Menu

नवरत्न सहकारीको सचेतना कार्यक्रम सम्पन्न

बागलुङ, २०७४ माघ २० । संघीय सरचनासंगै सहकारीहरुलाई व्यस्थित गर्न सहकारी ऐन २०७४ जारी भएपछि सहकारी संघ संस्थाहरुले ऐन अनुसारका कार्यक्रम सञ्चालनका लागि ऐन सम्बन्धी सचेतना कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।

नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारी क्षेत्र एक महत्वपूर्ण आधार स्तम्भ रहेको उल्लेख गरेपछि उत्साहित भएका सहकारीकर्मीहरु अर्थतन्त्रको विकासका लागि सहकारी मोडेललाई प्रभावकारी बनाउने ध्याउन्नमा लागेका हुन् ।

२०७४ कात्तिक १ गते देखि लागु भएको सहकारी ऐन र स्थानीय तहले बनाउने सहकारी ऐन लगायतका विषयमा धौलागिरिका सहकारी संघ संस्थाहरुले पनि दैनिक जसो सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यसैक्रममा शनिवार नवरत्न बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुलाई सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहकारी ऐनमा रहेका प्रावधान र सहकारी सस्थाहरुले गर्नु पर्ने कामका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । सो अवसरमा उनले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारीहरुलाई प्रभावकारी बनाउन ऐनमा भएका प्रावधानहरुलाई प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सहकारी क्षेत्रले समाज विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै जिसीले सहकारी सम्बन्धी कानुनको अज्ञानता लगायत वेवास्ताका कारण भएका साना तिना कमजोरीलाई आधार मानेर सहकारी क्षेत्रको योगदानलाई नै ओझेलमा पार्ने काम भएकोले सहकारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहकारीका सिद्धान्त, मूल्य मान्यता र सहकारीमा साधारणसभाको भूमिका लगायतका विषयमा सहजीकरण गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरीक्षक डिलबहादुर केसीले राज्यले बनाएका नीति नियम पालना गर्दै अगाडि बढ्न सके सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने धारणा राखेका थिए ।

नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा शिक्षा उपसमितिको संयोजनमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, शिक्षा उपसमितिका संयोजक कविराज जिसीको सञ्चालन र शिक्षा उपसमितिका सदस्य हस्तबहादुर खड्का पवनको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *