरो बुबा पदमबहादुर विक पनि अधिकारीचौरको घरमा आरन व्यवसाय गरिरहनु भएको छ । खुकुरी, हँसिया, बाउँसा, कुटो कोदालो फाली आदि फलामका सामान बनाउदै जीबिका चलाउदै आएका छौँ ।’

बुर्तिवाङ आरन व्यवसायी संघका अध्यक्ष समेत रहेका विक ६ वर्ष जति रोजगारीमा विदेश बसेर स्वदेश फर्किएर पुर्खाले गरिआएको आरन व्यवसायलाई अँगालेको बताउछन् । ‘गरे स्वदेशमै छ, कमाई गर्न विदेश गैरहनु पर्दैन’ विक भन्छन्, ‘अहिले आरनमा फुर्सद नै छैन । विहान देखी साँझसम्म काम भैरहन्छ, भ्याई नभ्याई छ ।’

यति लामो र गह्रुँगो खुकुरी किन बनाउनु भयो ? भन्ने प्रश्नमा उनले भने, ‘जापानमा होटल व्यवसाय गर्ने एकजना नेपालीले होटलमा नेपालको पहिचान चिन्ह राख्न एकदमै ठुलो खुकुरी बनाउन अर्डर गरेकाले मैलै बनाएको हुँ ।’

जापान कहिले लैजान्छन त यो खुकुरी, भन्दा विकले भने, ‘५ हजार पेस्की दिएका थिए र मैले बनाएको हुँ , अहिले उनी सम्पर्कमा छैनन् । फोनपनि लाग्दैन ।’

अब यो खुकुरी के गर्ने त भन्दा मनबहादुरले भने, ‘यो खुकुरी लिएर म काठमाडौँ प्रदर्शन गर्न जाँदैछु हेरौँ के हुन्छ ।’
आशा गरौँ, गिनिज बुक अफ वल्र्ड रिकर्डमा नामांकन हुन सकोस् ।

यती लामो र वजनदार भएरपनि चित्ताकर्षक देखिने राम्रो खुकुरी बनाउन सिपालु मनबहादुरको सिपलाई राज्यले कदर गर्नुपर्ने आवश्यकता छ । गाउँघरमा व्यवसाय गर्दै आएका मनबहादुर जस्ता शिपालु शिल्पीलाई सरोकोरवाला निकायले प्रोत्साहित गर्नु जरुरी छ ।

ठेगाना: मनबहादुर विक, बुर्तिवाङ बजार, मोबाइल न ९८४७७२०८०७

समाचार डेस्क ईबागलुङ ।
२०७३ माघ २५ ।

तस्वीर- सुवास पन्त, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *